११ दिनलाई पेट्रोलको मौज्दात बढाइयो


प्रकाशित मिति : असार २६, २०७४ सोमबार

– राजु चौधरी
असार २६, २०७४- आयल निगमले थप ९ दिनलाई पुग्ने पेट्रोलको भण्डारण बढाएको छ । निगमले थानकोटको मटितेल भण्डारणलाई आइतबारदेखि पेट्रोलमा रूपान्तरण गरी पेट्रोलको मौज्दात बढाएको हो । थानकोट डिपो प्रमुख नेत्र काफ्लेका अनुसार दुई वर्षअघि पेट्रोलको मौज्दात १८ सय १० किलोलिटर थियो ।

त्यसबाट करिब ४ दिनलाई पुग्थ्यो । ०७१ वैशाख १२ को महाभूकम्पले ७ सय ६० किलोलिटरको अट्ने एउटा ट्यांकमा क्षतिभएपछि निगमसँग करिब ११ सय किलोलिटर मात्रै मौज्दात रह्यो । उपत्यकालाई दुई दिन मात्रै पुग्ने निगमले जनाएको थियो । ‘सवारीको चाप बर्सेनि बढे पनि मौज्दात पर्याप्त थिएन ।

पर्याप्त मौज्दात नहुँदा बन्दहडतालको हल्लासँगै उपत्यकाका पम्पहरूमा भीडभाड बढ्ने अवस्था थियो,’ काफ्लेले भने, ‘मटितेलको भण्डारणलाई मर्मत गरी आजबाट थप ९ दिनलाई पुग्ने पेट्रोल मौज्दात बढाउन सुरु गरेका छौं । आयात ठप्प भए पनि उपत्यकालाई १० देखि ११ दिनसम्म इन्धन पुग्छ ।’

मटितेल ट्यांकलाई पेट्रोल ट्यांकमा रूपान्तरण गर्न आलमोनियम फ्लोटेडरुफको प्रयोग गरिएको जनाइएको छ । आलमोनियम प्रविधिको प्रयोगले इन्धन ट्यांकमा हाल्दा माथि जाने र इन्धन खाली हुँदा तल आउने गर्छ । जसले गर्दा प्रविधिक नोक्सानी कम हुने निगमको दाबी छ । निगमका बिक्री वितरण विभाग प्रमुख एवं प्रवक्ता सीताराम पोखरेलले २१ सय किलोलिटरका दुईवटा मटितेलल ट्यांकीलाई पेट्रोल ट्यांकीमा रूपान्तरण गरेको बताए । ‘हामीसँग ११ सय किलोलिटर मात्रै थियो । २१ सय किलोलिटरको दुई ट्यांकी (४२ सय किलोलिटर) भण्डारण थपिएको छ,’ उनले भने, ‘दैनिक औसत ५ सयको दरले आयात बन्द भए पनि करिब ११ दिनलाई इन्धन पुग्छ ।’ थानकोट डिपोबाट नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर र ललितपुरमा इन्धन वितरण हुने गर्छ ।

निगमका अनुसार मर्मत सुरु गरेको तीन महिनामा ती दुई ट्यांकी तयार भएका हुन् । उक्त ट्यांकी ट्यांक टेक एसिया प्रालि चेन्नाइले मर्मत गरेको निगमले जनाएको छ । भूकम्पले क्षति पुगेको ७ सय ६० किलोलिटरको ट्यांकी बनाउनुपर्ने जनाइएको छ । ‘प्रावधिकले निरीक्ष्ँण गर्दा उक्त ट्यांकी पुन: बनाउन सुझाव दिएका छन्,’ प्रवक्ता पोखरेलले भने । मटितेलको ४२ सय किलोलिटर ट्यांकी पेट्रोलमा परिणत भएपश्चात् हाल थानकोट डिपोमा ७ सय ६० किलोलिटर मटितेल मौज्दात छ । उक्त मौज्दातले उपत्यकावासीलाई एक महिना पुग्ने डिपो प्रमुख काफ्लेले बताए । ‘०६५ मा डिजेल र मटितेलको मूल्य एउटै बनाएपछि मटितेलको माग ह्वात्तै घट्यो । अहिले दैनिक मुस्किलै ४० किलोलिटर बिक्री हुन्छ,’ काफ्लेले भने, ‘अहिलेको मौज्दातले एक महिना पुग्छ ।’

थानकोट डिपोमा डिजेल ८४ सय किलोलिटर मौज्दात छ । डिजेलको दैनिक औसत माग ७ सय किलोलिटर हो । जसअनुसार उपत्यका आसपासलाई करिब १२ दिनलाई धान्ने डिपो प्रमुख काफ्लेले बताए । निगमका अनुसार मटितेलको माग घटेपछि केही महिनाअघि पोखरा र अमलेखगन्जमा पनि मटितेल ट्यांकी पेट्रोल ट्यांकीमा रूपान्तरण गरिएका थिए । प्रवक्ता पोखरेलका अनुसार हाल भारतमा ५० दिन, चीनमा १ सय ३७, अमेरिकामा १ सय ३५, जापानमा २ सय ७०, फ्रान्समा ५५, थाइल्यान्ड ७० दिनलाई पुग्ने इन्धन मौज्दात रहेको निगमले जनाएको छ । तर, नेपालमा भने मौज्दात न्यून रहेको निगमकै अधिकारीहरू बताउँछन् ।

भूकम्प र त्यसपछि भारतको नाकाबन्दीले इन्धनको चरम कालोबजारी बढेपछि सरकारले तीन महिनालाई पुग्ने भण्डारण बढाउन निर्देशन दिएको थियो । सोहीअनुसार निगमले सात प्रदेशमा कम्तीमा तीन महिनाको लागि इन्धन भण्डारण गर्ने योजना बनाएको छ ।

निगमले झापा, सर्लाही, महोत्तरी, चितवन, रूपन्देही, धनगढी र धादिङमा जग्गाका लागि बोलपत्र आहवान गरेको छ । भण्डारणका लागि न्यूनतम २० बिघा चाहिने जनाइएको छ । सोहीअनुसार ग्लोबल टेन्डर जारी गरिएको छ । टेन्डर मूल्यांकनको क्रममा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com