ग्यासको मुल्य २५ रुपैयाँ घट्यो


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

प्रतिलिटर पेट्रोलमा २, डिजेल २, मटितेल २, हवाई इन्धन ४ रुपैयाँ घटाइयो

आयल निगमले आइतबार राती १२ बजेदेखि लागु हुनेगरी इन्धनको मुल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य घटेपछि यहाँ पनि मुल्य घटाएको हो । निगमका बिक्री बितरण विभागका निर्देशक एवम् प्रबक्ता सिताराम पोखरेलका अनुसार खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ, पेट्रोलमा २ रुपैयाँ, डिजेलमा २, मटितेलमा २  र हवाई इन्धनमा प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ ।

‘भारतीय आयल निगम (आइओसी) ले जुलाई १ मा पठाएको मुल्यसूची अनुसार इन्धनको मुल्य घटेको देखिन्छ,’ पोखरेलले भने, ‘सोही अनुसार आइतबार रातीबाट लागु हुनेगरी मुल्य घटाएका छौं ।’ नयाँ मुल्यअनुसार प्रतिसिलिन्डर ग्यासको मुल्य १३ सय ५० रुपैया पर्नेछ । हाल १३ सय ७५ रुपैयामा कारोबार हुन्थ्यो ।

यस्तै, प्रतिलिटर पेट्रोलको मुल्य ९८ रुपैयाँ, डिजेल ७४ रुपैयाँ, मटितेल ७४ रुपैयाँ, हवाई इन्धन (आन्तरिकतर्फ) ८४ रुपैयाँ र हवाई इन्धन (अन्तर्राष्ट्रियतर्फ) ७३ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोल सय रुपैयाँ, डिजेल ७६, मटितेल ७६, हवाई इन्धन आन्तरिकतर्फ ८६ र अन्तर्राष्ट्रियतर्फ ७७ रुपैयाँमा  बिक्री हुन्थ्यो ।

आइओसीले पनि प्रत्येक महिनाको १ र १५ तारिखमा नयाँ मुल्यसूची पठाउँछ । सरकारले ०७१ असोज देखि पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनमा स्वाचालित मुल्य लागु गरेपछि अन्तर्राष्ट्रिय बजार अनुसार इन्धनको मुल्य समायोजन गर्नुपर्छ । नयाँ मुल्यअनुसार निगमको पाक्षिक नाफा ४० करोड रुपैयाँ नाघेको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com