तीन बालबालिकाको सामूहिक हत्या रहस्यमै


प्रकाशित मिति : असार २३, २०७४ शुक्रबार

असार २३, २०७४- अरुण गाउँपालिका १ प्याउली मरेङडाँडाका ३ बालबालिकाको एकै ठाउँ भएको हत्या अझै रहस्यमै छ । करिब दुई सातासम्म पनि घटनाको भित्री पाटो पहिल्याउन र दोषी पहिचान गर्न नसकिएपछि स्थानीय जनजीवन भयभीत बन्दै गएको छ ।

असार १० गते साँझ अचानक हराएका अरुण ३ का १६ वर्षीय रञ्जीव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदीप फुयाल असार १२ गते बिहान साढे ७ बजे स्थानीय तोरन कार्कीको माछापोखरीमा डुबेको अवस्थामा मृत फेला परेका थिए । सुष्मा र प्रदीप दिदीभाइ हुन् । रञ्जीव उनीहरूका छिमेकी हुन् ।

शव फेला परेको माछापोखरी उनीहरूको घरबाट डेढ सय मिटरजति दूरीमा पर्छ । पूर्वाञ्चल क्षेत्रीय प्रहरीकै सक्रियतामा अनुसन्धान जारी रहे पनि निचोडमा पुग्न नसकिएको प्रहरीले जनाएको छ । विरलै देखिने आपराधिक घटना भोगेको प्याउली बजार र आसपासका बासिन्दा शोकमा डुबेका छन् । परिवार र आफन्तका आँसु अझै ओबाएका छैनन् । उनीहरूमा उत्तिकै त्रास पनि छ ।
रञ्जीव रवीन्द्र सापकोटाका तीन सन्तानमध्ये कान्छा हुन् । सुष्मा र प्रदीप चेतनाथ फुयालका तीन सन्तानमध्ये दुई हुन् । जोडिएका दुवै घरमा ३ जनाको काजकिरिया भइरहेको छ ।
‘काजकिरियाको एघारौं दिन भइसक्यो, घटनाको अत्तोपत्तो छैन, दोषी पत्ता लाउन सकेका छैनन्,’ रवीन्द्र सापकोटाले भावविहवल हुँदै भने, ‘छोरो त कहिल्यै नफर्किने गरी चुँडियो, न्याय पाउने आशा पनि टुटेजस्तै लाग्न थालेको छ ।’ रञ्जीवकी आमा ३८ वर्षीया सीता सापकोटाका आँसु अझै थामिएका छैनन् । ७२ वर्षकी हजुरआमा कौशिला सापकोटा १२ वर्षदेखि ओछ्यानमा थलिएकी छन् । नातिको हत्या भएको सुनेदेखि मूर्छा परेकी उनी होसमा आउन सकेकी छैनन् ।

कलकलाउँदा सन्तानको हत्या गरिएदेखि छिमेकी दुवै घरमा रुवाबासी छ । अनुसन्धानले हत्यारा पत्ता लाउन नसकेपछि अरुण गाउँपालिकावासी जीवन सुरक्षाका लागि हारगुहार गरिरहेका छन् । ‘मर्ने त मरेर गए, बाँच्नेका आँसु थामिएनन्, बाँच्न पनि गाह्रो भइसक्यो,’ सुष्मा र प्रदीपकी ३४ वर्षीया आमा निर्मला फुयालले डाँको छोडेर भनिन्, ‘अपराधीहरूले छोराछोरी सखाप पारीकन छाडे, चाँडै न्याय दिलाइयोस् ।’ बाँच्न सुरक्षाको ग्यारेन्टी हुनुपर्ने उनको माग छ ।

स्थानीय बासिन्दाका अनुसार द्वन्द्वकालमा समेत यहाँ सर्वसाधारणलाई सुरक्षाको समस्या थिएन । ७ सुरक्षाकर्मीले इलाका प्रहरी धान्दै आएका थिए । स्थानीय तह निर्वाचनताका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र र म्यादी गरी डेढ सयभन्दा बढी सुरक्षाकर्मी गाउँमा परिचालन भएका बेला शंकास्पद ढंगले जघन्य घटना भएपछि आतंक मच्चिएको छ ।

