बाढीपीडितलाई सेनाको राहत
प्रकाशित मिति : असार २८, २०७४ बुधबार

–
असार २८, २०७४- गत असार १७ गते महुली खोलाको बाढीबाट प्रभावित सप्तरीको मयनाकरेडी, भेडिया र पोर्ताहा तथा खाडो खोलाको बाढीबाट प्रभावित रायपुरको पौवाटोलका गरी ४ सय पीडितहरुलाई बुधबार सैनिक श्रीमती संघ (नेपाली सेना)ले राहत वितरण गरेको छ । मयनाकरेडी चौकमा बुधबार बिहान आयोजित कार्यक्रममा मयनाकरेडी र भेडियाका ३ सय परिवारलाई राहत वितरण गरियो ।
सैनिक श्रीमती संघले भेडिया र मयनाकरेडीका ३ सय परिवारलाई प्रतिपरिवार इकथान मण्डी, १० किलो पिठो, ५ किलो दालसहित चिनी र नुन तथा १० प्याकेटका दर जीवनजल वितरण गरियो । यसै गरी, पोर्ताहा र पौवाटोलका गरी थप एकसय परिवारलाई पनि सोहीअनुसारको राहत वितरण गरिएको छ ।
नेपाली सेनाको पूर्वी पृतनापति उपरथी प्रह्लाद थापा, सैनिक श्रीमती संघकी सल्लाहकार शारदा थापा, सहायक बाहिनीपति भरतचन्द्र गुरुङ , सैनिक श्रीमती संघकी सदस्यहरु र कृष्ण दल गणका गणपति डम्बरबहादुर बोहोराले राहत सामग्री पीडितहरुलाई हस्तान्तरण गरे । सेनाले सशस्त्र र नेपाल प्रहरीसित समन्वय गरी महुली खोलाको बाढीले भत्काएको बाँध निर्माणमा समेत जुटिरहेको छ ।