प्रधानमन्त्रीको क्षमा याचना


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

दाजुभाइ तथा दिदीबैनीहरू,
जय नेपाल ।

भन्देखिनलाई अरूले त हनिमुन मनाउँन पाउँछन् । मैले त महिना दिन नबित्दै विवाद, आलोचना र व्यंग्य पात्र बन्नुपरेकोमा अन्त्यन्तै झ्वाँक चलेको छ । मैले झ्वाँक भन्न खोजेको हो, फेरि च्वाँक सुन्नुहोला नि ! किन त भनेर भन्दाखेरि न भन्ने साझा सवाल, गर्ने व्यक्तिगत सवाल ! यस्तोमा तपाईंलाई झ्वाँक चल्छ कि चल्दैन ?

म सबै दाजुभाइलाई भन्न चाहन्छु, यस्ता मसिना कुरा बिर्सनुपर्छ । किनभने योभन्दा कडा कुरा आउनै बाँकी छ । सामान्य भनाभनलाई त यत्रो ठूलो बनाएको छ, झन् कुटाकुट नै भयो भने कस्तो–कस्तो प्रतिक्रिया आउला ? त्यो बेलाका लागि पनि शब्दहरू सञ्चित राख्नुपर्छ । त्यसैले साझा सवालको प्रसंगलाई यहीं रोक्न अनुरोध गर्छु ।

यसै पनि ग्लोबल वार्मिङले विश्व तातिरहेको छ । त्यसको असर पर्ने नै भयो । त्यसमाथि चुनावको नतिजाले सेल्फ वार्मिङ बढिरहेको छ । सोर्स फोर्सको वार्मिङले फेमिली वार्मिङ भएको भयै छ । यस्तो बेला अक्सफोर्डको कुरा झिक्दा मान्छे तातिंदैन त ? त्यसैले जे भयो, त्यसलाई यही अन्त्य गर्नोस् ।
गत साता साझा सवाल नामको कार्यक्रममा भन्देखिनलाई जे घटना भयो, त्यो अन्यन्तै दु:खद छ । त्यही दु:खद् कार्यक्रम अप्रत्याशित रूपमा चर्चित पनि हुन पुग्यो । मलाई पनि झनक्क रिसाउने इच्छा त थिएन, तर रिस भन्ने कुरा आफ्नो वशमा नहुँदो रहेछ, फ्याट्टै रिसाइहालिएछ ।

बिहान आरजुसँग पनि भन्देखिनलाई सामान्य ठाकठुक परेको थियो । साझा सवालमा मलाई जाने रहर पनि थिएन, कर पनि थिएन तर क–कसले जाँदा राम्रो हुन्छ भने । आरजुले जानैपर्छ भनिन्, गएँ । अघिल्लो बेलुका अलि लामो समयसम्म बसिएछ । भो भन्दा पनि थपेको थप्यै गरिन् । बेलुकाको ह्याङ पनि थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा त्यो भाइले अलि बड्ता नै बोल्या हो हुनलाई । मैले पनि अलि कम बोल्द्या भए हुन्थ्यो । दुवै जना सिंह राशिको परिएछ, परिहाल्यो । त्यो केटाको अनुहार पनि, के नाम रे त्यसको ? ढकाल । मान्छे त काल नै रहेछ । अक्सफोर्ड र क्याम्ब्रिजको कुरा गर्न थाल्यो । लन्डन बस्दा एकपटक घुम्न गएको थिएँ, त्यही याद आएर झनक्क झन्किइहालेछु ।

यो कस्तो भयो भने, अरूलाई ओरालो लाग्दा मृगले लखेट्छ, मलाई मिडियाले लखेटेको पनि हो । किन भन्देखिनलाई जसलाई बोल्न अप्ठेरो हुन्छ त्यसैलाई किन बोलाउनु ? मेरो साटो आरजु गएकी भए पनि हुन्थ्यो । उनी पनि छायाँ प्रधानमन्त्री हुन् । सल्लाहकारले कस्तो सल्लाह दिएका हुन्, यसमा घोर ग्रान्ड डिजाइन देख्छु ।

सामाजिक सञ्जालमा गाली गरिरा’छ । मैले त त्यो एउटालाई मात्र गाली गरेको हो । कुन काल रे ?
सल्लाहकार : ढकाल हजुर ।
अँ, ढकाल । मेरो एउटा साथी थियो, ढकाल । उसलाई सबैले चौथो काल भन्थे । चौथो काल किन भने पहिलो भूतकाल, दोस्रो भविष्यत्काल, तेस्रो वर्तमान काल, चौथो ढकाल । ढकालबाट जोगिनु भन्थे, जोगिनै पाइएन ।

प्रधानमन्त्रीको बोली भएन भन्ने कुरो पनि आएको छ भन्देखिन्लाई । मसँग भएको बोली यही हो । अर्को कहाँबाट ल्याउनु बोली ? ऊ केपी ओलीको बोली मैलाको जस्तो छ । प्रचण्डको सफाको जस्तो छ । बाबुरामको बच्चाको जस्तो छ, माधवको माउको जस्तो छ । सबै जनाको एउटै स्वर भयो भने त
हुँदै भएन नि ।

प्रधान न्यायाधीशको विषयमा प्रस्ट जवाफ आएन भन्ने कुरो छ । यही क्षमा कार्यक्रममार्फत् प्रस्ट पार्न चाहन्छु, तिमी काले म पनि काले, काले–काले मिलेर खाऊँ भाले भएकै हो । देशले पढेका प्रधानमन्त्री कहिले पाउँछ भन्ने प्रश्नमा जहिले पढेका जनता मतदाता भएर आउँछन्, त्यही दिन देशले पढेका प्रधानमन्त्री पाउँछ ।

अरू कुरो मलाई थाहा छैन । थाहा भए पनि भन्न मिल्दैन । मिले पनि भन्दिनँ । जबर्जस्ती गर्न पाइन्छ ? सामाजिक सञ्जालमा तपाईंहरू बढ्ता हुँदै हुनुहुन्छ । मलाई थाहा छैन र ? तपाईंहरू निहुँ खोज्दै हुनुहुन्छ । खुरुक्क क्षमा दिनोस्, हैन भने मैले पनि जानेको छ- जय नेपाल ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com