राजमार्ग हो कि सास्तीको बाटो ?


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

मुलुककै ‘लाइफ लाइन’ सडक मानिएको नारायणगढ–मुग्लिन खण्ड यतिखेर थला परेको छ । छिन–छिनमा पहिरो खस्ने गरेको छ । कैयौं दिनदेखि बाटामै अलपत्र परेका छन् यात्रु र सवारी साधन । सातायता मात्रै एकै क्षेत्रमा आधा दर्जनले ज्यान गुमाइसकेका छन् । कति बेला के हुने भनेर त्रसित छन् यात्रुहरू । अलपत्र परेकाहरू बेखर्ची हुने अवस्था आएको छ ।

राजधानी र प्रमुख सहर पोखरालगायतलाई बाँकी मुलुकसित जोड्ने मुख्य नारायणगढ–मुग्लिन सडक यतिखेर थला परेको छ । दक्षिण सीमा नाकाबाट आयातित उपभोग्य र सुविधाका वस्तु ओसारिने मार्ग मात्र होइन, तराई र भित्री मधेसका उत्पादन राजधानी भित्रिने प्रमुख सडक पनि यही हो । राजधानीका वस्तुलाई बाहिरी जिल्ला पठाउने आधार पनि यही हो ।
मुलुककै ‘लाइफ लाइन’ मानिएको मार्ग अहिले पहिरोलगायत समस्याले थलिएको छ । केही दिनयता मात्रै कैयौंले ज्यान गुमाइसकेका छन् । क्षण–क्षणमा सडक अवरुद्ध हुँदा दैनिकी प्रभावित त हुन थालेको छ नै, ओहोरदोहोर गर्ने सर्वसाधारणसमेत त्रसित छन् ।
आइतबार नारायणगढबाट छुटेको गाडीलाई ३६ किमि छिचोल्न १२ घण्टा लाग्यो । यात्रु र चालक दिनभर भोकै थिए । सातायता नियमित वर्षा भइरहेकाले सडक हिलाम्य छ । सुक्खा भएको स्थानमा धूलैधूलोले कुइरीमण्डल हुँदा गाडी जुध्ने जोखिम छ । दुईतर्फी यातायात सञ्चालन सम्भव देखिएको छैन । पहाड काट्न थालेपछि सुक्खायाममा समेत जाने गरेको पहिरो वर्षा लागेपछि दिनुहुँ खस्ने गरेको छ । मुग्लिन नजिकै कालिकाखोला आसपास पहिरोको धराप नै देखिन्छ । यस खण्डमा २९ ठाउँमा पहिरोको जोखिम छ । त्यसमध्ये चोरखोलादेखि चेपाङडाँडासम्म १ हजार ६ सय मिटरमा एक साता अवधिमा आधा दर्जनले ज्यान गुमाइसकेका छन् । प्रहरीचौकी जुगेडीका असई अक्षयकुमार साहका अनुसार आइतबार घुमाउने, केराघारी, सेतीदोभान र सोह्रकिलोमा खसेको पहिरो बिहानै पन्छाइएको थियो । त्यसले गाडी ठप्प नै नभए पनि निर्वाध सञ्चालन हुन सकेनन । दासढुंगामा खसेको ढुंगा हटाएपछि सहज भयो । भोर्ले पुलमा बिहान प्वाल पर्न थालेपछि पुरिएको थियो । ‘यस्ता समस्याले २४ घण्टामा कति पटक सिमलतालदेखि जुगेडी ओहोरदोहोर गरें गिन्ती छैन,’ रुझ्दै गाडी खुलाउन सक्रिय उनले भने, ‘राति १२ बजे सुतेर बिहान ४ बजे निस्कें । प्रत्येक दिन यातायात व्यवस्थापन र पहिरो पन्छाउन खटिन्छौं ।’ पहिरो हटाउन सडक आयोजनाले स्काभेटर र लोडर तयारी अवस्थामै राखेको छ ।