उनीहरूको घरनजिकै रेडक्रस भवनमा चुनावका लागि खटिएको नेपाली सेनाको सुरक्षा टोली बसेको थियो । प्रत्यक्षदर्शीका अनुसार हराएको साँझ रञ्जीव र प्रदीप खेल्दै त्यही आसपास निस्किएका थिए । त्यसपछि एकाएक हराए । सुष्मालाई सिरकको खोल लगाउँदै घरैमा खाना पकाउन बाबुआमाले अह्राएका थिए । उनी पनि अचानक बेपत्ता भइन् । खोजबिन गर्दा उनीहरू भेटिएनन् । तेस्रो दिन पोखरीमा एकै ठाउँ डुबेको अवस्थामा मृत फेला परेका थिए । यो घटना राज्यका लागि चुनौती भएको भन्दै दोषी चाँडो पत्ता लगाई कारबाही गर्न स्थानीय रुद्रकुमार खत्रीले माग गरे । ‘त्रासैत्रास छ, साँझ परेपछि घरबाहिर कोही निस्कँदैनौं, ढोका थुनेर बस्छौं, मेलापात जाँदा केटाकेटी साथै लिएर जान्छौं,’ उनले भने, ‘बसोबासका लागि एकदमै डरलाग्दो परिस्थिति सिर्जना भएको छ ।’

अबोध बालबालिकाको निर्ममतापूर्वक हत्याको घटनाले जोसुकैमा विविधखाले शंका उत्पन्न गराएको छ । ओल्लो घर पल्लो घरका यी दुई परिवारको न कसैसँग रिसराग थियो, न त मनमुटाव नै थियो । सापकोटा कृषि कार्यालयका कर्मचारी हुन् । उनी निर्वाचनमा सहायक मतदान अधिकृत भई खटिएका थिए । तर घटना भएपछि खट्न सकेनन् । फुयाल प्याउली बजारमा सामान्य फेन्सी पसल गर्छन् । ‘हामी पैसावाल पनि होइनौं, कोहीसँग कुनैखाले रिसराग थिएन, सन्तानै सखाप पारिदिए,’ चेतनाथले भने । फेला परेका दिन अनुसन्धानका लागि सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेको नेतृत्वमा घटनास्थल गएको टोली र अञ्चल प्रहरी कार्यालय धरानका एसएसपी उत्तमकुमार कार्कीको नेतृत्वमा आएको टोलीले घटनाबारे बुझेका थिए । तीनवटै शव पोस्टमार्टमका लागि बीपी कोइराला विज्ञान प्रतिष्ठान धरान लगिए पनि रिपोर्ट सार्वजनिक गरिएको छैन । प्रत्यक्षदर्शीका अनुसार तीनै जनाका मुखमा ५–६ वटा/५–६ वटा चुइगम पोको पारेर खाँदिएको फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी काजीकुमार आचार्यका अनुसार घटना थाहा भएको दिनदेखि नै स्थलगत अनुसन्धान भइरहेको छ । ‘क्षेत्रीय अनुसन्धान ब्युरो विराटनगरका प्रहरी निरीक्षक खगेन्द्र खड्काको नेतृत्वमा ५ जनाको टोलीले निरन्तर अनुसन्धान गरिरहेको छ । सादा पोसाकमा समेत प्रहरी खटाइएका छन्, तर घटनाबारे भन्न सक्ने तथ्य छैन,’ आचार्यले भने । घटनाको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले पनि अनुसन्धान गरिरहेको जनाएको छ । ‘क्षेत्र र जिल्लाको टिम अनुसन्धानका लागि निरन्तर भिडिरहेका छन् । भिसेरा टेस्ट गर्न‘पर्ने भएकाले रिपोर्ट आउन केही दिन लाग्ने भएको छ,’ डीआईजी रमेशराज भट्टराईले भने । पोस्टमार्टम रिपोर्टले मात्र यथार्थ नखुलेकाले भिसेरा टेस्टका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको उनले जानकारी दिए । ‘अनुमान धेरै कोणबाट गरिएको छ, भिसेरा टेस्ट आएपछि अन्तिम निष्कर्षमा पुगिनेछ,’ उनले टेलिफोनमा भने ।

यस घटनाले जिल्लाभर स्तब्ध बनाएको छ । विद्यार्थी, बालबच्चा र अभिभावकमा मानसिक सन्त्रास फैलाएको छ । ‘छानबिन चाँडो हुन सकेन भने गाउँ नै बसाइँ सरेर हिँड्ने मानसिकता धेरैले बनाइसके, दोषीलाई पत्ता लगाएर कारबाही हुनुपर्छ,’ शारदा मावि प्याउलीका शिक्षक तिलक पुलामीले भने । यसले जिल्लास्थित महिला तथा बाल अधिकारकर्मीको समेत ध्यानाकर्षण भएको छ । नियोजित रूपमा घटना भएको भन्दै चाँडोभन्दा चाँडो अनुसन्धान हुनुपर्ने र शान्तिसुरक्षाको आभास दिलाइनुपर्ने उनीहरूको भनाइ छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com