मणिका फोटाहरुको प्रदर्शनी


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- अहिले जमानै रंगीनको छ । अरू त अरू, कतिपय मानिसको कपालसम्म रंगीन हुन थालिसकेको छ । तर पाटनको क्वालखु टोलमा रहेको यल मण्डला क्याफेको दुईतले भवनका भित्ताहरू भने ब्ल्याक एन्ड हाइट फोटाहरूले सजिएका छन् ।

उक्त क्याफेमा सोमबारदेखि अनुभवी फोटोग्राफर मणि लामाले दशकौंपहिले खिचेका फोटाहरूको प्रदर्शनी सुरु भएको छ ।

लामालाई ‘ब्ल्याक एन्ड ह्वाइट कलर नै बलियो कलर हो भन्ने’ लाग्छ । उनले भने, ‘अरू कलरहरू १०–१५ वर्षमै उडेर जान्छन् । तर व्ल्याक एन्ड ह्वाइट फोटाको रंग तुलनात्मक रूपमा हत्तपत्त उड्दैन ।’

प्रदर्शनीमा लामाले तीन दशकअघिदेखि खिचेका ३० फोटा छन् । उनले खिचेका ब्ल्याक एन्ड ह्वाइट फोटाहरूले तत्कालीन रंगीन समाजको चित्रण गरेका छन् । प्रत्येक फोटोले एउटा कथा बताइरहे जस्तो लागेको प्रदर्शनी हेर्न इमाडोलबाट आएका प्रसन्न राणाले बताए । फोहोर र हिलो बाटो हिँडेर प्रदर्शनीमा आइपुगेका उनले फोटाहरू देखेपछि आँखालाई आराम मिलेको सुनाए । हस्पिटालिटी म्यानेजमेन्ट पढ्दै गरेका उनको नजर फोटोभित्रको सफा बाटो, सुन्दरतापट्टि गएछ । भने, ‘पुरानो समय सफा, शान्त र सरल रहेछ । अहिले उपत्यकाभित्र बसेर यस्तो सफा, शान्त र सरल ठाउँ भेट्टाउनै गाह्रो परिसक्यो ।’

लामाको बाल्यकालदेखि नै फोटोग्राफीमा रुचि थियो । उनले क्यामेरामा रिल राखेर ब्ल्याक एन्ड ह्वाइटमै फोटो खिच्न सुरु गरेका थिए । अमेरिकाको कोलोराडोबाट कृषिमा डिग्री सकेर आएका उनले नेपालमा भने जस्तो काम पाएनन् । कोलोराडोमा पढ्ने क्रममा आधारभूत फोटोग्राफी र आधुनिक प्रोसेसिङबारे ज्ञान पनि लिएका थिए उनले । काम नपाएका बेला साथीहरूका क्यामेराबाट फोटो खिच्दै धुलाएर संग्रह गर्नपट्टि लागे । उनले पोस्टकार्डको बिजनेस पनि गरे, तर सफल हुन सकेनन् । हरेस खाएनन्, निरन्तर लागिरहे ।

‘म अमेरिका गएर सेटल हुन सक्थेँ, तर संसारभरका मान्छे नेपालमा फोटो खिच्न आउँछन्,’ उनले भने, ‘म यहींको मान्छे किन विदेश जानु भन्ने लाग्यो ।

नेपालमा फोटो खिच्नका लागि पर्याप्त ठाउँ छन् ।’

उनले धेरैपटक आफूले खिचेका फोटाहरूको प्रदर्शनी गरेका छन् । २०१६ सेप्टेम्बरमा उनले पर्यटन बोर्डमा प्रदर्शनी गरेका थिए । हालै काठमाडौं ट्रियनालेमा समेत उनका फोटाहरू थिए । ‘त्यहाँ राम्रो प्रतिक्रिया पाएपछि यसपालि पाटन आएको हुँ,’ उनले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com