समस्याको जड
यो सडकलाई साढे २ वर्षअघिदेखि दुई लेनको बनाउन थालिएको थियो । निर्माण जिम्मा लिएका ठेकेदार कम्पनीले छरितो काम गर्लान् र फराकिलो सडकमा ढुक्कसाथ यात्रा गर्न पाउने अपेक्षा धेरैले गरेका थिए । तर ठेक्का सम्झौताअनुसार दुई वर्षमा देखिने गरी काम सरकारले भूकम्प र नाकाबन्दीलाई आधार बनाएर सम्झौतामा एक वर्ष निर्माण अवधि बढायो । त्यसको पनि आधा अवधि कटिसक्यो, तर पनि प्रभावकारी काम हुन सकेको छैन ।
जब सडक फराकिलो बनाउनका लागि पुरानो पिच भत्काउने र पहाड कटान गर्ने काम थालियो, तबदेखि नै समस्याको जड सुरु भयो । त्यतिबेलादेखि नै सडकमा निरन्तर हिलो, धूलो र पहिरोले सास्ती पुर्‍याउन थालेको छ । सडकभरि खाल्डैखाल्डा छन् । एक मिटरसम्म गहिरा खाडलले यात्रा सकसपूर्ण र जोखिमयुक्त छ । पहिरो खस्नासाथ गाडी अवरुद्ध हुने गरेका छन् । सातायता पहिरोकै कारण ८० घण्टा सडक अवरुद्ध भइसकेको छ । जोखिममा परेका गाडी फर्काएर सुरक्षित तुल्याउन सम्भव छैन । गाडी अवरुद्ध भएपछि यात्रु पहिरो क्षेत्रमै त्रासमा समय कटाउन बाध्य छन् ।

२५ किमि जाम
इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला नजिक शुक्रबार दुई पटक पहिरो खस्यो । ठूलो भएकाले पन्छाउन ३४ घण्टा लाग्यो । शनिबार साँझ यातायात खुलाइएको थियो, तर त्यसको असर आइतबार दिनभर पर्‍यो । नारायणगढको पोखरा बसपार्कदेखि सिमलतालसम्म गाडी जाममा परेका थिए । पहिरो गएपछि पूर्वपश्चिमबाट यहाँ आएका बसलाई वैकल्पिक मार्गबाट गन्तव्यमा पठाइएको थियो । तर सयौं ट्रक सडक, चौर र बजारमा रोकिएको थियो । आइतबार सडकमा ट्रक नै ट्रक थिए । ती गुडेको भन्दा पनि घस्रेको जस्तो लाग्थ्यो ।
सर्लाहीको मिर्चैयाबाट तीन दिनअघि ना६ख नम्बरको ट्रकमा सिमेन्ट लोड गरेर राजधानीका लागि छुटेका चालक भेषबहादुर लामिछाने मगर आइतबार अपराहन घुमाउनेमा भेटिए । दुई रात नारायणगढमा बिताए । जाम कट्न सजिलो हुन्छ भनेर शनिबार राति २ बजे हिँडे । अन्य दिन नारायणगढबाट ५/६ घण्टामा काठमाडौं पुग्थे । ‘बल्ल आधा बाटो आइयो,’ उनले भने, ‘खान पनि पाइएन ।’ जाम बढ्ने भएकाले प्रहरीले लाम लागेका गाडीलाई दायाँबायाँ पार्किङ गर्न रोक लगाएको थियो । त्यसैले गाडी रोकेर खाने फुर्सद नमिलेको उनले बताए । उनलाई नारायणगढ बजारबाट रामनगर पुग्न धेरै समय लाग्यो । ‘जाम सर्दै नसर्ने,’ उनले भने, ‘काठमाडौं त कति दिनमा पुगिन्छ थाहै छैन ।’
शनिबार बिहान ७ बजे बैतडीबाट छुटेको महाकाली यातायातको ना५ख ७४४१ नम्बरको बसका चालक अर्जुनसिंह धामी पनि उस्तै पीडामा थिए । आइतबार बिहान ६ बजे नारायणगढ आइपुगेका उनलाई नारायणगढबाट ११ किमि दूरीमा रहेको जुगेडी पुग्न ५ घण्टा लाग्यो । उनको बसमा ३० जना सवार थिए । ‘जाम खुल्ने ठेगान छैन,’ उनले भने, ‘खानुपिउनु केही छैन ।’ थकित यात्रुको मुहार निन्याउरो थियो । अरू दिन बैतडीबाट १५ घण्टामा राजधानी पुग्थे । ‘२४ घण्टामा पनि नपुगिने भो,’ उनले भने । जाममा महाकाली यातायातका थुप्रै बस थिए ।
तनहुँको दमौली जाँदै गरेकी विष्णु गुरुङले कम्ती सास्ती खेप्नु परेन । बिहान साढे ६ बजे नारायणगढको पोखरा बसपार्कबाट उनी गाडी चढेकी थिइन् । त्यहाँबाट ३/४ किलोमिटर दूरीमा रहेको रामनगर पुग्दा साढे १० बज्यो । गर्मीमा गाडीभित्र गुम्सिएर बस्नुपर्‍यो । बाहिर धूलो थियो । गाडी नबढेपछि दिउँसो २ बजे सत्र किलोसम्म पैदल आएर गाडी पर्खिरहेकी थिइन् । उनले विश्राम गरिरहेको चिया पसलमै चितवनको पर्साका विजय क्षत्री भेटिए । उनले पनि तीन दिनअघि गाडीमा अन्डा लोड गरेका थिए । पहिरोले सडक अवरुद्ध भएपछि थन्किए । आइतबार त्यही लिएर राजधानी जाँदै थिए । बिहान ५ बजे हिँडेका उनी दिउँसो यहा आइपुगेका थिए । ‘अरू बेला ४/५ घण्टामा काठमाडौं पुगिन्थ्यो,’ उनले भने, ‘बल्ला ९/१० घण्टामा यहाँसम्म आइयो ।’ लामो जाममा परेका यात्रु र मजदुरीका लागि राजधानी जानेहरू बेखर्ची हुने समस्या छ । यस्तो बेला यहाँ खानेकुरा पनि महँगोमा बिक्री गरिन्छ । त्यसले यात्रु मर्कामा पर्ने गरेका छन् । विभिन्न जिल्लाबाट उपचारका लागि भरतपुर आउने पनि प्रभावित छन् । ‘मेरो टाँका फुस्केला जस्तो भो,’ अप्रेसनपछि फलोअपका लागि भरतपुर आउँदै गरेका लमजुङ भोर्लेटारका गणेशबहादुर परियारले भने, ‘बिहान दमौलीबाट हिँडेको, दिनभर जाममा परियो, फेरि थलिन्छु कि जस्तो भो ।’
सडक निरीक्षणमा आएका जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक श्रेष्ठले जाम लम्बिनुको कारण गाडीको चाप, हिलो, खाल्डाखुल्डी, पहिरो, बिग्रेर थन्किएका गाडी भएको बताए । ‘यस्ता खाल्डामा ठूला मालवाहक गाडीलाई समस्या हुन्छ,’ उनले भने, ‘सडकको अवस्थाले गर्दा चाहेर पनि छिटो हुँदैन ।’ यहाँ रहेका पुल साँघुरा छन् । आइतबार जिर्ण पुलमै ट्रक लाम लागेका थिए । धेरै भार बोकेका ट्रक लामो समय रोकिएका कारण पुलमा प्वाल पर्ने अवस्था आएको छ । ‘कालीखोलाले हैरान बनायो,’ उनले भने, ‘तीन दिनदेखि थन्किएका गाडीले गर्दा जाम बढेको हो ।’

