चीनले पठायो जिबोटीमा सेना


प्रकाशित मिति : असार २९, २०७४ बिहीबार

असार २९, २०७४- पहिलो सैनिक बेस स्थापनाका लागि चिनियाँ सेना अफ्रिकाको जिबोटीतर्फ लागेको छ । जिबोटीमा गएर बस्ने चिनियाँ सैनिक बेस क्याम्पले सैनिक सहयोगका साथै जलसैनिक अभ्यास र उद्धारमा खटिने सिन्हवाले जनाएको छ । चीनले हालैका वर्षमा अफ्रिकामा आफ्नो लगानी बढाउनुका साथै सेनालाई पनि तीव्र रूपमा आधुनिकीकरण गर्दै आइरहेको छ ।

सैनिक र सैन्य सामग्रीसहितका पानी जहाज जानझियाङको समुद्री बन्दरगाहबाट जिबोटीतर्फ प्रस्थान गरेका छन् । तर सैनिक र जहाजको संख्या भने खुलाइएको छैन । दुई देशबीचको सहमतिपछि गत वर्षदेखि नै सैनिक बेस क्याम्प बनाउन थालिएको थियो । यसलाई अफ्रिकी क्षेत्रमा चिनियाँ सेनाको बलियो उपस्थिति मानिएको छ ।
यो बेस क्याम्प विश्वलाई चिनियाँ नियन्त्रणमा राख्न नभई देशको सुरक्षाका लागि सैनिक शक्तिको विकासको आवश्यकताअनुसार भएको चिनियाँ सरकारी अखबार ग्लोबल टाइम्सले जनाएको छ । जिबोटीमा अमेरिका, जापान र फ्रान्सको पनि सैनिक बेस भएको त्यसमा उल्लेख छ ।

जिबोटी अफ्रिकाको एउटा सानो देश हो । अफ्रिकी क्षेत्रका पानी जहाजहरूको व्यस्त र अस्थिर क्षेत्रमा रहे पनि यो मुलुक भने अस्थिर छैन ।

सन् २०१५ मा भएको अफ्रिकी देशहरूको एक सम्मेलनमा चीनले अफ्रिकाको विकासका लागि ६० करोड डलर खर्चने घोषणा गरेको थियो । चीनले अफ्रिकाको प्रमुख व्यापारिक साझेदारीका रूपमा रेलमार्ग, ऊर्जालगायत विकास संरचनामा ठूलो आर्थिक र मानवीय लगानी गर्दै आएको छ । यसमध्ये जिबोटीलाई इथियोपियाको राजधानीसँग जोड्ने रेलमार्गका साथै अंगोला, नाइजेरिया, तान्जानिया, र जाम्बियाका रेलमार्ग मुख्य छन् । अफ्रिकाले भने चीनलाई प्राकृतिक स्रोत, खनिज र ऊर्जा उपलब्ध गराउँदै आएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com