बाढीपहिरोमा ७ को मृत्यु


प्रकाशित मिति : असार १९, २०७४ सोमबार

असार १९, २०७४- पर्वत,

४ जना बेपत्ता
कास्की र प्यूठानमा दुई दिनको अविरल वर्षापछि आएको बाढीपहिरोमा परी ७ जनाको मृत्यु भएको छ । शनिबार राति र आइतबार बिहान पर्वतमा ४, कास्कीमा २ र प्यूठानमा १ जनाको ज्यान गएको हो । कास्कीमा एक महिला, प्यूठानमा २ बालक र स्याङ्जामा १ बालक बेपत्ता छन् । शनिबार राति पोखराको प्रस्याङपाखास्थित तारापति अधिकारीको घरपछाडिको ढिस्को खस्दा स्याङ्जा घर भई ठूलीआमाको घर आएका १४ वर्षीय टंक क्षत्रीको मृत्यु भएको छ । ब्लकको दुईतले कच्ची घरसँगै क्षत्री पहिरोमा पुरिएका थिए । परिवारका अन्य सदस्य भने भागेर बाँचेको कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताए । यसैगरी, पहिरोले घरै बगाउँदा पोखरा–१९ अकलादेवी मन्दिरकी ३३ वर्षीया शोभा पौडेलको मृत्यु भएको छ । उनको शव करिब सय मिटर तल भेटिएको थियो ।
पर्वतको महाशिला गाउँपालिका–१ होस्राङीमा आइतबार बिहान पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ६३ वर्षीय तीर्थ मल्ल ठकुरी, ८० वर्षीया आमा बेलकुमारी र ५५ वर्षीया श्रीमती यामकुमारी छन् । पहिरोले घरगोठ दुवै पुरिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीले बिहान १० बजे मात्रै शव निकाल्न सकेको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले बताए । पहिरोको जोखिममा परेका नजिकैका अन्य ६ घरका बासिन्दालाई सुरक्षित स्थानमा सर्न लगाइएको छ । पर्वतकै कुस्मा–९ कटुवाचौपारीको चिन्नेखोलाको बाढीले बगाउँदा स्थानीय ४५ वर्षीय दिलबहादुर सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार रोपाइँमा गएका सुनारलाई घर फर्कने क्रममा खोलाले बगाएको हुन सक्ने स्थानीय जगत पराजुलीले बताए । फुस्रे खोलाले बगाएर तिलहारकी ६५ वर्षीया लीलाकुमारी लामिछाने बेपत्ता छिन् । शनिबार दिनभर रोपाइँ गरी साँझ छोरीको घर फर्कने क्रममा खोलो तर्दा उनलाई बाढीले बगाएको प्रहरीले जनाएको छ ।
प्यूठान संवाददाताका अनुसार शुक्रबार रातिदेखिको अविरल वर्षापछि गएको पहिरोले पुरिँदा प्यूठानमा १ जनाको मृत्यु भएको छ । गौमुखी गाउँपालिका ­३ रजबारास्थित पोखरा गाउँमा स्थानीय शेरबहादुर घर्तीको घर पुरिँदा १६ वर्षीया छोरी जयकलाको मृत्यु भएको हो । स्थानीयले उनको शव आइतबार बिहान निकालेका हुन् । अन्य सदस्यलाई राति नै उद्धार गरिएको स्थानीय गोवद्र्धन थापाले बताए । थापाका अनुसार घरगोठसँगै गाईभैंसीसमेत पुरिएका छन् । शनिबार राति नै नौबहिनी २ लिघा कुर्तिबाङस्थित गोठमा सुतेका दुई बालक पहिरोमा पुरिएर बेपत्ता छन् । ठगुलाल घमका दुई छोरा १७ वर्षीय गुञ्जमान र १० वर्षीय सुनील घर्ती पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख रञ्जितसिंह राठौरले बताए । इलाका प्रहरी कार्यालय, बाहानेबाट प्रहरी घटनास्थल पुगेको छ । अविरल वर्षाका कारण करिब ५० मिटर माथिबाट पहिरो जाँदा बस्तुभाउसहित गोठ बगाएको छ । जिल्लाका विभिन्न ग्रामीण सडकसमेत पहिरोले अवरुद्ध छन् । रजवारा, अर्खा, लिघालगायत क्षेत्रमा पहिरोले जनजीवन प्रभावित छ । दर्जनौं घर जोखिममा रहेको स्थानीय पत्रकार एवं पत्रकार महासंघका जिल्ला अध्यक्ष महावीर रानाले कान्तिपुरलाई बताए । उनका अनुसार रजवारामा २ वटा पुल र ३ वटा लघुजलविद्युत् बाढीले बगाएको छ । विद्यालय पहिरोले बगाउँदा पठनपाठन प्रभावित भएको उनले जनाए । स्याङ्जा संवाददाताका अनुसार वालिङ नगरपालिका–१४ मा अँधेरीखोला तर्ने क्रममा एक बालक बेपत्ता भएका छन् । आइतबार दिउँसो पर्वतको त्रिवेणी–३ भरकी देवी भुर्तेलका आठ वर्षीय छोरा मदन भुर्तेल बेपत्ता भएका हुन् । उनीसँगै खोलो तरेकी १३ वर्षीया दिदी मुना भने घाइते अवस्थामा फेला परेकी छन् ।

