महरा–स्वराज भेटवार्ता


प्रकाशित मिति : असार २०, २०७४ मंगलबार

असार २०, २०७४- भारत भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सोमबार साँझ भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन् । भेटवार्ता दुईपक्षीय सम्बन्धका विविध आयामहरूमा केन्द्रित रहेको अधिकारीहरूले जनाए ।
विदेशमन्त्री स्वराजको औपचारिक निमन्त्रणामा महरा आइतबार दिल्ली आएका हुन् । महरा र स्वराजबीच प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका विषयमा कुराकानी भएको थियो । प्रधानमन्त्रीको भ्रमणबारे अब प्रशासनिक तहमा कुराकानी अगाडि बढ्ने जनाइएको छ । ‘भ्रमण सकेसम्म छिटो गर्ने विषयमा सहमति भएको छ, अब मितिको गृहकार्य सुरु हुन्छ,’ एक अधिकारीले भने ।
दुई नेताबीच नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि कुराकानी भएको थियो । त्यस क्रममा स्वराजले दुई चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा नेपाल सरकारलाई बधाई दिएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । भेटपछि भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भने यो विषय उल्लेख छैन । विज्ञप्तिअनुसार महराले नेपालमा सम्पन्न भएको दोस्रो तहको स्थानीय तहको निर्वाचनका विषय स्वराजसमक्ष राखेका थिए । त्यसैगरी महराले संविधान कार्यान्वयन प्रक्रियामा सबै पक्षलाई सहमतिमा ल्याउन सरकारले गरिरहेका प्रयत्नहरूबारे स्वराजसमक्ष राखेको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।
भेटपछि दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार पछिल्लो समयमा दुईपक्षीय सम्बन्धमा निरन्तर रूपमा प्रगति भइरहेकोमा महरा र स्वराज दुवैले खुसी व्यक्त गरेका थिए । भेटवार्तामा सार्क सम्मेलन, सीमा क्षेत्रमा डुबानको समस्या, भारतको सहयोगमा निर्माणाधीन विकासका परियोजनाहरूलगायत विषयमा दुई नेताबीच कुराकानी भएको बताइएको छ । भेटवार्ताका क्रममा विकास साझेदारी, व्यापार तथा पारवहन, क्रस बोर्डर पूर्वाधार निर्माण, जलस्रोत तथा अन्य परियोजनाका बारेमा समीक्षा तथा छलफलसमेत भएको छ ।
महराका सल्लाहकार युवराज चौलागाईंका अनुसार स्वराज आगामी अगस्ट १० र ११ काठमाडौंमा हुने मन्त्रीस्तरीय बिमिस्टेक बैठकका लागि अगस्ट १० मा नेपाल आउँदै छिन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com