सुस्त शैलीमै देउवा


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- शेरबहादुर देउवाले चौथोपल्ट प्रधानमन्त्रीका रूपमा कार्यभार सम्हालेको बिहीबार एक महिना पुग्दैछ । तर उनले आफ्नै निजी सचिवालयसमेत बनाउन सकेका छैनन् । हतारिँदै प्रधानमन्त्री बने पनि त्यसयता उनको ‘कार्यशैली’ निकै सुस्त छ । ठूलो दल कांग्रेसको सभापतिसमेत रहेका देउवाले पार्टी सञ्चालनको जस्तै ढिलासुस्ती सरकारमा पनि देखाउने हुन् कि भन्ने चिन्ता उनकै पार्टीभित्र समेत बढ्न थालेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले देउवाको कार्यशैली, उनले लिएका गलत राजनीतिक निर्णय र घटनाक्रमको परिणामस्वरूप स्थानीय तहमा कांग्रेस दोस्रो बन्न पुगेको निष्कर्ष निकालिसकेको छ । दोस्रो चरणको चुनावको नतिजा आउँदै गर्दा पौडेल पक्षको भेलाले यस्तो निष्कर्ष निकालेको हो । स्थानीय तहको तेस्रो चरणको चुनाव र त्यसपछि हुने प्रदेश र संघीय संसद्को चुनावमा पार्टीको स्थिति कस्तो हुनेछ भन्ने तथ्य धेरै हदमा देउवाको कार्यशैली र भूमिकामा भर पर्ने पौडेल पक्षको ठहर छ ।
सत्ता सञ्चालनको मोटामोटी विषयमा जानकार भए पनि विषयगत मुद्दामा गहिरो अध्ययन नगर्ने स्वभावका देउवाका लागि सरकारका काममा प्रभावकारिता ल्याउन तत्काल विज्ञहरूको सहयोगी समूह आवश्यक छ । आइतबार प्रसारण भएको साझा सवालको प्रस्तुतिलाई लिएर देउवामाथि भइरहेका टीकाटिप्पणीले पनि यही दर्शाउँछ । ‘यदि सल्लाहकार टिम हुँदो हो त देउवा त्यस्तो अन्तर्वार्तामा कि त जाँदैनथे, कि त विषयवस्तुमाथि अध्ययन गरेर जान्थे,’ उनीनिकट एक केन्द्रीय सदस्यले भने । तर देउवाले त्यस्तो समूह बनाउने तयारी नै गरेका छैनन् ।
बाह्य जगत्, दुनियाँको भावना र विचारसँग टाढा रहेका देउवा प्रधानमन्त्रीका रूपमा कति सफल हुन सक्छन् भन्ने उनले बनाउने टिममा धेरै हदमा निर्भर रहन सक्छ । आउँदो असोज २ मा स्थानीय तहको तेस्रो चरणको चुनाव गर्नुपर्नेछ र त्यसका लागि राजनीतिक वातावरण बनाउन राजपालगायत मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउन आवश्यक छ । माघ ७ भित्र भनिए पनि मौसमको अनुकूलताका कारण मंसिरभित्रै प्रदेश र संघीय संसद्को समेत चुनाव गर्नुपर्ने दायित्व देउवामा छ । त्यसका लागि निर्वाचन क्षेत्र निर्धारण पहिलो काम हो । क्षेत्र निर्धारणको चुनौतीपूर्ण काम थाल्न तत्काल आयोग गठन गर्नुपर्ने हुन्छ । दुवै चुनावका लागि छिट्टै कानुन संसद्बाट पारित गराएर निर्वाचन आयोगलाई दिनुपर्ने जिम्मेवारी पनि सरकारमाथि छ । तर यी सबैमा प्रधानमन्त्रीको तयारी सुस्त छ ।
पार्टी सञ्चालनको कार्यशैलीलाई लिएर देउवा पहिलेदेखि नै आलोचित छन् । पार्टी नेतृत्वमा बसेको १५ महिना बित्दा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, विभागलाई पूर्णता दिन नसक्दा उनको कार्यशैलीमा प्रश्न उठेको हो । ‘पहिला जस्तो सीधै सम्पर्क हुँदैन, सहयोगीहरूको टिम नभएकै कारण महत्त्वपूर्ण विषयमा सुझाव दिनसमेत पाइरहेका छैनौं,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने ।
जेठ २२ गते आफूले शपथ लिएकै दिन ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका प्रधानमन्त्री देउवाले एक महिनामा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । ३० मध्ये ८ मन्त्रालयले मात्रै मन्त्री पाएका छन् । बाँकी प्रधानमन्त्रीकै मातहत छन् । यसले मन्त्रालयका काम प्रभावित छ । प्रधानमन्त्री यही साताको अन्तिमसम्म मन्त्रिपरिषद् विस्तारको योजनामा रहे पनि अहिलेसम्म सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रबीच नै मन्त्रालय भागबन्डाको विषय नै मिल्न बाँकी छ । भागबन्डा मिलाउन कांग्रेसबाट नेता विमलेन्द्र निधि र माओवादी केन्द्रबाट उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा तोकिएका छन् । भागबन्डालाई अन्तिम टुंगो दिन बुधबारदेखि बल्ल दुई दलबीच छलफल हुँदै छ । दुई दलबीच भागबन्डा टुंगो लागेपछि पनि देउवालाई आन्तरिक गुट मिलाउन हम्मे छ ।
कुन–कुन र कति मन्त्रालय पाउने भन्ने भन्ने यकिन नहुँदासम्म आफ्नो समूहबाट मन्त्रिपरिषद्मा नजाने भन्दै यसअघि पौडेल पक्ष सरकारमा सामेल छैन । पार्टी सभापतिमा आफैंलाई सहयोग गरेका तर पार्टीभित्र छुट्टै गुटको प्रभाव बनाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का समूहलाई समेत मन्त्रालय भागबन्डामा मिलाउनुपर्ने चुनौती देउवासमक्ष छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com