पृथ्वीको उत्पत्ति आजभन्दा ४.६ अरब वर्ष पहिले


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

श्रावण १, २०७४- पृथ्वी कहिले र कसरी उत्पत्ति भयो होला भन्ने कौतुहल हामी सबैमा कुनै न कुनै समयमा उठ्छ । पृथ्वीको उत्पत्ति आजभन्दा लगभग ४.६ अरब वर्ष पहिले भएको हो भन्ने तथ्य वैज्ञानिकहरूले चट्टानको अध्ययनबाट पुष्टि गरेका छन् । तर कसरी उत्पत्ति भयो भन्नेमा वैज्ञानिकहरू अझै एकमत छैनन् । यसबारे उनीहरूका आआफ्नै परिकल्पना छन् ।
सौर्य परिवार उत्पत्तिका धेरै नमुनामध्ये पछिल्लो र धेरैले विश्वास गरेको नमुना हो– ‘केन्द्र विस्तार नमुना ।’ यो नमुनाअनुसार ४.६ अरब वर्ष पहिले सौर्य परिवार धुलो र ग्यासको एउटा बादल थियो । विस्तारै उक्त बादलको गुरुत्व बलले गर्दा थप धुलो थुप्रँदै गयो र आफंैमा त्यो पिण्ड घुम्न थाल्यो । अन्तत: त्यही पिण्ड सूर्यमा परिवर्तन भयो ।

सूर्यको जन्म भइसकेपछि गह्रांै कणहरूलाई छोड्दै हलुका ग्यासहरू जस्तै: हाइड्रोजन, हिलियम, सौर्य वायुले गर्दा टाढाटाढा पुगे । छोडिएका कणहरू एकत्रित हुँदै जाँदा ग्रहहरू बने । यसरी नै ग्रहहरूमध्येको एउटा ग्रह पृथ्वी बन्यो । टाढा पुगेका हलुका तत्त्वहरूबाट क्षुद्र ग्रह, पुच्छ्रेतारा र उपग्रहहरू बने । पृथ्वी बन्दै गर्दा पृथ्वीको केन्द्र भागमा गह्रांै पदार्थहरू जम्मा भए भने हलुका पदार्थहरूले पृथ्वीको बाहिरी तह निर्माण भयो । अत्यधिक चापका कारण पृथ्वीको सतहमुनि गह्रांै तत्त्वहरू अर्धतरल अवस्थामा बग्न थाले । यसले गर्दा उक्त अर्धतरल पदार्थको सतहमा तैरिरहेका ठूला चट्टानहरूबीच टकराव पैदा भयो । फलस्वरूप पहाडहरू बने, कतिपय अवस्थामा ज्वालामुखी पनि विस्फोट भए । ज्वालामुखी विस्फोट हँुुदा धेरै ग्यास बाहिर निस्कयो । पृथ्वीको गुरुत्वले केही ग्यास कब्जा गर्‍यो । त्यसरी कब्जा भएको ग्यासबाटै वायुमण्डल बन्यो ।

सूर्य र त्यसपछि पृथ्वी भर्खरै जन्मेका बेला थुप्रै पुच्छ्रेताराहरू पृथ्वीको वरिपरि घुम्दै थिए । पुच्छ्रेताराहरू बरफ र ग्यासबाट बनेकाले जब तीमध्येका कुनै पुच्छ्रेताराहरू कुनै बखत पृथ्वीसँग ठोकिन पुगे त्यतिबेला पृथ्वीमा पानी जम्मा भयो ।

सन् २००५ मा एउटा सूर्यजस्तै तारा एचडी १४९०२६ लाई एउटा विशाल ग्रहले घुमिरहेको तथ्य पत्ता लाग्यो । यो तथ्यले ‘केन्द्र विस्तार नमुनन’ लाई अझै सशक्त बनायो । ‘केन्द्र विस्तार नमुना’ ले केही विशाल ग्यास ग्रहको उत्पत्तिबारे भने राम्रोसँग बताउन सकेन । त्यसैले वैज्ञानिकहरू अहिले पनि हाम्रो सौर्य परिवारका ग्रहहरूका साथै बाहिरका ग्रहहरू अध्ययन गरिरहेका छन् ।

केपी चौलागाईं

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com