पहिरोले विद्यालय बगायो


प्रकाशित मिति : असार २८, २०७४ बुधबार

– वसन्तप्रताप सिंह

– ७ सय विद्यार्थीको पठनपाठन अवरुद्ध – सडक थुनिँदा यातायात ठप्प – बिरामीको बिजोग

असार २८, २०७४- निरन्तर वर्षापछि पहिरो खस्दा सोमबार साँझ जिल्लाको दक्षिणी भेग बुंगल नगरपालिका–६ बुंगलमा एक विद्यालय बगाएको छ । दुर्गाभवानी उच्चमाविका दुईवटा भवन बगेपछि त्यहाँ अध्ययनरत करिब ७ सय विद्यार्थी प्रभावित छन् ।

सिमालतोला भन्ने ठाउँमा रहेको विद्यालयको २२ कोठे भवन, कम्प्युटर कोठा, कार्यालय, स्टाफ कोठा र कक्षाकोठा सबै बगेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनामा विद्यालयका भौतिक संरचनासहित ३ करोड रुपैयाँ बराबर क्षति भएको प्राचार्य हिक्मतबहादुर ऐडीले बताए । ‘स्कुलको नामोनिसान केही पनि छैन । स्थापना कालदेखिका कागजपत्रसमेत बाँकी रहेनन्,’ उनले भने, ‘अब त्यतिका विद्यार्थी कहाँ लगेर पढाउने हो ? ठूलो विपत्ति पर्‍यो ।’ पहिरो खस्दा विद्यालय बन्द रहेकाले मानवीय क्षति हुन नपाएको ऐडीले जानकारी दिए ।

जिल्ला शिक्षा अधिकारी सूर्यबहादुर सिंहले भने पहिरोले विद्यालय बगाएको बारे प्रारम्भिक जानकारी मात्र आएको, क्षति विवरण थाहा भइनसकेको बताए । इलाका प्रहरी कार्यालय बुंगलको टोली घटनास्थल पुगिसकेकाले क्षति विवरण आएपछि वैकल्पिक व्यवस्थाका लागि पहल गरिने उनले जानकारी दिए । घटनास्थल बझाङ सदरमुकाम चैनपुरबाट एक दिनको दूरीमा पर्छ ।

जिल्लै ठप्प 
बझाङलाई बाहिरी जिल्लासँग जोड्ने जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध हुन पुगेको छ । सोमबार राति राजमार्गको विभिन्न ठाउँमा पहिरो खसेपछि यातायात ठप्प छ । ‘तमैल बजारनजिकै जाल्याबगरमा सबैभन्दा ठूलो पहिरो खसेको छ’ जिल्ला प्रहरी कार्यालयका निरीक्षक रामबहादुर चन्दले भने, ‘मटेला, देउरा, बगडगाउँलगायत ठाउँमा शाखा सडकबाट बगेर आएको हिलो राजमार्गमा थुप्रिएको छ । गाडी फसेका छन् ।’

बझाङबाट काठमाडौं, धनगढी, महेन्द्रनगर र डडेलधुराका लागि छुटेका सवारीसाधन तमैल बजारमै थन्किएका छन् । यात्रु अलपत्र परेका छन् । यातायात नखुलेपछि अस्पतालले अन्यत्र लैजान रिफर गरेका बिरामी र उनीहरूका आफन्त समस्यामा परेको भैरवनाथका गोविन्द बोहराले बताए । उनले भने, ‘दुई दिनदेखि बाटो खुलेको छैन । केहीले बिरामीलाई महँगोमा बोकाएर भए पनि गाडी पाउने ठाउँसम्म पुर्‍याउन खोजिरहेका छन्, पैसा नहुनेहरू थप मर्कामा छन् ।’ उनका अनुसार कतिपय यात्रु हिँडेरै गाडी पाउने ठाउँसम्म जाँदै छन् ।

पहिरोका कारण जिल्लाको आन्तरिक यातायात सञ्जालसमेत टुटेको छ ।

सबैजसो शाखा सडक अवरुद्ध रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चैनपुर मयाना, छबिस मेल्लेख, सुर्मा दौलीचौर, विजगडा बुंगललगायत ग्रामीण सडकमा पनि दुई दिनदेखि यातायात सञ्चालन हुन सकेको छैन ।

धनगढी, महेन्द्रनगर र नेपालगन्जबाट औषधि, खाद्यान्न तथा दैनिक उपभोग्य सामान लिएर आएका गाडी बैतडीको खोड्पेदेखि बझाङको भाडेबगरसम्मको खण्डमा अड्किएको सवारी चालक सन्तोष बोहराले बताए । यातायात रोकिँदा सदरमुकाम चैनपुरलगायत विभिन्न बजारमा तरकारी र फलफूल अभाव हुन थालेको छ । चाँडै सडक नखुले खाद्यान्न र औषधि पनि सकिने व्यापारीले बताएका छन् ।

लगातार वर्षाबीच डोजर पनि पर्याप्त नभएकाले पहिरो हटाउन समस्या परेको प्रहरीले जनाएको छ । केही ठाउँमा पहिरोले सडकको डिलै भत्काएकाले तत्काल यातायात सुचारु हुने यकिन नरहेको प्रहरी निरीक्षक रामबहादुर चन्दले बताए । ‘प्रयास गरिरहेका छौं, कहिले खुल्छ यसै भन्न सकिन्न, एक–दुई दिन अझै लाग्न सक्छ,’ उनले भने ।

राजमार्गको समानान्तर हुने गरी निर्माण गरिएका शाखा सडकका कारण बर्खामा जोखिम निम्तिने गरेको डिभिजन सडक कार्यालयका प्रमुख ललिजन खनालले बताए । ‘ती सडक राजमार्ग कार्यालयसँग सल्लाह नै नगरी बनाइएका हुन्, शाखा सडकबाट बग्दै आएको माटो र पहिरोले राजमार्ग अवरुद्ध हुने गर्छ,’ उनले भने ।

पहिरोले अवरोध
मुगु– पहिरोले कर्णाली राजमार्गको गमगढी–नाग्म सडक खण्ड अवरुद्ध भएपछि स्थानीयलाई आउजाउमा सास्ती भएको छ । भारी वर्षासँगै पहिरो खसेपछि सवारी साधन बीच सडकमै अलपत्र छन् । वर्षाले सडक हिलाम्मे बन्नुका साथै खाल्डाखुल्डी बढ्दै गएका छन् ।

सुर्खेत र नेपालगन्जबाट सामान बोकेर आएका मालवाहक ट्रक, ट्रयाक्टर र अन्य गाडी बाटोमै अलपत्र परेको प्रहरीले जनाएको छ । विभिन्न कामले सुर्खेत, नेपालगन्जलगायत स्थानमा गएका बासिन्दा उतै अडकिएका छन् । सडक खुलाउन डोजरले पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाले बताए । उनका अनुसार सडकमाथिबाट पहिरो आउने क्रम अझै रोकिएको छैन ।

२०६९ सालदेखि मुगुमा सडक यातायात सञ्चालन हुन थालेको हो ।

मुगु खण्डको ९४ किमि कालोपत्रे नहुँदा हिमपात र वर्षातको समयमा अवरुद्ध हुने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com