‘गुटबन्दीले चुनाव हारियो’


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

श्रावण ३, २०७४- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र गुटबन्दी एवं संगठन व्यवस्थित नहुँदा स्थानीय तहको निर्वाचनमा पार्टीले पराजय बेहोर्नुपरेको निष्कर्ष निकालेका छन् । सोमबार सुरु पार्टी सचिवालय बैठकमा चुनावी समीक्षा गर्दै अध्यक्ष दाहालले यो ढंगबाट पार्टी अघि बढ्न नसक्ने बताए । बैठकमा कडा रूपमा प्रस्तुत भएका दाहालले ‘गुटबन्दीको अवस्थामै अघि बढ्ने कि निर्मम समीक्षा गरेर नयाँ ढंगले संगठन परिचालन गर्ने’ भन्ने प्रश्न अगुवा नेताहरूमाथि तेस्र्याए ।
‘जनताले खोजेको माओवादी यस्तै हो ?’ दाहालले नेता–कार्यकर्तालाई सोधे, ‘गुट/उपगुट हटाउनुपर्छ, यसरी अघि बढ्न सकिँदैन ।’ जनताले खोजेजस्तो माओवादी नहुँदा निर्वाचनमा पराजय भोग्नुपरेको उनको निष्कर्ष थियो । उनले अहिलेको संगठनात्मक अवस्था सुधार्ने हो भने माओवादी फेरि नयाँ ढंगले अघि बढ्न सक्ने खालको पार्टी बन्ने उल्लेख गर्दै यो अवस्थाप्रति नेताहरू सचेत हुनुपर्ने बताए ।
‘पार्टी एकीकरण भएपछि त्यसअनुसार तल्लो तहसम्मै परिचालन गर्न सकिएन, त्यसैले अब पार्टीले निर्मम समीक्षा गरेर एकताबद्ध ढंगले अघि बढ्नुपर्छ भन्ने अध्यक्षको भनाइ छ,’ माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले कान्तिपुरसँग भनिन्, ‘अभियानकै रूपमा संगठनलाई सुधार गर्नेतर्फ जानुपर्छ भन्ने छ ।’ माओवादीले उठाएका एजेन्डा स्थापित भएको तर त्यहीअनुसार पार्टीको पोजिसन भने आउन नसकेको दाहालको भनाइ थियो । ‘संविधानलाई स्वीकार्य बनाउन भूमिका खेलियो, राष्ट्रिय एकता कमजोर भएका बेला राजनीतिक परिस्थिति राम्रो बनाउन सकियो,’ अध्यक्ष दाहालले बैठकमा भने ।
विकास निर्माणका काम अघि बढाउन सफल भएको, इमानदार रूपमा सत्ता हस्तान्तरण गरेकोलगायत विषयले माओवादीप्रति सकारात्मक धारणा बनिरहेको दाहालको टिप्पणी थियो । विभाजनपछि माओवादी समाप्त हुन्छ भनेर टिप्पणी गर्नेहरूलाई पार्टी एकताबद्ध गरेर जवाफ दिएको दाहालले उल्लेख गरे । संविधानमार्फत स्थापित एजेन्डाहरू अझै पनि संस्थागत भइनसकेकाले त्यसका लागि पनि पार्टी बलियो हुन जरुरी रहेको दाहालले उल्लेख गरे ।
अध्यक्ष दाहालले संविधानमा उल्लिखित विषयहरूमा तलमाथि गर्ने प्रयास गलत हुने उल्लेख गर्दै निर्वाचन क्षेत्रको संख्यामा अडिग रहनुपर्ने बताए । निर्वाचन क्षेत्र २ सय ४० नै कायम गर्ने विषय माओवादीका लागि मान्य नहुने उल्लेख गर्दै दाहालले संविधानअनुसार नै हुने जानकारी दिए । गत साता प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा निर्वाचन क्षेत्रको संख्या बढाउने विषयले प्रवेश पाएको थियो ।
बैठकमा सातै प्रदेशका इन्चार्जले चुनावबारे बैठकलाई ब्रिफिङ गरेका थिए । उनीहरूले पार्टीको चुनावी नीति नै कमजोर भएको निष्कर्ष सुनाए । संगठन सुदृढ नभएको, प्रचारप्रसार पनि कमजोर भएको, उम्मेदवार चयनमा समस्यालगायत कारणले हार बेहोर्नुपरेको उनीहरूको भनाइ थियो । यस्तै, हरेक स्थानमा समस्या देखिएको, केन्द्रीय हस्तक्षेप कमजोर भएको उनीहरूको निष्कर्ष थियो । प्रदेश १ बाट सावित्रीकुमार काफ्ले, प्रदेश २ बाट मातृका यादव, प्रदेश ३ बाट हितमान शाक्य, प्रदेश ४ बाट देव गुरुङ, प्रदेश ५ बाट वर्षमान पुन, प्रदेश ६ बाट शक्तिबहादुर बस्नेत र प्रदेश ७ बाट लेखराज भट्टले ब्रिफिङ गरेका थिए । माओवादी बैठकमा जिल्ला इन्चार्जहरूले मंगलबारदेखि ब्रिफिङ गर्ने र त्यसपछि छलफल हुने प्रवक्ता भुसालले जानकारी दिइन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com