कांग्रेसले ल्याएको रिजल्टले अचम्मित छु: ओली


प्रकाशित मिति : असार २४, २०७४ शनिबार

असार २४, २०७४- एमाले अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा कांग्रेसले ल्याएको रिजल्टबाट आफू अचम्मित भएको बताएका छन् ।

विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘आफू आश्चार्यमा परेको छु अहिलेको समयमा त्यस्तो खस्किदो अवस्थामा रहेको कांग्रेसले कसरी त्यति धेरै ठाउमा जित्यो ।’ आफूहरुले जनतालाई राम्ररी बुझाउन नसकेकोले नै कांग्रेसले यति धेरै सिट जितेको उनले बताए । दोस्रो चरणको निर्वाचनमा धनकुटा बाहेकको जिल्लाको परिणामबाट आफू सन्तुष्ट नभएको उनले बताए ।

जनतालाई आफ्नो कुरा बुझाउन नसक्नुृ र दुस्प्रचार र दुस्प्रभावलाई रोक्न नसकेर आफूले सोचे जस्तो सिट एमालेले जित्न नसकेको उनको भनाइ थियो । उनले अब तेस्रो चरणमा २ नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा एमालेले ५० प्रतिशत भन्दा बढी तहमा जित्ने दाबी गरे । तर उनले पहिलो र दोस्रो चरणको निर्वाचनमा गरेको आंकलन असफल हुँदै आएको पाइयो ।

मुलुकको  हित विपरीत ल्याएको संविधान संशोधनको प्रस्ताव कुनै पनि हालतमा एमालेलाई मान्य नहुने उनले वताए । प्रतिपक्षसँग कुनै सल्लाह समेत नगरी सत्तापक्षले जबर्जस्ती ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव स्विकार्य नहुने उनको भनाइ थियो ।

‘अहिलेको संबिधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्छ अनि के के संशोधन हुनुपर्छ किन हुनुपर्छ त्यो छलफल गरेर मात्रै अगाडि बढनु पर्छ,’ उनले भने, ‘सत्तापक्षले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मात्र संविधान संशोधन गर्ने सहमति विपरीत यही महिनामा संशोधन गर्ने भनिरहेको छ । आफूले पनि हेर्छु कसरी कांग्रेस र माओवादी केन्द्रले यो महिनामा संशोधन गर्छ ।’ उनले यो महिनामा संविधान संशोधन नहुने दावी गरे ।

ओलीले सरकार, सत्तापक्ष गठबन्धनले प्रदेश र केन्द्रको निर्वाचन गराउने पक्षमा नरहेको आरोप लगाए । उनले प्रतिनिधिसभाको आयु थप गर्ने कुरा कल्पना समेत गर्न नसकिने भन्दै कुनै कुरामा नअल्झि आगामी माघ ७ गते भित्र वाकी सवै निर्वाचन सम्पन्न गर्नेतर्फ दलहरु लाग्नुपर्ने वताए । उनले आफूहरु पहिलेदेखि नै मधेसवादी दलसँग नजिक हुन खोजेको तर अहिले बल्ल त्यो भइरहेको स्विकारे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com