स्थानीय हैरान र त्रसित
सडक निर्माणसँगै यस खण्डका विभिन्न स्थानमा बसोबास गर्दै आएका स्थानीय धूलो र निरन्तर जामले हैरान छन् । जुनसुकै ठाउँमा जाने पहिरोले उनीहरूलाई त्रसित बनाएको छ । सिमलतालमा आइतबार बिहान पहिरोले बिजुलीको पोल ढलायो । पोल नजिकैको शौचालयको छतमा खस्यो । ‘मेरो नाति टाइलेटबाट निस्क्यो, त्यति नै बेला बिजुलीको तार पनि खस्यो,’ स्थानीय सरिमाया गुरुङले भनिन्, ‘त्यो देखेर बाबु थर्रर काम्यो ।’ १० वर्षका नाति जोगिएपछि उनी खुसी छन् । ‘बाटो बनाउने भन्यो, भ्याकु (डोजर) ले खन्यो,’ उनले भनिन्, ‘पहाड हल्लिएर होला, झरेको झर्‍यै छ ।’ सिमलतालबाट ८ किलोमिटरपूर्व कालीखोलामा शुक्रबार गएको पहिरोले चिनजानका ६१ वर्षीय एकबहादुर मगरको ज्यान लियो । त्यही निरन्तर पहिरो जान थालेपछि स्थानीय त्रसित छन् । स्थानीय इन्दिरा गुरुङले पहिरोले बालबालिका मुग्लिनमा रहेको विद्यालय जान सम्भव नभएको बताइन् । त्यसपछि मुग्लिनमा रहेको ग्रिनफिल्ड बोर्डिङ स्कुलले तीन शिक्षकलाई यहीं पठाएको छ । ती शिक्षकले यहीं बसेर परीक्षा लिइरहेको उनले जनाइन् । कविलासका युवा सुवास जर्घामगरले धूलोले स्वास्थ्यमा असर परेको बताए । ‘सडक किनारमा बस्ने सबैलाई दम हुन्छ,’ उनले भने, ‘ठेकेदारले निर्माणको काम गर्दा पानी हाल्दैनन्, गाडीले धूलो उडाउँछन्, हामी मारमा छौं ।’ सुक्खा बेलामा यहाँ धूलोले अन्धकार हुन्छ । मोटरसाइकलमा ओहोरदोहोर गर्नेले जोगिन रेनकोट लगाउने गर्छन् । वर्षा लागेपछि पहिरोले सताएको उनले बताए । ‘निर्माण कम्पनीले सर्वसाधारण र यात्रुलाई पहिरोको जोखिमबारे बताएको छैन,’ उनले भने, ‘ज्ञान नहुँदा ज्यान गुमाउने बढे ।’ जोखिम बढेपछि आफूले यो सडकबाट यात्रा गर्न छाडेको बताए । ‘दुई पटक हेटौंडा हुँदै काठमाडौं गइसकेँ,’ उनले भने, ‘जानजान खतरा किन मोल्नु ।’