सेतीको डिल खस्यो
पोखरा–१५ हरियोखर्क मितेरीमा सेती किनारको चौर भासिएको छ । उक्त स्थान खाली रहेकाले अरू क्षति हुन पाएन । भूकम्पले चर्किएको उक्त स्थानमा करिब सय मिटर लामो र ५० मिटरभन्दा बढी चौडा ठाउँ शनिबार रातिको वर्षापछि सेतीमा खसेको छ । उक्त स्थानमा प्रहरीले सुरक्षा दिइरहेको छ । सेती नदी किनारको दुवैतर्फ कम्तीमा ५० मिटर परसम्म बस्ती नबसाउन विज्ञले सुझाव दिए पनि बेवास्ता गरिएको छ । निर्माण रोक्न सम्बद्ध निकायले चासो दिएको छैन । पोखराका विभिन्न स्थानका थुप्रै घर बाढीपहिरोको जोखिममा छन् । लेकसाइडको खहरे, फिर्केखोला, छोरेपाटन, प्रस्याङपाखाथर, लामाचौरलगायत क्षेत्रमा बाढीपहिरोले सडक अवरुद्ध गर्नुका साथै बस्ती जोखिममा छ । सराङकोट जाने सडकसमेत भासिएको छ । छोरेपाटनमा १५ घर डुबानमा परेका छन् । महानगरपालिकाले खोलाको निकास थुनेर जथाभावी प्लटिङ गर्न अनुमति दिएपछि छोरेपाटन बर्सेनि डुबानमा पर्दै आएको छ । पहिरोले अवरुद्ध सिद्धार्थ र पोखरा–बागलुङ (भूपी शेरचन) राजमार्ग सञ्चालनमा आएका छन् । राजमार्गका विभिन्न स्थानको पहिरो पन्छाई अवरुद्ध सडक खुलाइएको हो ।

यो वर्षकै धेरै वर्षा
मुलुकमै बढी वर्षा हुने क्षेत्र पोखरामा शनिबार बिहानदेखि आइतबार बिहानसम्ममा १९१ मिलिलिटर पानी पर्‍यो । यो यस वर्षकै सबैभन्दा बढी वर्षा रहेको क्षेत्रीय हावापानी कार्यालयले जनाएको छ । ‘जुलाईमा सरदर ९४० लिटर पानी पर्ने अनुमान हो,’ कार्यालय प्रमुख राजारामप्रसाद ढकालले भने, ‘पहिलो दिनमै धेरै पानी पर्‍यो ।’ यसअघि सन् २००१ अगस्ट १८ मा अहिलेसम्मकै बढी ३५७ मिलिलिटर पानी परेको थियो ।

Source : Ekantipur

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com