अर्बपति ह्याकर


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

– दिनेश यादव  

विद्यालयमा दुर्व्यवहार भएकै कारणले धनाढ्य बनेका कमै होलान् । तर बेलायती एक ठिटो दुर्व्यवहारको प्रत्यक्ष कारणबाटै अर्बपति बनेका छन् । सुन्दा अपत्यारिलो तर सत्य घटना हो यो । त्यो पनि ‘कम्प्युटर ह्याकर’ बनेर धनाढ्य भएका छन् । यसो त ‘ह्याकर’ शब्दै सुन्दा नै हाम्रो मस्तिष्कमा अपराधी गतिविधि भनेर आउँछ । तर, विद्यालयको त्यो वातावरण, जसले विद्यार्थीलाई ह्याकर बन्न बाध्य तुल्यायो । त्यही काम पछि आम्दानीको स्रोत पनि बनेको छ ।

विद्यालयमा हुने अभद्र व्यवहार धेरैपटक विद्यार्थीले सहनुपर्ने हुन्छ । तर, बेलायतका २८ वर्षीय ज्याक क्याटरले त्यो सहन सकेनन् । सन् २००५ को कुरो हो, जब उनी १६ वर्षका मात्र थिए । बेलायतको नोरफोल्क स्कुलका विद्यार्थी छँदा विद्यालय प्रशासनले विद्यार्थीहरूलाई वेबसाइटमा मनोरञ्जनका लागि गीत र खेलखुदका भिडियो हेर्न रोक लगाएको थियो । आफ्ना विद्यार्थीहरूलाई वेबसाइटबाट टाढा राख्नका लागि स्कुलको कम्प्युटर नेटवर्कलाई सुरक्षामा राखिएको थियो । यो कुरा क्याटरलाई फिटिक्कै मन परेन ।

कम्प्युटर प्रोग्रामिङमा धेरै रुचि राख्ने क्याटरले आफ्नो ज्ञानलाई कम्प्युटर ‘ह्याक’ गर्नका लागि प्रयोग गर्ने निष्कर्ष निकाले । उनले विद्यालयको विद्यार्थी छँदाको अतित सम्झँदै भनेका छन्, ‘मैले स्कुलको कम्प्युटर सुरक्षा प्रणालीलाई तोड्न सके मलाई बडो आनन्द लाग्ने थियो । १६ वर्ष बल्ल टेकेको मैले त्यसै गर्नतिर लागें ।’ उनले विद्यालयको कम्प्युटर सुरक्षालाई तहसनहस बनाउन एउटा वेबसाइटको सहयोग लिए । उक्त वेबसाइटले कम्प्युटरमा व्यक्तिको परिचयलाई लुकाउँथ्यो । विद्यालय प्रशासनले थाहा पाए रामधुलाई पाइने डरले उनले त्यसो गरेका रै’छन् । यसका लागि उनले एउटा विदेशी वेबसाइटलाई आफ्नो सुगम उपाय ठाने । यसले युजरलाई व्यक्तिगत र गोप्य नामबाट इन्टरनेट चलाउन लागि सहयोग गथ्र्यो । यो प्रणालीलाई भच्र्युअल प्राइभेट नेटवर्क (भीपीएन) पनि भनिन्छ । उनी भन्छन्, ‘यो तरिका सफल रह्यो । मैले स्कुलको कम्प्युटरलाई आफ्नो गृहकार्य गर्नुको साटो मलाई मन पर्ने गीत तथा भिडियोहरू हेर्नमा बढी प्रयोग गरिरहेको थिएँ । तर, भीपीएनको गुणस्तरीयताले मलाई वाक्क र दिक्क बनाएको थियो ।’बीच–बीचमा भिडियोहरू रोकिने गरेपछि त्यसबाट मुक्ति पाउन उनले आफ्नै बेवसाइट बनाउने निर्णय गरे । उनले एक दिन दिउँसोको पूरै समय उपयोग गरी वेबसाइट बनाइछाडे ।

