नेपाली अधिकृतको शिक्षामा जापानले वार्षिक २५ करोड खर्च गर्ने


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- दातृ मुलुक जापानले नेपाली कर्मचारी (अधिकृत) हरुलाई अब्बल बनाउन उच्च शिक्षाको लागि वार्षिक साढे २५ करोड खर्च गर्ने भएको छ । कर्मचारीको स्तर उन्नती र अन्तराष्ट्रिय सम्वन्ध विस्तारको लागि बार्षिक २० जनालाई जापानले उच्च शिक्षा प्रदान गर्ने भएको हो । सामाजिक, राजनीतिक शिक्षामा स्नाकोत्तरको अवसर प्रदान गर्ने भएको हो । कर्मचारी भित्रबाटै प्रतिशपर्दा गरेर उक्त शिक्षाका लागि छनौट गरिने समेत उल्लेख छ ।

जापानी राजदूत मसासी ओगवा र अर्थ सचिव शान्तराज सुवेदीले उक्त सहयोग सम्वन्धी सम्झौतामा शुक्रबार अर्थमन्त्रालयमा हस्ताक्षर गरेका हुन । उक्त हस्ताक्षर पछि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाईका)को नेपाल प्रमुख जुन साकुमा र अर्थमन्त्रालयको अन्तराष्ट्रिय सहायता तथा समन्वय विभाग प्रमुख बैकुण्ठ अर्याल बीच पत्र साटासाट भएको छ ।

मानव संशाधन विकास (जेडीएस) अन्तरगत जापानले नेपाललाई सहयोग गर्ने भएको हो । जेडिएस मार्फत मित्र मुलुकहरुका कर्मचारीलाई विज्ञ बनाउने र काममा थप दक्ष बनाउने प्रयास अनुरुप अघि बढेको हो । यसले विश्वब्यापीकरणको सँगै कर्मचारी स्तरको सहकार्य र सम्पर्क समेत बृद्धि हुने धारणा जापानको छ । नेपाल र जापान बीचको सुमधुर सम्वन्धलाई अझ बलियो बनाउदै अघि बढ्ने प्रयास अनुरुपको यो अर्को सानो पाइला भएको राजदूत मसासीले विहिबार नै पत्रकार सम्मेलन गरेर बताएका थिए । अन्य सेक्टरमा पनि हामीले यस प्रकारको अवसरहरु उपलब्ध गराउदै आएका छौ । प्रभावकारी र आकांक्षा बढेमा यसलाई अझ बृद्धि गर्दै जान सकिने समेत उनले स्पष्ट पारे ।

सन २०१६ मा आठ विश्व विद्यालयका लागि २० जना छनौट भइसकेर अध्ययन रत रहेको र सन २०१७ को लागि थप २० जनाको प्रक्रिया अघि बढेको समेत जनाइएको छ । जापानले नेपालको विकासलाई टेवा मिल्ने विभिन्न  क्षेत्रमा सहयोग गर्दै आएको छ । त्यही सहयोग अनुरुपको यो अर्को प्रयास भएको जाइका को नेपाल प्रमुख साकुमाले बताए ।  जापानको उक्त सहयोगले नेपाली अधिकृतको शिक्षामा लगाव र प्रतिशपर्दा बढ्ने सुवेदीले जानकारी दिए । उक्त कार्यक्रममा जापान र नेपालको सम्बन्ध एवं सहयोगबारे पनि छलफल भएको थियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com