निर्माणाधिन जलविद्युत बगायो, ३० करोडको क्षति


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- बाढीपहिरोले लमजुङ र कास्की सीमा रुदी नदीमा निर्माणाधिन दुइवटा जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ ।

८ दशमलब ८ मेगावाटको रुदी ‘ए’ र ६ दशमलब ६ मेगावाटको रुदी ‘बी’ साना जलविद्युत आयोजनामा क्षति पुर्‍याएको हो । विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले निर्माण गर्दै गरेको आयोजना १५ दशमलब ४ मेगावाटको हो ।

अबिरल बर्षासंगै आएको बाढीपहिरोले आयोजनाको निर्माणाधिन बाँध, बाँधमा प्रयोग भएका सामग्री बगाउनुका साथै विद्युत गृहमा क्षति पुर्‍याएको छ । बाढीले अस्थायी बाँध भत्काएर निर्माण हुँदै गरेको स्थायी बाँध भत्काएको हो । आयोजना प्रमुख सरोज भट्टराईका अनुसार गत शुक्रबार (असार १६) गतेदेखिको निरन्तर बाढीपहिरोले आयोजनामा क्षति पुगेको हो । उनका अनुसार जलविद्युत निर्माणका लागि आयोजनाले बनाएको (मुङ्ग्रीबेंसी–सिङदी) सडक २५ ठाउँमा पहिरो गएको छ ।

रामबजार–मुङ्ग्रीबेंसी सडक खण्डको कल्याङबेंसी नजिकै एक्वार भन्ने ठाउँमा मादीले १ सय मिटर कटान गर्दा सवारी आवागमन ठप्प छ । स्थानीय हिँड्ने बाटो समेत अवरुद्ध भएको छ । मादी र रुदी दोभानको पूल पनि बगाएको छ । आयोजनाको निर्माणकार्य बन्द छ ।

आगामी असोजसम्म निर्माण सक्ने लक्ष्य लिएको रुदी ‘ए’ आयोजना ८० प्रतिशत सकिएको थियो । रुदी ‘बी’ ३० प्रतिशत सकिएको थियो । अहिले आयोजना निर्माणस्थलमा जाने बाटो समेत बगाएको भट्टराइले बताए । उक्त बाटो मर्मत गर्न १ महिना लाग्ने उनले बताए । आयोजना निर्माणस्थलसम्म पुग्न थप १ साता लाग्छ । दुइवटा आयोजना बाढीपहिरोले भत्काउँदा ३० करोड रुपैयाँ बराबरको क्षति पुगेको आयोजनाले दावी गरेको छ । गतबर्षपनि पहिरोले आयोजनामा क्षति पुर्‍याएको थियो । ‘संरचनामा क्षति पुग्दा ३० करोड क्षति पुग्ने देखियो । बाटो र भत्काएका संरचना बनाउँदा ६ देखि ७ महिनासम्म लाग्ने देखियो’ उनले भने ।

आयोजनालाई घाटैघाटा
आयोजनाका अनुसार बाढीपहिरोले क्षति पुर्‍याउँदा गतबर्ष १ करोड रुपैयाँ बराबरको क्षति भयो । ०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्प, त्यसपछिको नाकाबन्दीले आयोजना निर्माणमा ढिलाई हुनुका साथै आर्थिक भार थपियो । ‘त्यतिबेला असारमै सक्ने आयोजना भूकम्प र नाकाबन्दीले ढिलाई भयो । गतबर्ष असोजमा सक्ने योजना बनायौं । भदौमा बाढीपहिरो आयो । अहिले फेरि असोजसम्म सक्ने योजना थियो । फेरि बाढीपहिरोले समस्या बनायो’ उनले भने ।

रुदी ‘ए’आयोजना लमजुङको क्व्होलासोंथर ५, सिङदीबेसीमा बाँध बाँधेर कास्कीको मादी गाउँपालिकास्थित रबैडाँडा हुँदै ६ किलोमिटर पेनस्टक पाइपमार्फत पानी ल्याएर बालुवाबेंसीमा निर्माण हुने गृहबाट विद्युत उत्पादन गरिने छ । उक्त आयोजना १ अर्ब ३६ करोड २० लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको हो । रुदी ‘ए’ संगै प्रवर्धक कम्पनीले रुदी ‘बी’ साना जलविद्युत आयोजनाको पनि निर्माण थालेको हो । सिङदी नजिकैको टोंगो खोला दोभानमा बाँध बाँधेर सिङदीबेंसीमा निर्माण गरिने गृहमा पानी खसालेर विद्युत उत्पादन गरिने उनले बताए । पानी ल्याउन साँढे ३ किलोमीटर लामो पेनस्टक पाइप प्रयोग गरिने छ । उक्त आयोजना १ अर्ब ३ करोड रुपैयाँमा निर्माण हुन लागेको हो । ‘भूकम्प, नाकाबन्दी, बाढीपहिरोले लागत पनि बढाएको छ । यति नै बढ्यो भनेर अहिले भन्ने अवस्था छैन’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com