नेपालले भन्यो– राष्ट्रसंघको उच्च तहमा नेपाली सेना खोई ?


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४

राष्ट्रसंघीय शान्ति स्थापनार्थ सैन्यमा महत्वपूर्ण योगदान दिंदै आएको नेपाली सेनाले राष्ट्रसंघीय उच्चपदमा सैन्य सहभागिताको अनुपात हुनुपर्ने बताएको छ । विश्व शान्तिमा अधिकतम योगदान दिने मुलुकमा छैटौ रहेको नेपालको यतिबेला फोर्स कमाण्डर समेत छैन भने डेपुटी फोर्स कमाण्डर प्रक्रियामा छ । यसअघि पनि फोर्स कमाण्डर र डेपुटी कामण्डरको अवसर नेपाली सेनाले अत्यन्त कम पाएको छ । सेनाको योगदानको अनुपातमा उच्चतहमा सहभागिता ‘पिनट्स’ अर्थात न्यूनभन्दा न्यून हो ।

नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता प्राप्त गरेको तीन वर्ष पूग्दै गर्दा १२ जुन १९५८ मा लेबनान स्थित युनोगिल मिसनमा पाँचजना नेपाली सेनाका अधिकृतहरू पर्यवेक्षकको रुपमा उपस्थितसँगै विश्व शान्तिमा नेपाली सेनाको प्रवेश भएको हो । उच्च अधिकारीको तर्फबाट आरम्भ सेवा अहिले उच्च तहमा सहभागिता नहुनु दु:खद भन्दै नेपालले सेनाको सहभागिताको अनुपात माग गर्दै आएको हो । नेपालबाट १ लाख १६ हजार बढी नेपाली सेना राष्ट्रसंघ मार्फत विश्व शान्तिमा सक्रिय भइसकेका छन् ।

विश्व शान्ति कार्यमा शान्ति सैनिक पठाउने देशहरुका सेना प्रमुखहरुको दोस्रो सम्मेलनमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले उच्चपदमा नेपालको दाबी स्पष्ट पारेका हुन् । उनले सम्मेलन र साइडलाइन भेटहरुमा नेपाली सेनाले विश्व शान्तिमा पुर्‍याएको योगदानलाई ध्यान दिदैं उच्च तहमा सेनालाई सामेल गराउन पहल गरेको न्युयोर्कस्थित नेपाली स्थायी नियोगका अधिकारीले बताए । स्थायी प्रतिनिधी दुर्गाप्रसाद भट्टराई र प्रधानसेनापती क्षत्रीले थप सेना पठाउने र उच्च तहमा पनि नेपाली सेनाको सहभागितामा जोड दिएका हुन् ।

अधिकृत स्तरको सहभागितामा नेपाल निकै तल रहेकाले सेना पठाउने मुलुकहरुले अधिकृत तहमा पनि उपस्थितीको अनुपात हुनुपर्नेमा जोड दिएको हो । यसमा अन्य मुलुकले पनि नेपालको चासोलाई स्वागत गरेको अधिकारीहरुले बताए । सेना एक मुलुकको र कामण्डर अर्को मुलुकको रहनुलाई अन्यथा लिन मिल्दैन तर त्यसमा न्यासंगत हुन पर्नेमा नेपालले जोड दिएको हो । नेपाली सेनाको यो पहललाई न्यूयोर्क स्थित नेपाली नियोगले पनि कूटनीति लविङ तिव्रपार्दै अघि बढ्ने बताए ।

एक सय पाँच मुलुकका प्रधानसेनापति र ५० भन्दा बढि प्रतिनिधीहरुको सहभागिता रहेको ‘सैन्य प्रमुख राष्ट्रसंघिय सुरक्षा सम्मेलन’ मा नेपालले विश्व शान्ति प्रति आफुहरु प्रतिवद्ध रहेको बताउदै न्यायसंगत उपस्थितीमा जोड दिएको हो । प्रधानसेनापति क्षत्रीले पिस किपिङ विभागका उपमहासचिव जिन प्यानी ल्याक्रोप र फिल्ड सपोर्टका उपमहासचिव अतुल खारेसँग पनि छुट्टा छुट्टै दुईपक्षीय भेटवार्ता गरेको सेनाका प्रवक्ता समेत रहेका सहायक रथी झन्करबहादुर कडायतले बताए ।

सम्मेलनमा शान्ति सेनामा भएका कामहरुको समिक्षा, सुरक्षा चुनौती र सहभागिता लगायतको विषयमा छलफल भएको जानकारी कान्तिपुरलाई बताए । ‘शान्ति सेनामा नेपालको सहभागितालाई अझ बृद्धि गर्ने । चुनौतिको समाधान लगायतको विषयमा जोड दिदै जाने जस्ता विषयमा छलफल भयो,’ प्रवक्ता कडायतले भने, ‘उच्च तहमा नेपाली सेनाको सहभागितामा हाम्रो चासो स्पष्ट छ । त्यसमा छलफल भैहाल्छ । केही तहमा हामी प्रक्रियामा पनि छौ ।’ हाम्रो सहभागिता अत्यन्तै ठूलो भएकाले त्यसलाई मान्यता दिदैं नेपाली सेनाका अधिकारीहरुलाई उच्चपद दिए हामी बढी लाभान्वित हुने बताए ।

विश्व शान्तिमा नेपालको सहभागिता नगन्य होइन, अत्यन्तै ठूलो तर नेतृत्व तहमा सुन्य प्राय रहेकाले यसमा नेपालले लविङ गर्दै आएको हो । नेपालीको सहभागितालाई महत्व दिदैं फोर्स कमान्डर र न्यूयोर्क मुख्यालयमा उच्च पद नेपाली सेनाका अधिकारीहरुले पाउनु पर्नेमा जोड दिएको र त्यसबाट नेपाल बढि लावान्वीत हुने न्युयोर्क स्थित मिसनले पनि उठाउँदै आएको छ । २६ वर्ष अघि इराक/कुवेत मिसनमा फोर्स कमान्डरको पहिलो जिम्वेवारी तत्कालीन उपरथी कृष्णनारायण थापाले सम्हालेको भएपनि अहिलेसम्म त्यो पदमा नेपाली उच्च अधिकारीको उपस्थिती आधा दर्जन समेत पुगेको छैन ।

पुराना कूटनीतिज्ञहरुका अनुसार राष्ट्रसंघमा लबिङ नगर्ने हो भने माथिल्लो पद सहज छैन । राष्ट्रसंघ अन्तर्गत डिपार्टमेन्ट अफ पिस किपिङ अपरेसनबाट संचालित प्राय: सबै प्रकृतिका शान्ति स्थापना कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ । सन् १९८८ मा राष्ट्रसंघीय शान्ति सेनाले नोबेल शान्ति पुरस्कार प्राप्त गर्नुमा पनि नेपाली सेनाको मुख्य योगदान रहेको कतै छिपेको छैन । यसलाई महसुस गर्दै राष्ट्रसंघले नेपाली सेनाको मागलाई ध्यान दिने भएको छ । पछिल्लो समय नेपाली सेनाको संख्या बृद्धि गर्ने र उच्च तहमा सहभागिता बढाउने बताउँदै आए पनि त्यसको कार्यावन्यन देखिएको छैन् ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com