आफ्नो वेबसाइटको नाम ‘हाइड माई अस्स (एचएमए) राखे, जुन आफैंमा एउटा व्यंग्य शब्द हो । उनी १० वर्षसम्म एक्लै यसको मालिक बनिरहे । त्यसपछि उनले चार करोड पाउन्डमा त्यसलाई बिक्री गरे । क्याटरको वेबसाइट ‘एचएमए’ लाई दुई वर्षअघि विश्वकै नाम चलेको सफ्टवेयर समूह एभीजीले खरिद गर्‍यो । वेबसाइट खरिद गरेसँगै उक्त कम्पनीले २० लाख जति उपभोक्ता प्राप्त गर्न सफल भयो । जसको वार्षिक कारोबार एक करोड पाउन्ड र आम्दानी २० लाख पाउन्डभन्दा बढी पुग्यो ।

आफ्नो वेबसाइट बिक्री गरेपछि ज्याक क्याटर एचएमएमा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गर्ने अवसर भने पाइरहे । उनलाई वेबसाइट प्रोमोट गर्ने सेक्रेट कुरा राम्ररी थाहा भएकाले कम्पनीले उनलाई गुमाउन चाहेन । उता उनी एचएमएलाई आर्थिक रूपमा सफल बनाउने सम्भावना पनि उत्तिकै थियो । त्यसैले यस्तै खाले वेबसाइटमा रुचि राख्ने फोरम्समा पनि आफ्नो वेबसाइटलाई ‘प्रोमोट’ समेत गर्न थाले । उनले यसो गर्नुका कारणचाहिँ आफ्नो वेबसाइटबारे धेरैको जिज्ञासा र ध्यानाकर्षण गराइराख्ने थियो । केही दिनमा आफ्नो वेबसाइटसँग सम्बन्धित बजारको माध्यमबाट आम्दानी गर्न थाले । एकै महिनामा उनले विश्वभरका लाखौं उपभोक्ता तयार पार्न सफल भए । उनको आम्दानी वार्षिक रूपमा १५ हजार पाउन्डसम्म पुग्यो ।

एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘मैले बनाएको वेबसाइट यति चाँडै भाइरल कसरी भयो भनेर म आफैं आश्चर्यमा परें । किनभने मैले यसबारे कहिले पनि व्यापारिक योजना बनाएकै थिएनँ । मैले एकदिन दिउँसोको समयमा वेबसाइट लन्च मात्र गरेको थिएँ, मानिसले यसलाई राम्ररी बुझेर सेयर गर्नेछन् भनेर । तर, आश्चर्यजनक परिणाम पो आयो ।’

क्याटरले विद्यालयको शिक्षा हासिल गरेपछि नोर्को कलेजबाट कम्प्युटर शिक्षा लिने सुर कसेका थिए । तर, सन् २००९ मा उनले आफ्नो पढाइ बीचैमा छाडेर पूरै समय एचएमएमा खर्च गर्ने निर्णय गरे । शुल्क तिरेर सेवा लिने ग्राहकहरूको संख्या दुई लाख जति पुगेको छ । नि:शुल्क सेवा लिनेहरू पनि दुई लाखकै हाराहारीमा रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘द सन्डे टाइम्स’ ले यो वर्ष सार्वजनिक गरेको बेलायतका एक हजार धनाढ्यहरूको सूचीमा उनी पनि परेका छन् । यसैगरी ३० वर्ष र त्योभन्दा कम उमेरका ५० जना धनाढ्यमा उनी १४ औं स्थानमा रहेका छन् । बिजनेस इन्साइडरको यूके संस्करणको अनलाइन सेवाका अनुसार २८ वर्षीय क्याटरको कुल सम्पत्ति ४५ मिलियन पाउन्ड (५८ दशमलव ४१ मिलियन अमेरिकी डलर) रहेको छ । सन् २०१५ मा उनले आफ्नो कम्पनी सफ्टवेयर कम्पनी एभीजीलाई ४० मिलियन पाउन्डमा बिक्री गरेका थिए । हाल उनी प्राइभ्याक्स कम्पनीका सीईओ र सहसंस्थापक हुन् । अन्त्यमा ह्याकर बन्नु गलत हो । तर, विद्यालय प्रशासनले विद्यार्थीहरूमा बालमनोविज्ञान नबुझदा ज्याक जस्तो व्यक्ति पनि निस्कन सक्छन् । यसमा सबैले ध्यान दिन जरुरी छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com