काम नसकी ठेकेदार फरार, तीन महिनामै भत्कियो कालोपत्रे


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- एक वर्षअघि नै कालोपत्रे सकेर डिभिजन सडक कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सडक अहिलेसम्म कुनै कामै नगरी निर्माण कम्पनी फरार भएको छ । कोशी राजमार्गको चित्रे वसन्तपुर गांडेपात्ले खण्डको मर्मत सम्भारको जिम्मा लिएको काठमाडौंको वाईपी कन्ट्रक्सन काम नसकी छोडेर भागेको हो ।

यो सडकखण्डको विभिन्न स्थानमा मर्मत संभार, कालोपत्रे, ड्रेन निर्माण, सोलीङ, ग्राभेललगायतका काम गर्ने गरी १ करोड ८३ लाख रुपैंयाँको लागतमा ठेक्का सम्झौता गरेको कम्पनी काम पूरा नगरी बीचमा छोडेर भागेको डिभिजन सडक कार्यालय धनकुटाका प्रमुख विष्णुप्रसाद काफ्लेले बताए ।

निर्माण कम्पनी बीचैमा काम छोडेर भागेपछि सडक हिलो भएर तेह्रथुम र संखुवासभाको यातायात सम्पर्क विच्छेद भएको छ । पूर्वी तराईबाट आएका सवारी यही सडक भएर तेह्रथुम सदरमुकाम म्याङलुङ र संखुवासभाको चैनपुर र खांदवारी तर्फ जाने सवारी वसन्तपुर भन्दा अगाडी बढ्न सकेका छैनन् ।

निर्माण कम्पनीले चित्रे, दारेगौंडा, वसन्तपुर वजार, भुल्केधारा, गांडेपात्ले, वसन्तपुर खेल मैदान माथिको सडक लगायतका स्थानका सडकमा गरेको कालोपत्रे समेत तीन महिना नपुग्दै भत्किएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com