फोक्सोको ट्युमर र हड्डीको क्यान्सर जितेकी कलाकार एन्ड्रिला शर्माको २४ बर्षको उमेरमा निधन


प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार

बंगाली चलचित्रकी अभिनेत्री एन्ड्रिला शर्माको आइतबार दिउँसो १२ः५९ बजे निधन भएको छ । २४ वर्षकी शर्माले लामो संघर्षपछि अन्ततः हार खाइन् ।

नोभेम्बर १ मा उनी गम्भीर बिरामी भएपछि हावडाको एक निजी अस्पतालमा भर्ना भएकी थिइन्। एन्ड्रिलालाई ब्रेन हेमरेज भएको चिकित्सकहरुले बताएका छन् । उनी कोमामा गएकी थिइन् ।

उनलाई भेन्टिलेटरमा राखिएको थियो, तर त्यसपछि उनलाई होश आएन। उनको आइतबार अस्पतालमा निधन भएको हो ।

नोभेम्बर १४ गतेदेखि एन्ड्रिलाको शारीरिक अवस्था बिग्रन थाल्यो । अस्पताल स्रोतका अनुसार शनिबार राति उनलाई हृदयघात भएको थियो । एन्ड्रिलाले यो चोट सहन सकिनन् ।

विगतमा दुई पटक क्यान्सर भएको पत्ता लागेपछि एन्ड्रिला निको भएर घर फर्किएकी थिइन् । सन् २०१५ मा कक्षा ११ मा पढ्दै गर्दा उनलाई पहिलो पटक क्यान्सर भएको पत्ता लागेको थियो । क्यान्सरले उनको हड्डीमा आक्रमण गरेको थियो।

सन् २०२१ मा दोस्रो पटक उनको फोक्सोमा ट्युमर भएको थियो । क्यान्सरसँग लड्दै उनले अभिनयलाई निरन्तरता दिइन् । अभिनेत्रीलाई ब्रेन स्ट्रोकका कारण नोभेम्बर १ मा अस्पताल भर्ना गरिएको थियो । त्यसपछि जीवन र मृत्युको लडाइँको तेस्रो युद्ध सुरु भइसकेको थियो । २० दिनको लडाईबाट थकित एन्ड्रिलाले अन्ततः हार मानिन्।

एन्ड्रिलाको शारीरिक अवस्था सुधारोन्मुख थियो । तर, शनिबार राति उनलाई हृदयघात भयो । शनिबार साँझपछि उनलाई १० पटक हृदयघात भएको थियो । त्यसयता शारीरिक अवस्था तीव्र रूपमा बिग्रँदै गएको छ । एन्ड्रिला पछिल्लो २४ घण्टादेखि चिकित्सकको कडा निगरानीमा थिइन् ।

अभिनेत्री एन्ड्रिला शर्माको घर मुर्शिदाबादको बहरामपुरको इन्द्रप्रस्ट क्षेत्रमा छ । बुबा पेशाले डाक्टर हुनुहुन्छ । उनको मृत्युको खबर सुनेर छिमेकीहरु स्तब्ध भएका छन् । एन्ड्रिलाको मृत्युको खबरले टलिउडमा शोकको लहर छ । उनको निधनमा टलिउड कलाकारहरुले शोक व्यक्त गरेका छन् ।

वेष्ट बंगालकी मुख्यमन्त्री ममता बनर्जीले अभिनेत्रीको निधनमा शोक व्यक्त गरेकी छिन् । शोक विज्ञप्तिमा उनले प्रख्यात अभिनेत्री एन्ड्रिला शर्माको असामयिक निधनले अत्यन्तै दुःखी बनाएको बताएकी छिन् ।

उनका उल्लेखनीय टिभी सिरियलहरूमा झुमुर, महापीठ तारपीठ, जीवन ज्योति, जीवन कथा, जोनकाठी आदि पर्छन्। उनले केही चलचित्रमा पनि अभिनय गरेकी छिन् । पश्चिम बंगाल सरकारले उनलाई यस वर्ष उत्कृष्ट कमब्याक श्रेणीमा टेलि सम्मान पुरस्कारबाट सम्मानित गरेको थियो ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com