हनी ट्रर्‍यापर पूजाको बयान एक लाखका लागि अपराधमा संलग्नता


प्रकाशित मिति : असार ३१, २०७४ शनिबार

– दुर्गालाल केसी

असार ३१, २०७४-
तुलसीपुर स्याउली बजारकी पूजा घर्तीको तडकभडकपूर्ण जीवनशैलीका सम्बन्धमा उनका मामा नाता पर्ने सल्यान झिम्पे कोरवाङ घर भै हाल दाङको हेकुली बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारीले चासो लिए । भान्जीले कसरी यति खर्चिलो जीवन बिताइरहेकी छिन् ? उनले बुझ्दै जाँदा तुलसीपुर उपमहानगरपालिकामा बुटवल बस्त्रालय सञ्चालन गर्दै आएका ५३ वर्षीय व्यवसायी राजकुमार श्रेष्ठसँग पूजाको सम्बन्ध रहेको कुरा पत्ता लाग्यो । त्यसपछि आपराधिक पृष्ठभूमिका भण्डारीले योजना बुन्न थाले–श्रेष्ठको अपहरण गरेर रकम असुल गर्ने र त्यसका लागि पूजालाई प्रयोग गर्ने ।

भण्डारीले पूजाका बुवा टीकाराम घर्ती तथा पूजालाई यो योजनामा सहमत गराए । योजना अनुसार पूजालाई एक लाख रुपैयाँ दिने र उनले श्रेष्ठलाई घरबाट निकालेर सल्यानसम्म पुर्‍याइ दिने सहमति भयो । ‘मामाले मलाई एक लाख रुपैयाँ दिने भनेका थिए । मेरो काम श्रेष्ठलाई सल्यानसम्म पुर्‍याउने मात्र थियो । त्यसपछि मैले केही गर्नु नपर्ने र मलाई केही खतरा नहुने भन्ने थियो,’ पूजाको बयान उधृत गर्दै जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहले भने, ‘पहिलेदेखि नै चिनजान भएकाले मैले श्रेष्ठलाई फोन गरेर बोलाएँ र सल्यानसम्म पुर्‍याइदिएँ । त्यसपछि म फर्केर घर आएँ ।’

पूजा व्यवसायी श्रेष्ठलाई सल्यान पुर्‍याएर त्यसै दिन राति तुलसीपुर फर्किसकेकी थिइन् । घटनामा आफ्नो सहभागिता कसैलाई थाहा नहुने आशामा उनी घरमै बसिन् । जेठ २७ गते राती इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली पूजाको घर पुगेको थियो । प्रहरीले पूजाको घर खानतलासी गर्ने प्रयास गर्‍यो तर पूजाकी आमाले प्रहरीलाई घरमा पस्न दिइनन् । पूजा घरमा नभएपछि किन बबाल गर्ने भन्ने सोचेर प्रहरी व्याक भयो । त्यसपछि पूजा घरबाट भाग्न पाइन् । केही दिन दाङमै लुकेकी पूजा बुवा र मामाको सम्पर्कमा आएपछि उनीहरूकै सल्लाहमा नेपालगन्ज गएकी थिइन् ।

सुरुमा पूजाको काम व्यवसायी श्रेष्ठलाई सल्यानसम्म मात्र पुर्‍याउने भएकाले उक्त घटनाबाट पूजालाई केही खतरा नहुने आशा थियो । त्यसकारण पूजा व्यवसायी श्रेष्ठसँगै जंगल गइनन् । श्रेष्ठलाई अर्कै समूहले जंगलतिर लिएर गयो । घटनाको दुई दिनपछि प्रहरीले पूजाको पहिचान गरी खोजतलास गर्न थालेपछि मात्र उनी घरबाट भागेकी थिइन् । जंगलमा श्रेष्ठको हत्या गरी भागेका पूजाका बुवा टीकाराम तथा मामा भण्डारी पनि पछि उनको सम्पर्कमा आए । प्रहरीले जंगलमा छ्याप्छ्याप्ती सर्च गर्न थालेपछि घर्ती र भण्डारीको समूहलाई जोगिन कठिन भयो ।

प्रहरीबाट छलिएर भागिरहेका पूजाका बुवा तथा मामाले नेपालगन्ज पुगेर पूजालाई त्यही आउन भनेका थिए । त्यसपछि उनी तुलसीपुरबाट नेपालगन्ज पुगिन् । भारत पस्ने योजना बनाए पनि सीमामा कडाइ हुनसक्ने भएकाले उनीहरू नेपाल–भारतको सीमा क्षेत्र बाँकेको डुरुवा गाउँपालिकास्थित हिरमिनियामा पुगेर लुके । तीनै जनाले लामो समय त्यही क्षेत्रमा बिताए । प्रहरीले गहन अनुसन्धानपश्चात घटनाका चार जना दोषीलाई पक्राउ गरेपछि उनीहरूकै बयानका आधारमा पूजा, उनका बुवा र मामाका सम्बन्धमा थप जानकारी प्राप्त भएको थियो ।

