कुवेत जेलमा रहेका श्रीमान फर्काइ दिन मालतीको गुहार


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

– अर्जुन राजवंशी

असार ३१, २०७४- कुवेतमा आजीवन कारावासको सजाय पाएका श्रीमानको रिहाईका लागि पहल गरिदिन झापा शिवसताक्षी ७ चन्द्रडाँगीकी मालती ढकालले सरकारसँग गुहार मागेकी छिन् ।

६ महिने छोरा र ६ बर्षकी छोरी तथा सासुससुरालाई स्याँहार्ने जिम्मेवारीसहित घर व्यवहार थामेर श्रीमानलाई विदेश पठाएकी मालती श्रीमानको आजीवन कारावासको सजायबाट मुर्छित छिन् । उनको बिलौना छ,‘मेरा श्रीमान निर्दोष हुनुहुन्छ । उहाँलाई कसरी हुन्छ सरकारले घर फर्काइ दिनुपर्‍यो ।’

मालतीका श्रीमान राजु ढकाल एक बर्षदेखि कुवेतको सुलेवियास्थित जेलमा आजीवन कारावासको सजाय काटिरहेका छन् । राजुलाई त्यहाँको अदालतले लागूऔषध प्रयोगकर्ता तथा कारोबारी अन्तर्गतको मुद्दामा आजीवन कारावासको सजाय सुनाएको हो । राजु केएफसीमा डेलिभरी ब्वाईको काम गर्थे । चार बर्ष केएफसीमै काम गरेका राजु ०७२ चैतमा छुट्टीमा आएर ०७३ जेठ २ गते पुन: कुवेत गएका थिए । बुबा लक्ष्मण ढकालका अनुसार छुट्टी मनाएर गएको दुई महिनामै उनलाई प्रहरीले पक्राउ गरेको थियो । एक जना पाकिस्तानी नागरिकले उनलाई झुक्याएर औषधि भनि लागूऔषध बोक्न दिएका थिए । पाकिस्तानी नागरिकले औषधी बोकिदिएबापत कम्पनीले दिएकोभन्दा दोब्बर रकम दिने आश्वासन दिएका थिए । पैंसाको लोभमा परेका राजुले ३/४ दिन औषधी बोक्ने काम गरेकापछि उक्त सामान औषधी नभएर लागूऔषध भएको थाहा पाएका थिए ।

‘छोराछोरीको भविष्यका लागि र साहूको ऋण चुक्ता गर्न छोरालाई विदेश पठाएका थियौं’ ६७ बर्षीय बुबा लक्ष्मणले भने,‘अब त, छोरासँग भेट पनि नहुने भयो । आजीवन कारावासको सजाय काटेर आउँदा म बाचिरहन्छु जस्तो लाग्दैन ।’

उनले उक्त कुरा तत्कालै आफ्ना साथीहरुलाई सुनाएका थिए । साथीहरु लागूऔषधसम्बन्धी कुवेतमा कडा कानुन भएको बताएपछि राजुले उक्त औषधि नबोक्ने निर्णय गरेका थिए । सोही अनुसार उनले पाकिस्तानी नागरिकलाई आफूलाई पैंसा पनि नचाहिने र औषधी पनि नबोक्ने निर्णय सुनाएका थिए । लागूऔषध बोक्न इन्कार गरेलगत्तै पाकिस्तानी नागरिकको सूराकका आधारमा राजुलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध लागूऔषध प्रयोगकर्ता तथा कारोबारी अन्तर्गतको मुद्दा चलाएको थियो । उक्त मुद्दामा त्यहाँको अदालतले गत कार्तिक ११ गते आजीवन कारावासको सजाय सुनाएको थियो ।

‘छोराछोरीको भविष्यका लागि र साहूको ऋण चुक्ता गर्न छोरालाई विदेश पठाएका थियौं’ ६७ बर्षीय बुबा लक्ष्मणले भने,‘अब त, छोरासँग भेट पनि नहुने भयो । आजीवन कारावासको सजाय काटेर आउँदा म बाचिरहन्छु जस्तो लाग्दैन ।’ मुटुको रोगबाट पीडित लक्ष्मणले सरकारले कुवेतस्थित राजदूतावास मार्फत कूटनीतिक पहल गरे छोरा चाडै घर फर्किएर आउने आशा जताए । आजीवन कारावासको सजाय पाएको थाहापाएलगत्तैदेखि काठमाडौंस्थित कन्सुलर कार्यालय र वैदेशिक रोजगार प्रवद्र्धन केन्द्रसँग गुहार मागिरहेको श्रीमति मालतीले बताइन । ‘उहाँलाई फर्काउन हाम्रो काबु बाहिरको कुरा हो । सरकारले यो केसलाई गम्भीर रुपमा लिएन भने मेरो परिवार र दुई छोराछोरीको बिचल्ली हुन्छ’ मालतीले भनिन,‘मेरो अनुरोध छ हजुर सबैलाई । मलाई केही चाहिदैन । मेरो श्रीमानलाई चाडोभन्दा चाडो घर फर्कादिनुस् ।’

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com