साउन १ देखि क्लिनफिड लागू हुँदै


प्रकाशित मिति : असार ३०, २०७४ शुक्रबार

असार ३०, २०७४- सरकारले साउन १ देखि क्लिन फिड लागू गर्ने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो । क्लिन फिड भनेको विदेशी च्यानलमा विज्ञापन बजाउन नपाउने वा विज्ञापन नभएका च्यानल मात्रै प्रसारण गर्न दिने नीति हो । ‘यस मन्त्रालयबाट डाउनलिंक अनुमति लिई नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलहरूको प्रसारण मिति २०७४ साउन १ गतेदेखि विज्ञापनरहित हुनुपर्ने व्यवस्था विज्ञापनरहित नीति, २०७३ मा गरिएकाले नेपालमा कार्यक्रम प्रसारण गर्न चाहने विदेशी प्रसारण संस्था, सिग्नल वितरक संस्था र कार्यक्रम वितरक संस्थाहरूले सो नीतिअनुरूप विज्ञापनरहित प्रसारण गर्न यो सूचना प्रकाशित गरिएको छ,’ मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ ।
यो व्यवस्था लागू भए विज्ञापनरहित च्यानल मात्रै यहाँ प्रसारण हुनेछन् । यो व्यवस्थाबाट स्वदेशी विज्ञापन व्यवसाय विस्तार हुने जानकारहरूको भनाइ छ । सरकारको सूचनामा अगाडि भनिएको छ, ‘विदेशी प्रसारण संस्थाको कार्यक्रम विज्ञापनरहित भएमा मात्र डाउनलिंक अनुमति दिने र सोको नवीकरण गरिने भएकाले विज्ञापनरहित च्यानलको मात्र डाउनलिंक अनुमतिपत्र दिने तथा नवीकरण गर्ने ।’
सरकारले नवीकरण र सिग्नल वितरणका लागि पनि यो व्यवस्था आवश्यक रहेको भनेको छ । ‘विदेशी प्रसारण संस्थाको कार्यक्रम तथा टेलिभिजन च्यानलको सिग्नल वितरण अनुमति पाएका संस्थाहरूले विज्ञापनरहित च्यानलको मात्र सिग्नल वितरण व्यवस्था गर्ने,’ सरकारी सूचनामा उल्लेख छ, ‘नेपालभित्र कार्यक्रम वितरण र प्रसारण गर्ने सबै संस्थाहरू (डीटीएच, केबल वितरक, आईपीटीभी, एमएमडीएस, डिजिटल टेरिस्ट्रियल) ले विदेशी टेलिभिजन च्यानलहमध्ये विज्ञापनरहित कार्यक्रम आउने च्यानल मात्र प्रसारण र वितरण गर्ने ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com