अमेरिका कतारकै पक्षमा : ट्रम्प


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

श्रावण १, २०७४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कतारसँग सदैव सुमधुर सम्बन्ध कायम राख्ने बताएका छन् । एक अमेरिकी टेलिभिजनलाई दिएको अन्तरवार्तामा ट्रम्पले कतारबाट अमेरिकी हवाई सेनाको क्याम्प नहटाउने जनाए । उनले अमेरिकी सैनिक क्याम्प स्थापनाका लागि मध्यपूर्वका १० देशको चाहना रहेको बताए । कतारमा १० हजार अमेरिकी हवाई सेना छन् । आतंकवादीलाई सहयोग गर्न नहुने बताउँदै टम्पले कतारले त्यसो नगरेको धारणा राखे । ट्रम्पले यसअघि ट्वीटमार्फत कतारमा लगाइएको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका थिए । ट्रम्पले साउदी अरबका राजा सलमानसँग फोनमार्फत कुराकानी गरेका छन् । फोनमा डेढ महिना लामो कतारमाथिको प्रतिबन्ध अन्त्यबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

कतार संकट अन्त्यका लागि पश्चिमेली देशहरूको पहल जारी छ । यसको पछिल्लो प्रयास स्वरूप फ्रान्सका विदेशमन्त्री जुवान इभ्सले ड्रियान दोहा पुगेका छन् । उनले आफ्ना कतारी समकक्षी शेख महम्मद विन अब्दुलरामन अल थानीसँग भेट गरेका छन् । भेटमा विदेशमन्त्री ड्रियानले कतार संकट समाधानका लागि कुवेतको पहललाई पूर्ण समर्थन जनाएका छन् । कतारका विदेशमन्त्रीले फ्रान्सको समर्थनको स्वागत गर्दै आफूहरूले आतंकवादलाई समर्थन नगरेको प्रष्ट पारे ।

कतार र टर्कीबीच सहकार्य
कतारको विदेश मन्त्रालयले कतार समस्या एकै दिनमा समाधान नहुने बताएको छ । अमेरिका कतार संकट समाधान गर्न असफल नभइसकेको भन्दै विदेशमन्त्री थानीले आफू चार देशसँग सम्बन्ध सुधार्न अमेरिका र कुवेतसँग सहकार्य गर्ने बताए । टर्कीका विदेशमन्त्रीले तेस्रो देशलाई कतार वा टर्कीको विषयमा बोल्ने अधिकार नभएको बताए । यसअघि साउदी अरबले कतारस्थित टर्कीको सैन्य क्याम्प आफ्नो देशमा सार्न पहल गरेको थियो । संयुक्त अरब इमिरेटस्का विदेश राज्यमन्त्रीले कतार संकट चाँडै अन्त्य हुने सम्भावना नरहेको बताए । ट्वीटमार्फत उनले आफूहरू राजनीतिक समाधानबाट निकै टाढा रहेको बताएका छन् ।

टर्कीको राजधानी इस्तानबुल पुगेका थानीले अमेरिका–कुवेत मध्यस्थताको फल चाँडै प्राप्त हुने आशा व्यक्त गरे । टर्कीमा उनले राष्ट्रपति रेसेप इर्दोगानसँग कतार संकट अन्त्यका लागि छलफल गरेका थिए । भेटमा टर्कीले आफ्नो सैनिक क्याम्प कतारमै रहने जनाएको थियो । उनका टर्किस समकक्षीले कतारमाथिको नाकाबन्दी अन्यायपूर्ण भएकाले तत्काल अन्त्य गर्नुपर्ने बताए । उनले साउदी अरब, बहराइन, इजिप्ट र संयुक्त अरब इमिरेटस्सँग वार्ता हुने विश्वास व्यक्त गरे । थानीले आपसी सम्मान र अन्तर्राष्ट्रिय कानुनको आधारमा वार्ता गर्न आफू तयार रहेको बताए । आतंकवादलाई समर्थन गरेको भन्दै चार देशले कतारमाथि जुन ५ देखि नाकाबन्दी गरेका हुन् । कतारले भने यसलाई अस्वीकार गर्दै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com