नर्स


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

– रमेश दियाली

‘ल दबाई खाने समय भयो ? उठ्नुहोस् ।’
मेरो आवाज सुनिन् कि क्या हो ? आँखा खोलिनन् मेमले । सायद मेरो भाषा बुझिन् होला । ‘मेम, इट्स टाइम फर मेडिसन ?’ अहँ, पटक्कै उठिनन् । ओढेको च्यादर बिस्तारै हटाउदै झकझकाएँ । हात छामें । चिसो भइसकेछ । नाडीको पल्स चेक गरें । नाडीको गति नै पत्तो पाइनँ । म आतिएँ । कुदेर डाक्टरलाई बोलाएँ ।

डाक्टरले हतारिँदै छातीमा थिचे । ‘अक्सिजन छिटो लेऊ । अक्सिजन लैऊ भनेको ।’ अक्सिजन लगाउँदै गर्दा आँखा पिलिक्क हेरिन् । मैले लामो सास फेरे । ‘थ्याङ्क्स गड ।’ भगवानलाई धन्यवाद दिएँ । कोठाको तापक्रम मिलाएँ । मुखमा दबाई राखिदिएँ । एक चम्चा पानी पिलाउँदै गर्दा डाक्टरले चौबीसै घण्टा सँगै बस्नु भने । मेरो ड्युटी सकिन लागेको थियो । ‘केही पर्‍यो भने रातिको डाक्टरलाई कल गर्नु’ भन्दै बाहिरिएँ । नर्सको जीवन पनि, थाकेझैँ भयो । थाकेछु पनि । स्लाइन पानी सकिएछ । अर्को फेरें । तपतप सिलिन पानीसँगै आँखा प्रस्टै खोलिन् । खुसी लाग्यो ।

म उनको भाषा जान्दिनँ र मेरो भाषा उनले । अंग्रेजी अलि–अलि बोल्थिन् तर म बुझ्थें ।
‘केही खानुहुन्छ ?’ मैले सोधें ।
‘मन छैन । बरु च्यादर ओढाइदेऊ । जाडो भयो ।’

च्यादर ओढाइदिएँ । टाउको बाङ्गिएछ । सिरानीमा टाउको राखिदिएँ । म छेउमै बसिरहें । मलाई निन्द्रा लाग्लाझैँ भयो । नलागोस् पनि किन ? हिजोदेखि सुतेको छैन । एकछिनपछि ‘खाना खाने’ भनिन् । राइस, चिकेन र भेजिटेबल अर्डर गरिदिएँ । ‘ल आराम गर्दै गर्नुहोस् । अर्डर गरिदिएको छु ।’
‘तिम्रो नाम ?’ मलाई नाम सोधिन् ।

‘श्रद्धा हो मेरो नाम ।’
‘अनि कहाँ बस्छयौ ?’
‘पोखरा, नेपाल ।’
‘नेपाल ? अँ, म एकचोटि घुम्न गएको थिएँ । राम्रो देश छ । तिम्रो देशका मान्छेहरू सार्‍है सहयोगी छन् ।’
‘तपाईंलाई हाम्रो भाषा बोल्न आउँछ ?’
‘अहँ, आउँदैन ।’
‘कति भयो यहाँ आएको ?’
‘सात महिना ।’

‘अनि तपाईंको परिवारमा कोही छैन ?’ मैले सोधें ।
‘थिए, अहिले कोही छैनन् । म जन्मेको लेबनानमा हो । ६ वर्षको हुँदा उमी र अबुनसँग युएईमा आएको । अबुनले यहीको अरेबिक इमोरसन म्यागेर्ट स्कुलमा लगाइदिए । मैले त्यहीं पढें । केटीहरू मात्र हुन्थे । पछि कलेजसम्म यही पढियो ।’
‘तिमी चैं कसरी युएई आयौ ?’ मलाई सोधिन् ।

‘घरको आर्थिक सुधारका लागि आएको’ भन्दै गर्दा चिकेन भेजिटेबल लिएर फिलिपिनो केटो आयो । उनले टाउको उठाउन खोजिन् तर सकिनन् । मैले बिस्तारै सिरानी मिलाएर उठाएँ । भोक लागेको रहेछ । सबै खाइन् । ढोकामा आवाज ढक्ढक् आयो । मैले ढोका खोलें । डाक्टर रहेछन् । डाक्टर देख्नेबित्तिकै मेम कराउन थालिन् ।

मेम अर्थात् हाना उमर । मैले बुझिनँ । भाषा अरेबिक थियो । डाक्टर फर्केर गए । बुझ्न मन लाग्यो । मेम, किन कराउनुभएको ? त्यो डाक्टर मन पर्दो रहेनछ । जवाफ यस्तै दिईन् । मैले बुझ्न नसकेको यहाँको मान्छेका मनहरू…।
‘सुत्नुहुन्छ ?’ मैले सोधें ।

मलाई एकटकले हेरिरहिन् । मलाई डर पनि लाग्यो ।
‘मेम, आर यू ओके ?’ मैले सोधिरहँदा मेमका आँखा भुइँमा गए । मेरो बच्चाहरू यस्ता सुन्दर छन्, जसको मुस्कान हरपल मेरो ह्दयमा गुन्जिँदा सधैँ मलाई जिन्दगीमा खुसीहरू मिल्छ । पीडा भागेर जान्छ । आँखाभरि आँसु भरिए । आई मिस माई बेबी । मुखबाट र्‍याल बग्यो । पेपरले पुछिदिएँ । बल्ल थाहा भयो, बच्चाहरू पनि रहेछन् । मलाई निद्रा थाल्यो । अहिले हरायो । मेमलाई बुझ्न मन लाग्यो । कुरा मैले नै सुरु गरें ।
‘कसरी यस्तो हुनुभयो ?’