चालक निधाएर समस्या
असई साह आइतबार दिनभर ट्रकका अगाडि मोटरसाइकल रोक्दै चालकलाई झकझकाउने गर्थे । तीन दिनदेखि सडक र चौरमा बास बसेका ट्रक चालक आइतबार यस खण्डमा गाडीमै निदाउनाले जाम बढ्ने समस्या थपियो । ‘चालक निदाएर गाडी अघि नबढाउँदा समस्या भो,’ उनले कान्तिपुरसित भने, ‘त्यसैले बिउँझाउँदै हिँडेको हुँ ।’ पट्यार लाग्दो जामका कारण पनि चालक निदाएका हुन् । एकै स्थानमा लामो समय बस्दा उनीहरू निदाएको साहले बताए ।

निर्णय कार्यान्वयन भएन : सीडीओ 
सडक स्तरोन्नतिको काम सुरु भएपछि सडक आयोजना र सम्बन्धित ठेकेदार कम्पनीलाई पहिलो पटक २०७३ मंसिर २९ गते कार्यालयमा बोलाएर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले बुँदागत रूपमा सडकसित सम्बन्धित सुधारका निर्णय गराए । उक्त खण्डमा देखिएका खाडल तत्काल पुर्नुपर्ने, सडकमा धूलो उडेर यातायात सञ्चालनमा कठिनाइ पर्ने हुनाले दैनिक पानी हाल्नुपर्ने, वर्षाको समयमा पहिरोको जोखिम र गाडी दुर्घटना, जाम लगायतको निगरानी र तत्काल उद्धार गर्न उक्त खण्डमा सडक आयोजनाको प्राविधिक सहितको र्‍यापिट रेस्पोन्स टिम (आरआरटी) वैशाख २ गतेबाट परिचालन गर्ने, पहिरोको अनुगमन गर्न आयोजनाले मोटरसाइकल सहितको अनुगमन टोली परिचालन गर्ने, सडकमा सवारी बिग्रेर आवागमन अवरुद्ध हुने हुँदा त्यस्ता सवारीलाई तत्काल हटाउन सम्बन्धित निर्माण कम्पनीले ३ वटै प्याकेजअन्तर्गतको क्षेत्रमा एक/एकवटा उपकरण चौबीसै घण्टा राख्ने लगायतका निर्णय गराए । आयोजनाले यी निर्णय कार्यान्वयन नगरेको भन्दै प्रजिअ भट्ट आक्रोशमा भेटिए । सडक निर्माणको काम ढिला हुनु, आयोजनाको लापरबाहीले पहिरो खसेको सूचना समयमा पाउन नसक्नुले उक्त खण्डमा पहिरोको कारण मानवीय क्षति भएको भट्टले बताए । सम्झौता अनुसार सडकको काम हुन नसकेको भन्दै उनले आयोजनालाई दोषी देखाए । स्थानीय प्रशासनको रोहवरमा ५ वटा बैठक गरी आयोजनाले ती निर्णयमा सहमति जनाएको थियो । पछिल्लो पटक यही असार ११ गते निर्माण कम्पनीसहित बसेको बैठकमा अघिल्लो चार पटक गरिएका निर्णय तत्काल कार्यान्वयन गर्ने निर्णयसमेत गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com