प्लास्टिकको चामल नभएको पुष्टि


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

असार ३०, २०७४- काठमाडौंको सीतापाइलास्थित शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा प्लाष्टिकको चामल नभएको पुष्टि भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा प्लाष्टिकको चामल नभेटिएको पुष्टि भएको छ । काठमाडौं प्रहरी परिसरले सक्कली चामलमा प्लास्टिकको चामल मिसाएर बेचेको आरोपमा सीतापाइलाबाट टंकप्रसाद शेरचनलाई पक्राउ गरेको थियो । चामलमा मिसावट भएको सूचनाका आधारमा प्रहरीले टंकको शेरचन ब्रदर्स प्राइभेट लिमिटेडको गोदाममा छापा मारेको थियो । आरटीसी ब्रान्डको चामलको आधिकारिक बिक्रेता रहेका शेरचनको गोदाममा २० केजी तौलको लङ ग्रेन चामल पाँच सय बोरा थिए ।

प्रहरी प्रधान कार्यालय नक्सालभित्र रहेको एक नम्बर प्रहरी गणमा खानका लागि भन्दै शेरचनको गोदामबाट चामल ल्याइएको थियो । तर पकाएर खाने क्रममा चिसो भएको भात भुइँमा झर्दा रबरझै उफ्रिएको भन्दै उनीहरूले यसबारे बुझ्न काठमाडौं प्रहरी परिसरमा खबर गरेका थिए । काठमाडौं प्रहरी परिसरले प्लास्टिकको भनिएको चामलको गुणस्तर परीक्षण गर्न बुधबार नै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाएको थियो ।

परिसरका प्रमुख एसएसपी छविलाल जोशीले परीक्षणमा चामलमा प्लाष्टिक नभेटिएको पुष्टि भएपछि गोदाममा गरिएको सील खोलिदिने बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com