एघारवर्षीय बालक अपहृत


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

सिन्धुली, १ साउन । कमलामाई नगरपालिका– १ डाँडीगुराँसेबाट आज एघारवर्षीय बालकको अपहरण भएको छ ।

बालकलाई बिहान करिब ८ः३० बजे घरै नजिकैबाट कसैले मोटरसाइकलमा राखी अपहरण गरेको बताइएको छ । कमलामाई– १ निवासी नीरबहादुर विश्वकर्माका छोरा निश्चल अपहरणमा परेको वडाध्यक्ष महेश खतिवडाले जानकारी दिनुभयो ।

नीलो लुगा लगाएका निश्चललाई कमलामाई–४ ढुङ्ग्रेबाससम्म ल्याएको थाहा हुनआएको वडाध्यक्ष खतिवडाले बताउनुभयो । अपहृत बालकको खोजीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई जानकारी गराइएको उहाँले जानकारी दिनुभयो । बालकलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिनुभयो ।

बालकलाई लगिएको स्थलतर्फ प्रहरी परिचालन गरिएको छ । आवश्यक अनुसन्धानका लागि बालककी आमालाई जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com