श्रीमान्‌द्वारा श्रीमतीको विभत्स हत्या


प्रकाशित मिति : असार २७, २०७४ मंगलबार

असार २७, २०७४- श्रीमान्‌ले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

‘सोमबार राति करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा आएको थियो,’ इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुरेशप्रसाद काफ्लेले भने, ‘घटनास्थल पुग्दा मृतकको शरीर र पाँच/छ महिनाकी छोरी भेटिइन् । छोरीको हामीले तत्कालै उद्धार गर्‍यौँ ।’ श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ । निजकी कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै बेलपुरका स्थानीयवासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com