उनले बिस्तारै भन्दै गइन् । युएईमा कलेज सकेपछि एउटा सरकारी संस्थामा काम गर्दा रसिदसँग भेट भयो । रसिद अर्थात मेरो पति । रसिद पेसाले डाक्टर हुन् । उनीसँग पहिलो भेट मिराकल्स गार्डेनमा भएको थियो र दोस्रो बुर्ज खलिफा टावर हेर्न जाँदा । हामीहरूबीच प्रेम बस्यो । साह्रै मीठो प्रेम । रसिद सधैँ मलाई भन्थे, ‘म तिम्रो हुँ अनि यो मेरो मुटुमा तिमीबाहेक अहँ कोही बस्न सक्दैन ।’ पछि हाम्रो विवाह भयो । हामी एक–अर्कामा खुसी थियांैं । दुई वर्षपछि बच्चा भयो । फेरि अर्को वर्ष, बच्चा जन्मियो ।

तर मैले देख्न पाइनँ । मलाई ब्रेस्ट क्यान्सर भैसकेको रहेछ । सेकेन्ड स्टेजमा थियो । अस्पताल भर्ना गरियो । हामी सात जना दिदी–बहिनी छौं । म कान्छी । मेरो बच्चालाई दिदीहरूले लेबनानमा लगे । मेरो लामो कपाल काटियो । खुब रोएको थिएँ त्यो बेला । अहिले त म हिंड्न पनि सक्दिनँ । पतिलाई खुब सम्झन्छु । भेट्न पनि आउन छाडे । सुरु–सुरुमा म हेर्न आइरहन्थें । सायद अब मर्छे भनेर नआएको होला । मेरो मन कुनै खेलकुदको मैदान होइन जस्तो लाग्छ । मेरो मन त एउटा पवित्र मस्जिद हो, जसलाई मायाले सजावट र विश्वास गरेको छु । आशा छ, मेरो अन्तिम स्वास उनको काखमा बित्नेछ ।

मैले मेरो बच्चालाई आठ महिनापछि बल्ल देखें । मलाई देख्नेबित्तिक्कै ऊ डराएर रोएको थियो । पछि बल्ल मान्यो, सानोचाहिँ बच्चा । आमा हुनुमा गर्व लाग्छ तर आमाले दिने माया–ममता दिन पाइनँ । मेरो ठूलो छोराले एयरपोर्टमा आमालाई अर्थात् मलाई नचिन्दा मन भक्कानिएको थियो । कपाल, आँखीभौं शरीरको सबै रौँ झरेका थिए । रगत सकिएर पहेंलो हुँदै थिए ।

छोरो तर्सिएर मलाई हेर्दै रुँदै गर्दा म फनक्क एयरपोर्टबाटै फर्कें । मेरा छोराहरूलाई काखमा राखेर खेल्ने रहर सपनाझैं भयो । रहर एउटा यादमा परिणत भयो । मान्छेले सबैभन्दा धेरै बोक्ने भनेकै यादहरू रहेछ, जुन कहिल्यै भारी र बढी हुँदैन अनि मुस्कुराउने आधार बन्दो रहेछ । दु:ख त त्यति बेला लाग्दो रहेछ, जब आफ्नै कोखमा नौ महिना राखेर जन्म दिएको सन्तान बिस्तारै पराई बन्दै गएर अरू कसैको काखमा खेलेको देख्दा ।

मैले मेमको हात समातेको थिएँ । हातहरू बिस्तारै काम्दै थिए । उनी रुँदै थिइन् । ओठ कामेका थिए । आँखाले केही खोजिरहेका थिए । पीडाले छट्पटिरहेकी थिइन् । म निस्सासिएझैं भएँ ।

मेमलाई सान्त्वना दिने शब्द मसँग थिएन । मर्नु त सबैलाई छ । यो शाश्वत सत्य पनि हो तर लुकामारी खेल्ने उमेरमा, हाँस्दै बंैस पोख्ने रहरमा मर्नु, जीवन फूल होइन जस्तो लाग्छ । मेमको अनुहारमा हेरें । अनुहार उज्यालो थियो । बिस्तारै मेरो हात मेमको हातबाट छुटाएँ । घडी हेरें, बिहानको ३ बजिसकेछ । सोचें, एकछिन सुत्नुपर्‍यो । मेमलाई च्यादर मिलाइदिएर भित्तामा अडेस लागेर सुत्ने प्रयास गरें । मेम पनि निदाइछन् । भित्तामा अडेस मात्रा के लागेको थिएँ । निदाएछु ।

बिहान ढोकाको ढकढक आवाजसँगै म झल्याँस्स ब्युँझे । मलाई पालो दिने नर्स आइपुगिछन् । आङ तनक्क तन्काएँ । जुरुक्क उठें । मेमलाई बोलाएँ । मेम….. मेम …… झकझकाएँ……. मेम त …..मरिसकिछन् । टाउको सिरानीबाट लुथु्रक्क बेडमा पल्टियो । पालो दिने नर्स कुदेर डाक्टरलाई

बोलाइन् । डाक्टरले मरिसकेको घोषणा गरे । लामो सास तानें ।
जीवन यस्तै रहेछ । हात टाउकोमा पुग्यो । म पनि बाहिरिएँ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com