सेतीकाे भेलमा दाउरा छाेप्न ‘बल्छी’


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

बसन्तप्रताप सिंह
असार २८, २०७४- मंगलबार साँझबाट बझाङमा अविरल वर्षा भैरहेको छ । वर्षा संगै स्थानीय खोला र नदीमा बाढी आउन थालेको छ । बाढी संगै सेती नदीको भेलले बगाएर ल्याएका  दाउरा उतार्ने क्रममा प्रत्येक वर्ष बझाङका धेरैले ज्यान गुमाउने गरेका छन् । तर जब सेतीको भेल उर्लदै बढ्छ । ज्यानको पर्वाह नगरी दाउरा उतार्नका लागि चैनपुरबासीको भिड पनि सेती किनारमा उर्लन्छ ।

दिनमा मात्रै होइन रातभर सेतीको किनारमा जाग्राम बसेर दाउरा उतार्न तँछाड–मछाड गर्नेहरु भिड उतिकै हुन्छ । कोही उतारेको दाउरा बेचेर खर्च चलाउँछन् । कोही होटल तथा घरमा प्रयोग गर्न ३/४ महिनाको लागी दाउराको जोहो गर्छन् । तर यसरी दाउरा उतार्न जानेहरु मध्ये प्रत्येक वर्ष १ देखी ३ जनासम्म सेती मै हेलिन्छन र जीवन समाप्त गर्छन् । ५ वर्ष यता मात्र सेती नदीमा दाउरा उतार्ने क्रममा १२ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।


‘ज्यानको माया त कसलाई हुँदैन र हजुर,’ दाउरा उतार्नेहरुको भिडमा तँछाड–मछाड गरिरहेका एकजना चिया पसल व्यवसायी धनबहादुर शाहीले ठट्यौली पारा भने, ‘आँखै अगाडि दाउरा बगेर गएको त्यतिकै छोड्नु पनि भएन ।’

प्रत्येक वर्ष सेती नदीबाट ८०/९० हजार बराबरको दाउरा उतार्ने गरेको बताउँदै उनले भने, ‘बजारमा किन्यो भने एक भारीको ३/४ सय पर्छ । यहाँ उस्तै परे दिनकै १५/२० भारी दाउरा सित्तैमा उतार्छौं ।’

ज्यानको जोखिम भए पनि दाउराको लोभले राति निद्रा नै नपर्ने गरेको मनकला जप्रेलको भनाइ छ । ‘ठुलो झरी परेको दिन त निदै्र लाग्दैन,’ उनले भनिन्, ‘बजार भरका मान्छे सेती कै किनारमा हुने भएकोले खासै डर पनि लाग्दैन,’ दिउँसोमा भन्दा राति बढी दाउरा उतार्न सकिने उनले बताइन् ।


दाउरा उतार्दा चिसा र चिप्ला ढुङ्गामा चिप्लेर सेतीमा खस्ने, दाउराको मुढाले तानेर भेलमा फाल्ने र छालले हुत्याएर बगाउन सक्ने जस्ता खतरा हुने गरेको चैनपुरका रुपेन्द्र रसाइलीले बताए । गत वर्ष मात्र उनका छिमेकी शिवु दमाईले राति दाउरा उतार्ने क्रममा ढुङ्गाबाट चिप्लीएर सेतीमा खसेका थिए ।

स–साना केटाकेटी देखी वृद्धवृद्धासम्म दाउरा उतार्न जाने भएकोले उनिहरुलाई बढी जोखिम हुने गरेको उनको भनाई छ । दाउरा उतार्दा राति नजान, उज्यालोमा पनि नचिप्लीने र छालले हुत्याउन नसक्ने ठाँउमा आड लागेर उतार्दा सुरक्षित हुने उनको सुझाव छ ।

प्रत्येक वर्ष दाउरा उतार्दा दुई–तीनजनाले ज्यान गुमाउन थालेपछि जिल्ला प्रहरी कार्यालयले पनि दाउराको लागी ज्यान जोखिममा नराख्नका लागी सम्झाई बुझाई गर्न प्रहरीहरु परिचालन गरेको प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए ।

‘ज्यान भन्दा ठुलो दाउरा होइन । दाउराको लागी ज्यान जोखिममा नराख्नुस भनेर सम्झाउनका लागी सबै युनिटलाई निर्देशन दिएको छु,’ उनले भने । मानिसहरुले आफ्नो सुरक्षा आफैं गर्नका लागी सचेत हुनुपर्ने उनको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com