नेपालगन्जमा नारा– ‘हिन्दू-मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई’


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४- हिन्दू राज्यको माग गर्दैआएको राप्रपाका मेयर उम्मेदवार धवलशमसेर राणाले मुस्लिम समुदायको निर्णायक मत रहेको नेपालगन्ज उपमहानगरपालिकामा फराकिलो अन्तरले जिते । मंगलवार अपरान्ह निस्केको राप्रपाको विजय जुलुसमा नारा लाग्यो, ‘हिन्दू–मुस्लिम भाइभाइ, धवलशमसेर हाईहाई ।’

झण्डै ६२ हजार मतदाता रहेको नेपालगन्जमा २३ वडा छन् । तीमध्ये राप्रपाले तीन वटा वडा मात्र जित्यो । तीमध्ये पनि दुई वडाध्यक्ष मुस्लिम समुदायका छन् । ‘मुस्लिम समुदायको राम्रो मत आएको छ,’ निर्वाचन परिचालन समितिका संयोजक ऋषिराज देवकोटाले भने, ‘राप्रपा र धवलशम्सेरप्रति सबै जाति र धर्म समुदायका नगरबासीले विश्वास गरेको परिणाम हो ।’ मुस्लिम बाहुल्यता रहेका अधिकांश वडामा मेयर राणाले अग्रता लिएका छन् ।

मंगलबार बिहान घोषित अन्तिम नतिजा अनुसार, मेयरमा राणाले १२ हजार ५ सय ५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७ सय ३० मत ल्याए । माओवादी केन्द्रका दामोदर आचार्यले ७ हजार १ सय ९८ र एमालेका सम्शुद्धिन सिद्धिकीले ६ हजार ९ सय ६५ मतमा चित्त बुझाए ।

त्यस्तै, उपमेयरमा कांग्रेसकी युवा नेतृ उमा थापामगर विजयी भइन् । उनले १० हजार ७ सय ३० मत प्राप्त गरेकी छन् । उनका निकतम् प्रतिद्वन्द्वी राप्रपाकी रमारानी गुप्ताले ८ हजार ९ सय २४ ल्याईन् । त्यस्तै, एमालेकी शान्तिदेवी ढकालले ७ हजार ७ सय ७३ र माओवादी केन्द्रकी कलामुन अन्सारीले ७ हजार ७६ मत ल्याएका छन् ।

विजयपछि मेयर राणाले सुन्दर, सफा र सदभावपूर्ण नेपालगन्ज बनाउने अठोट व्यक्त गरे । ‘यो मतलाई मैले नगरबासीको भरोसाको रुपमा लिएको छु,’ नवनिर्वाचित मेयर राणाले भने, ‘निस्वार्थ भावनाले काम गरेर त्यो भरोसालाई सार्थक बनाउने छु ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com