जोखिमयुक्त काममा महिला सक्रियता


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

आम्दानी पनि मनग्गे हुने भएपछि विद्युत् वाइरिङलाई पेसा बनाए
बिजुलीको काम खतरा र चुनौतीपूर्ण दुवै हो । सीप जानिसकेपछि भने यो पेसाबाट मनग्ये आम्दानी लिन सकिन्छ । यही सम्झिएर होला झाँगाझोली रातमाटाका झन्डै दर्जन महिलाले यस्तै जोखिमपूर्ण व्यवसाय रोजेका छन् । विद्युत् वाइरिङको तालिम पाएपछि उनीहरू व्यावसायिक र रोजगारमुखी दुवै भएका छन् ।
स्थानीय तहअन्तर्गत सुनकोसी गाउँपालिका झाँगाझोली क्षेत्रमा विद्युत् प्रसारण लाइन पुगेको पनि धेरै भएको छैन । त्यसले गर्दा पनि उनीहरूको रोजगारीलाई बल पुगेको छ । अझ भन्ने हो भने विनाशकारी भूकम्पमा परेका घर धमाधम नयाँ बन्न थालेका छन्, त्यसमा विद्युतको काम धेरै हुनाले उनीहरूको रोजगारी सुरक्षित बन्दै गएको छ ।
१० जनाले तालिम लिएर अहिले दैनिक वायरिङदेखि लिएर विद्युत्का अन्य काम गर्दै आएका छन् । तालिम लिएपछि अलि बढी मिहिनेत परे पनि होसियारीपूर्वक काम गर्दा आम्दानी राम्रो भएको विपना श्रेष्ठको अनुभव छ । ‘हामीले काम थालेको धेरै भएको छैन, तर कामको खाँचो पनि छैन,’ उनले थपिन् । महिलाबाट विद्युत्को काम के हुन्छ भन्नेलाई उनीहरूले चुनौती दिएका छन् । सुरुसुरुमा त काममा लगाउन पनि आनाकानी गर्थे तर मिहिनेतपूर्वक गरेको देखेपछि ग्राहक आफैं बोलाउन आउने गरेको अर्की विपनाले बताइन् ।
काम सानोठूलो हुँदैन तर मिहिनेत भने गर्नुपर्छ, तालिम लिँदै आँटिलो भएर काम गर्न सक्छौं भन्ने दृढ विश्वाससाथ हामी होमिएका थियौं, त्यसको फल प्राप्त भएको तालिमे १० मध्येकी रेणुका गिरीले सुनाइन् ।
काम भएको समयमा दैनिक हजारदेखि १५ सय रुपैयाँसम्म कमाइ हुने उनीहरूले जनाए । विद्युत्को काम सँगसँगै इलोक्ट्रोनिक्स पसल खोल्ने योजनासमेत उनीहरूले सुनाए । ‘पुँजी जुटाएर हामीमध्ये केहीले निकट भविष्यमा पसलसमेत खोल्ने योजना बनाएका छौं,’ अर्की देवयानी शाहीले जनाइन् ।
सुनकोसी गाउँपालिकाको प्रमुखमा दीपा बोहोरा महिला नै निर्वाचित भएकाले उनीहरूसँग भएको सीपले बेरोजगार बन्नु नपर्नेमा ढुक्क छन् । ‘महिला विशेष तालिम र रोजगारीका कुरा गरेकै महिला गाउँपालिका प्रमुख भएकाले बेरोजगार भएर बस्नु पर्दैन भन्नेमा आशावादी छौं,’ इलेक्ट्रिसियन श्रेष्ठले भनिन् ।
महिला सशक्तीकरणलाई मूल मुद्दा बनाएकाले तालिम प्राप्त प्राविधिकले बेरोजगार बस्नु नपर्ने गाउँपालिका प्रमुख बोहोराको भनाइ छ । दैनिक रोगारीका लागि उनीहरू सबैलाई सहयोगी संस्था सिड्सले चाहिने सामग्री सहयोग गरेको छ ।
उनीहरू त्यही औजार लिएर काम गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com