संघर्षपूर्ण जित, चिन्ता ब्याटिङको


प्रकाशित मिति : श्रावण ३, २०७४ मंगलबार

श्रावण ३, २०७४- नेपालले सोमबार आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा विजयी सुरुआत गरेको छ । तर त्यसका लागि नेपालले आयोजक सिंगापुरलाई हराउन ठूलै संघर्ष गर्नुपर्‍यो । ७४ रनको लक्ष्य भेट्टाउन नेपालले १८ ओभरभित्र ६ विकेट गुमाएको थियो ।

सिंगापुर क्रिकेट क्लब मैदानमा नेपालले टस जितेपछि सिंगापुरलाई ब्याटिङ गर्न निम्त्याएको थियो । कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएपछि सिंगापुर २९ ओभरमा ७३ रनमै अलआउट भयो । सानो लक्ष्य पनि नेपालका लागि सजिलो रहेन ।

प्रमुख तीन ब्याट्सम्यान सन्दीप सुनार १, आसिफ शेख ४ र दीपेन्द्रसिंह ऐरी २ रनमै आउट भए । प्रनित थापामगरले २३ र अनिल शाहले १९ रन बनाउँदै स्कोर अगाडि बढाउने प्रयास गरे । यी दुईसँगै प्रकाश केसी पनि ६ रनमा आउट भए । रोहितकुमार पौडेल ११ र पवन सर्राफ ४ रनमा नटआउट रही नेपाललाई विजयी बनाए ।

निश्चय पनि नेपालका प्रशिक्षक विनोद दास आफ्नो टोलीको ब्याटिङमा सन्तुष्ट हुने ठाउँ नै थिएन । ‘बलिङ र फिल्डिङ हाम्रो उच्च स्तरको थियो । तर हामीले जति गर्न सक्थ्यौं त्योअनुसार ब्याटिङ गर्न सकेनौं,’ दासले सिंगापुरबाट भने, ‘ब्याटिङका लागि पिच कठिन थियो, तर हामीले यो भन्दा अझ राम्रो ब्याटिङ गर्न सक्थ्यौं ।’

प्रनितले २६ बल र अनिलले २२ बल खेल्दै ३–३ चौका प्रहार गरे । सिंगापुरबाट अर्युमन सुनील र गोपीनाथ अचारले २–२ र रोहन रंगराजन र अंश भारगाभाले १–१ विकेट लिए ।

यसअघि किशोर महतोले पाँचौं ओभरमा नेपाललाई पहिलो सफलता दिलाए । उनले रोहनलाई शून्यमा आउट गरे । त्यसपछि नेपालले निरन्तर विकेट लिइरह्यो । १८ ओभरमा २६ रन बनाउँदा सिंगापुरको ७ विकेट झरिसकेको थियो । ब्रिगु आयरले ४३ रन बनाउँदै नेपाली बलिङको केही प्रतिरोध गरे । ३९ बलमा ६ चौका र १ छक्का प्रहार गरेका उनलाई अन्तिम खेलाडीको रुपमा किशोरले नै आउट गरेका थिए ।

किशोरले रोहनलाई आउट गरेपछि अर्का ओपनर सिन अग्रवाललाई पवेलियन फर्काएका सन्दीपले लगातार ओभरमा विकेट लिँदा सिंगापुर सस्तैमा समेटियो । लेग स्पिनर सन्दीपले ८ ओभरमा २ मेडन राख्दै २१ रन खर्चेर सानदार बलिङ गरे । देब्रेहाते स्पिनर शाहब आलमले ६ ओभरमा १ मेडन राख्दै १२ रन खर्चेर ३ विकेट लिए । २ विकेट लिनेक्रममा किशोरले ६ ओभरमा ३ मेडन राख्दै २५ रन खर्चे । नेपालले मंगलबार मलेसियासँग खेल्नेछ । मलेसिया सोमबार नै भएको खेलमा अफगानिस्तानसँग ८ विकेटले पराजित भयो । टस हारेको मलेसिया २१.५ ओभरमै ५३ रनमा अलआउट भयो । अफगानिस्तानले ५.४ ओभरमै लक्ष्य पूरा गरको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com