साउदीमा १७ नेपाली कामदार अलपत्र


प्रकाशित मिति : श्रावण १, २०७४ आईतबार

– डिल्लीराम खतिवडा

श्रावण १, २०७४- साउदीको यनवुमा तीन महिनायता १७ नेपाली युवक अलपत्र परेका छन् । काम गर्ने कम्पनीले सेवा सुविधासहितको तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

इमास्को नेपाल प्रालि सामाखुसी र नाइल ओभरसीज प्रालि सिनामंगलमार्फत कामका लागि त्यहाँ पुगेको युवक समस्यामा परेका छन् । २०७२ साल चौतमा काम लागि इमास्को र नाइलमार्फत साउदी अरबको सादत अल अमिद कम्पनीका लागि ती युवक त्यहाँ पुगेका हुन् । क्लिनिङ वर्करका लागि भनेर त्यहाँ पुगेका उदयपुर, सिराहा, सप्तरी, मोरङ, सुनसरी, लमजुङ, कास्की र धादिङका १७ युवक अलपत्र परेको उदयपुरको चौडण्डीगढी नगरपालिका–१ चौडण्डीगढीका बाबुराम रेग्मीले बताए । ‘काम गर्न गएको कम्पनीले नेपालमा भने जस्तो सेवा सुविधा दिएन’रेग्मीले भने, ‘समयमा तलब पनि नदिने र सम्झौताअनुसारको सुविधा पनि दिइएन ।’सेवा सुविधाको कुरा गर्दा उल्टै कम्पनीले निकाली दिएपछि समस्यामा परेको उनले बताए ।

नेपालबाट जाँदा साउदी रियाल १ हजार दिइने भनिएको थियो । इमास्को नेपाल प्रालिसँग भएको सम्झौतामै साउदी रियाल हजार दिने भनिएको अर्का पीडित प्रेमकुमार वाइबाले बताए । ‘खाने बस्ने व्यवस्थासहित हजार रुपैयाँ साउदी रियाल दिने भनिएको थियो’वाइबाले भने, ‘तर साउदी पुगेपछि ८ सय रुपैयाँ दिने भनिए पनि समयमै भुक्तानी दिएन ।’सेवा सुविधालगायतका विषयमा कुरा गर्दा कम्पनीले निकाली दिएपछि विचल्लीमा परेको उनले बताए । विचल्लीमा परेका १७ युवकको झण्डै ९ महिनायता तलब दिइएको छैन ।

१७ युवक एउटा सानो कोठमा बसेर गुजारा गरिरहेको उनले बताए । ‘साँघुरो कोठमा, खानापानीको पनि समस्या छ’पीडित युवकहरुले भने, ‘किनेर खाने पैसा समेत नहुदाँ सहयोगी हातले दिएको खानाले गुजारा गरिरहेका छौं ।’सुरु सुरुमा किनेर खाए पनि पछिल्लो समय पैसा सकिएकोले दाताले दिएको एक टुक्रा रोटीले दिन काट्नु पर्ने बाध्यता भएको पीडित बाबुरामले बताए ।

कामका लागि साउदी पठाउने इमास्को र नाइललाई पटक पटक अनुरोध गर्दा समेत बेवास्ता गरेको ती युवकले बताए । ‘घरपरिवारले सम्पर्क गर्दा समेत ती कम्पनीले तलब सुविधा लिइरहेको र राम्रै रहेको बताउँदै पठाउँदा रहेछन्’ पीडित दामोदर पन्थीले भने,‘यहाँ भोकभोकै बस्नु परेको छ, पिउने पानी नहुँदा कुलरको पानी पिउनु परेको छ, बस्दै गरेको कोठा सानु भएकाले सुत्ने र बस्नै गह्रो भएको छ ।’ पटक पटक आग्रह गर्दा समेत कसैले नसुनेको उनले बताए ।

छोराको उद्धारका लागि पटक पटक आग्रह गर्दा पनि कतैबाट सुनवाई नभएको पीडित बाबुरामका बुवा सिद्धराज रेग्मीले बताए । ‘छोरोले चाँडै यहाँबाट ननिकाले शवमात्रै घर आउने बताउँछ’ सिद्धराजले भने, ‘तर आर्थिक अवस्था पनि कमजोर, छोरा पठाएको ऋण समेत तिर्न नसक्दा र छोराले भनेको सुन्दा मृत्यु रोज्नुको विकल्प छैन ।’ पटक पटक सरकारी निकायमा आग्रह गर्दा समेत नभएको उनले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com