मधेशी एसोसिएसन इन अमेरिकाबाट सप्तरी बाढी पिडितलाई राहत प्रदान
प्रकाशित मिति : असार २८, २०७४ बुधबार

सप्तरीका बाढी पिडितहरुलाई अमेरिकामा रहेका मधेशी समुदायले सहयोग प्रदान गरेका छन् । अमेरिकामा रहेका मधेशी समुदायहरुको छाता संगठन मधेशी एसोसिएसन इन अमेरिका (मा) ले महुँली नदिको कटानले घरबार विहिन भएका साविक लोहजारा गाविस अन्तर्गतको भिडिया टोलका ९० घर परिवारलाई दाल, भुजा, म्याट, झुल, खाने तेल, नुन लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
मधेशी एसोसिएन इन अमेरिका (मा) का नेपाल प्रतिनिधि पत्रकार अनन्त अनुरागको नेतृत्वमा गएका टोलीले स्थानीय लोहजारा विद्यालयमा, स्थानीय प्रहरी प्रशासन, गाविस सचिवको उपस्थितीमा वितरण गरेका थिए ।
सप्तरी जिल्लाका परिचित समाजसेवी उम्मदेश्वर साह, स्थानीय समाजसेवी चन्देश्वर मेहता, स्थानीय रेडक्रसका प्रतिनीधि युगेश्वर मेहता लगायतका स्थानीय युवाहरुले राहत वितरण गर्न विशेष सहयोग गरेका थिए ।
मा ले विगतमा पनि बाढी, आगलागि, सहिद परिवारलाई सहयोग गर्दै आएको थियो । मधेशी समुदायलाई दुःख परेको बेला अब विना कुनै माध्यम मधेशी एसोसिएसन इन अमेरिका (मा) ले सिधा घटना स्थलमा आफै पुगेर सहयोग प्रदान गर्ने ‘मा’ का केन्द्रिय अध्यक्ष सुनिल साहले जानकारी दिनु भयो ।