गोला तानेर गाउँपालिका प्रमुख


प्रकाशित मिति : असार २१, २०७४ बुधबार

असार २१, २०७४- एमालेकी मेनुका काफ्ले ‘गोलाप्रथा’ बाट झापाको कमल गाउँपालिकाको अध्यक्ष चुनिएकी छन् । उनले कांग्रेसका हुकुमसिंह राईलाई पराजित गरिन् । काफ्ले र राईले समान ८ हजार २ सय ७५ मत पाएका थिए । बराबर मत भएपछि अन्तिम निर्णय गोलाप्रथाबाट गरिएको थियो । उक्त गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद एमालेले जितेको छ । उपाध्यक्षमा बेनु सिवाकोटी निर्वाचित भएका छन् । उनले कांग्रेसकी दीपा गौतमलाई पराजित गरे । अध्यक्ष निर्वाचित काफ्लेले दुवै उम्मेदवारले बराबरी मत पाएकाले आगामी दिनमा पनि सहकार्य गरेरै अघि बढ्ने बताइन् । उनले भनिन, ‘हामी दुवैलाई जनताले बराबर मत दिएका छन् । भाग्यले मैले जितेँ । तर, काम गर्ने सवालमा उहाँसँग सहकार्य गरेरै अघि बढ्छु ।’

अखिल नेपाल महिला संघको केन्द्रीय सचिव रहेकी काफ्ले पहिलो संविधानसभा चुनावमा झापा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ पराजित भएकी थिइन् । दोस्रो संविधानसभा निर्वाचनमा पार्टीले उनलाई जिल्लाको ७ नं. क्षेत्रबाट समानुपातिक सूचीमा राखेको थियो । तर, सभासदमा छनोट भइनन् । ठूलो संघर्षपछि स्थानीय तहको टिकट पाएकी काफ्लेले जनमत आफ्नो पोल्टामा पार्न पनि उत्तिकै संघर्ष गर्नुपर्‍यो ।
उम्मेदवार छनोट गर्न इटहरीमा बसेको प्रदेश नम्बर १ को प्रदेशस्तरीय बैठकले कमल र हल्दीबारी गाउँपालिकाको प्रमुखमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, स्थानीय नेता, कार्यकर्ताको तीव्र दबाबपछि जिल्ला नेतृत्वले कमलबाट मेनुका र हल्दीबारीबाट मञ्जु सिटौलाको नाम फिर्ता लिने निर्णय गरेको थियो । तर, जिल्ला नेतृत्वको निर्णय सार्वजनिक भएलगत्तै पार्टीभित्रका महिला नेतृहरू खुलेरै विरोधमा उत्रिएपछि पहिलेकै निर्णयलाई सदर गरियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com