विराटनगर महानगरमा कांग्रेसको जित सुनिश्चित


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- दोस्रो चरणको स्थानीय तह निर्वाचनमा रहेको एकमात्र महानगरपालिका विराटनगरको प्रमुख र उपप्रमुखमा कांग्रेसको जित सुनिश्चित भएको छ । प्रमुखमा कांग्रेसका भीम पराजुलीले ५ हजार ३ सय १६ मतको अग्रताका साथ हालसम्ममा १९ हजार १ सय ५१ मत प्राप्त गरेको छ । प्रमुखमा उनको निकटतम एमालेका विनोद ढकालले १३ हजार ८ सय ३५ र संघीय समाजवादीका उमेश यादव १२ हजार ६ सय ७७ मतका साथ तेस्रो स्थानमा छन् ।

यस्तै उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीको जित सुनिश्चित नै भएको छ । कार्कीले ६ हजार ६ सय ३७ मतको अग्रताका साथ अहिलेसम्ममा १६ हजार ६ सय ७० मत प्राप्त गरेकी हुन् । उनको निकटतम माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ र फोरम लोकतान्त्रिककी सूची चौधरीले ८ हजार ५ सय ७० मत प्राप्त गरेका हुन् । एमाले र फोरम लोकतान्त्रिक र संघीय समाजवादी र माओवादी केन्द्रको गठबन्धन रहेको थियो ।

१९ वटा वडा रहेको महानगरको वडा १०, ११ र १२ को १३ हजार ५ सय ३८ मत गन्ती गर्न मात्रै बाँकी रहेको मुख्य निर्वाचन अधिकृत बिनोदकुमार पोख्रेलले बताए । हालसम्ममा वडा १, २, ३, ४, ५, ६, ७, ८, ९, १३, १४, १५, १६, १७, १८ र १९ को कूल ६६ हजार ९ सय ३९ मत गन्ति भइसकेको उनले बताए । उनले वडा १२ को मतगणना अन्तिम चरणमा पुगेको छ भने वडा ११ को आधाभन्दा बढी मत गन्ती भइसकेको र वडा १० को २ वटा मत पेटिका खोलेर गन्ति सुरु गरिएको बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com