चार किमि पार गर्न दुई घण्टा


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

उपत्यकाका सडक

जाम व्यवस्थापन गर्न नसकेको भन्दै कोटेश्वर ट्राफिकको टोली नै परिवर्तन गरियो

असार २३, २०७४- भक्तपुर नगरपालिका ग:पलीकी रश्मि लामा महिना दिनअघि सडक दुर्घटनामा घाइते भइन् । १५ दिन वीर अस्पतालस्थित ट्रमा सेन्टरमा भर्ना भई उपचार गरेर फर्किएकी रश्मि नियमित चेकजाँचका लागि अस्पताल जानुपर्ने थियो । उनी बिहीबार दिउँसो साढे २ बजे सूर्यविनायकबाट बस चढिन् । ‘४ बजे अस्पताल पुग्नुपर्नेमा ढिला भइसक्यो,’ साँझ ५ बजे कोटेश्वरमा भेटिएकी रश्मिले आत्तिँदै भनिन्, ‘समयमै नपुगे डाक्टर भेटिँदैनन्, एक घण्टा ढिला भइसक्यो ।’ मध्यपुर थिमि गठ्ठाघरदेखि कोटेश्वरसम्मको करिब ४ किलोमिटर सडक पार गर्न उनलाई झन्डै २ घण्टा लाग्यो ।
समयमै गन्तव्य पुग्ने योजना बनाएर निस्किएका अरू यात्रुहरू पनि बसमा दिक्क मानिरहेका थिए । कोही अस्पताल, कोही रात्रिकालीन कलेज त कोही ड्युटी सकाएर घर फर्किन बस चढेका यात्रुहरू कोटेश्वरको जामका कारण दिक्क छन् । एक सातायता अप्रत्याशित रूपमा जाम बढेको सार्वजनिक बसका चालक राजन काफ्लेले बताए ।
राजधानीको पूर्वी भेग जाने कोटेश्वर–लोकन्थली सडकमा सधैंजसो ट्राफिक जाम हुने गरेको छ । कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार हुँदै गठ्ठाघर चोकसम्मको करिब चार किलोमिटर सडकमा दिनहुँ घण्टौं जाम हुने गरेको छ । यो दूरी पार गर्न २ देखि साढे २ घण्टाभन्दा बढी समय लाग्ने गरेको छ । बिहान साढे ९ देखि ११ बजे र साँझको कार्यालय समयमा त यात्रुले सास्ती खेप्नुपरेको छँदै छ । सूर्यविनायक–तीनकुने ६ लेन सडक विस्तार हुनुअघि कोटेश्वर–भक्तपुर सडकमा यस्तै जाम हुने गथ्र्याे । सडक विस्तारपछि जाम करिब शून्य प्राय: थियो ।
मुग्लिन–नारायणघाट सडक अवरुद्ध भएपछि सिन्धुली–बर्दिबास हुँदै आउने गाडीका कारण सडक जामको समस्या सुरु भएको हो । पूर्वी भेगका झापासम्मका सवारी साधन सूर्यविनायक, बनेपा हुँदै सिन्धुली–बर्दिबास सडकमा चल्न थालेपछि पनि धेरै जाम भएको जानकारहरू बताउँछन् । ‘सडकको दूरी कम र समयको सदुपयोगका लागि सिन्धुली हुँदै जाने र आउने यात्रु बढी छन्,’ झापा दमकका रामजी दाहालले भने, ‘मुग्लिन–नारायणगढ सडकमा देखिएका समस्याका कारण यात्रु यतैबाट आउन र जान रुचाउँछन् ।’
कोटेश्वरबाट पूर्व चल्ने लामो रुटका सवारी महानगरीय ट्राफिक प्रहरी वृत्त कोटेश्वर अगाडि रोक्ने र छोटो रुटको लोकल सवारी जडिबुटी पम्पमा रोकेर यात्रु चढाउने र ओह्राल्ने गर्दा जाम हुने गरेको छ । त्यस्तै जडीबुटीबाट लगनखेलतर्फ जाने लेनमा तीनकुनेतर्फ आउने सवारी गुड्ने भएकाले पनि जाम भएको हो । यसको व्यवस्थापन कोटेश्वर ट्राफिक प्रहरीले गर्न सकेको छैन ।
सडकमा ट्राफिक लाइट व्यवस्थित छैन । कोटेश्वरबाट जडिबुटी हुँदै लोकन्थलीतर्फ जाने क्रममा जामको समस्या छैन । तर, लोकन्थलीबाट कोटेश्वरतर्फ आउने क्रममा जाम हुने गरेको छ । ‘६ लेन सडक बनेयता कार्यालय समयमा मात्रै जडीबुटीबाट कोटेश्वरसम्म थोरै जाम हुन्थ्यो,’ कौशलटारकी रजनी श्रेष्ठले भनिन् । ‘केही दिनदेखि कौशलटारबाटै जाम हुन थालेको छ ।’ कौशलटारबाट कोटेश्वर आउन डेढ घण्टा लागेको उनले बताइन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने कोटेश्वरको जाम व्यवस्थापन गर्न नसकेको भन्दै कोटेश्वर ट्राफिक वृत्त प्रमुख प्रहरी निरीक्षक भगीरथ रेग्मीलगायत ४३ ट्राफिक प्रहरीलाई हटाएर अर्को टोली पठाएको जनाएको छ । ‘कोटेश्वरको ट्राफिक व्यवस्थापनका लागि सई राजु भण्डारीको नेतृत्वमा अर्को टोली खटाइएको छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी मिङ्मार लामाले भने, ‘ट्राफिक जाम हटाउने कोसिस भइरहेको छ ।’
काठमाडांै उपत्यकामा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चाप, साँघुरा सडक, सवारी नियम तथा ट्राफिक संकेतसम्बन्धी सडक प्रयोगकर्तामा रहेको ज्ञानको कमीले ट्राफिक जाम बढेको दाबी महानगरीय ट्राफिक प्रहरीको छ । ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्तिका कारण ट्राफिक व्यवस्थापनमा समस्या आएको डीआईजी लामाले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com