चार वर्ष पुग्दा पनि निर्माण सकिएन टिकौलीको सार्वजनिक शौचालय


प्रकाशित मिति : असार २५, २०७४ आईतबार

चितवनको रत्ननगरस्थित टिकौलीमा निर्माणाधीन शौचालय ४ वर्ष बित्दा पनि सम्पन्न हुन सकेको छैन ।

मुख्यगरी सडक छेउछाउमा गाडी रोकेर शौच गर्न रोक्ने उद्देश्यले निर्माण सुरु गरिएको शौचालय निर्माण सम्पन्न नहुँदा यात्रु जैविक मार्गको संरक्षित क्षेत्र प्रयोग गर्न बाध्य छन् ।

रोटरी क्बल अफ रत्ननगरले सडकमा जथाभावी शौच गर्ने प्रवृत्ति रोक्न तथा तीर्थयात्रीका लागि शौचसहित स्नान गर्न सहज बनाउने लक्ष्यसहित यहाँ सुविधायुक्त शौचालय निर्माण शुरु गरेको थियो । आर्थिक स्रोतको व्यवस्थापन गर्न नसक्दा निर्माणमा ढिलाइ भएको रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभयो । रु ४८ लाखको लागत अनुमानमा यहाँ ४ वर्षअघि डा विजय न्यौपाने रोटरीको अध्यक्ष हुँदा निर्माण शुरु गरिएको थियो ।

“विगतमा निर्माणमा केही ढिलाइ भएको थियो, अहिले कामले तीव्र गति पाएको छ,” शर्माले भन्नुभयो, “आगामी दुई महिनाभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।” यहाँ सुविधायुक्त शौचालय नहुँदा जैविक मार्ग रहेको टिकौली जङ्गलमै गाडी रोकेर यात्रुले शौच गर्दै आएका छन् । आगामी साउन १ गतेदेखि गाडी रोक्न कडाइ गर्ने सूचना चितवन निकुञ्जले सार्वजनिक गरेका बेला यो आसपास क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा समस्या भएको छ ।

रोटरी क्लब अफ रत्ननगरका सदस्य पूर्ण रिजाल दशैँभित्रमा शौचालय हस्तान्तरण भइसक्ने बताउनुहुन्छ । यहाँ मुख्यगरी महिला र पुरुषका लागि अलगअलग शौचालय निर्माण गरिने योजनासहित काम भइरहेको छ । दश शौचालय, चार पिसाब गर्न मिल्ने स्थान र चारवटा स्नाककक्ष बनाउने योजनासहित ४ वर्षअघि सुविधायुक्त सार्वजनिक शौचालय निर्माण थालिएको थियो ।

विभिन्न क्षेत्रबाट मागेर आर्थिक सङ्कलन गर्नुपर्ने बाध्यताका कारण ढिलाइ भएको रिजाल बताउनुहुन्छ । शौचालय निर्माणका लागि अमेरिकामा बस्ने गौरी जोशीले रु तीन लाखभन्दा बढी रकम दिनुभएको थियो । गत वर्ष रत्ननगर नगरपालिकाले रु दुई लाख र अरु उद्योग व्यवसायीबाट समेत आर्थिक सहयोग आएको थियो । रोटरीका सदस्यहरुले रु ५, १०, २० हजार गरी सक्ने जति रकम सङ्कलन गरेर शौचालय निर्माण शुरु गरेका थिए । कुल रु ४८ लाख बजेट लाग्ने योजनासहित अहिले शौचालयको निर्माणको काम जारी छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com