लामो समयसम्म पनि पूजालाई पक्राउ गर्न नसकेपछि प्रहरीले उनको तस्बिर सार्वजनिक गरी जानकारी दिनेलाई एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गर्‍यो । विशेष सूचनाका आधारमा पूजा, उनका बुवा र मामा बाँकेको हिरमिनियामा बसेको पत्ता लागेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको विशेष टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले पूजालाई गत मंगलबार अनुहार छोप्ने मुकुण्डोका साथ सार्वजनिक गरेको थियो ।

घर्ती पनि मारिए
व्यवसायी श्रेष्ठसँगै अपहरणमा परेका र यसअघि शंकास्पद भनिएका घोराही हापुरका २८ वर्षीय रणबहादुर घर्ती पनि बुधबार मृत फेला परेका छन् । श्रेष्ठको शव भेटिएको सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे लेक भञ्ज्याङ जंगलमै घर्तीको शव फेला परेको थियो । जेठ २९ गते श्रेष्ठको हत्या गर्नुभन्दा एक घण्टाअघि नै घर्तीको हत्या भएको बताइन्छ भने उनको शव श्रेष्ठको शवभन्दा २ सय मिटर तल थियो ।

अपहरणकारीलाई चिनेका कारण अपराध लुकाउन घर्तीको हत्या भएको बताइन्छ । साउन २६ गते बेलुका भारतीय व्यवसायीसँग कामको सिलसिलामा एचपी ११८६४८ नम्बरको गाडीमा रुकुम जाने क्रममा सल्यानको कपुरकोट नजिक व्यवसायी श्रेष्ठको गाडी जस्तो लागेर अपहरणकारीले उनलाई रोकेका थिए । घर्तीले अपहरणकारीलाई चिनेको भनेपछि घटनाको पोल खुल्ने डरले उनी पनि श्रेष्ठभन्दा पहिल्लै अपहरणमा परे । बा ११ च १०७१ नम्बरको निजी सेतो रंगको कारमा भएका व्यवसायी श्रेष्ठ केही पछाडि थिए । श्रेष्ठ त्यहाँ पुगेपछि उनी पूर्व योजना मुताविक अपहरणमा परेका थिए । प्रहरीले ती दुवै गाडी जेठ २७ गते सल्यानको कपुरकोट गाउँपालिका मेलखोलास्थित भित्री कच्ची सडक खण्डमा फेला पारेको थियो ।

१० अभियुक्त पक्राउ
प्रहरीले अपहरण र हत्याको यो अभियोगमा हालसम्म १० जनालाई पक्राउ गरिसकेको छ । प्रहरीले घटनाका मुख्य योजनाकार सल्यान झिम्पे कोरवाङ घर भै हाल दाङको हेकुली बालापुर बस्ने ३७ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर घर भै हाल तुलसीपुर स्याउली बजार बस्ने ३९ वर्षीय टीकाराम घर्ती तथा उनकी छोरी १८ वर्षीया (उमेर विवादस्पद छ) पूजा घर्तीलाई गत मंगलबार सार्वजनिक गरेको थियो ।
यसैगरी उक्त घटनाका मुख्य योजनाकार तुलसीपुर उपमहानगरपालिकाका २८ वर्षीय भुपेन्द्र भण्डारीलाई तुलसीपुर, तुलसीपुर–११ कटाहाका ३० वर्षीय खुमबहादुर केसीलाई काठमाडौं तथा तुलसीपुर बेलुवा शिवज्योति टोलका ४१ वर्षीय नारायण वलीलाई तुलसीपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठको शव फेला पर्नुअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो । यसअघि पक्राउ पर्नेमा जंकोट रोल्पा घर भई घोराही बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर घर भई हाल तुलसीपुर–६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुरका २५ वर्षीय कमल भनिने अबिरल महतरा तथा घोराही नयाँ बजारकी ३८ वर्षीया जमा पुन छन् ।

जेठ २७ गते राती इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी टोली पूजाको घर पुगेको थियो । प्रहरीले पूजाको घर खानतलासी गर्ने प्रयास गर्‍यो तर पूजाकी आमाले प्रहरीलाई घरमा पस्न दिइनन् । पूजा घरमा नभएपछि किन बबाल गर्ने भन्ने सोचेर प्रहरी व्याक भयो । त्यसपछि पूजा घरबाट भाग्न पाइन् । केही दिन दाङमै लुकेकी पूजा बुवा र मामाको सम्पर्कमा आएपछि उनीहरूकै सल्लाहमा नेपालगन्ज गएकी थिइन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com