प्यूठानमा काँग्रेस र एमाले तीन÷तीन, राजमो दुई तहमा विजयी


प्रकाशित मिति : असार १८, २०७४ आईतबार

प्यूठान, १८ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनमा जिल्लाको नौवटा मध्ये आठवटा तहको परिणाम सार्वजनिक भएको छ । नेपाली काँग्रेस र नेकपा (एमाले) तीन÷तीन तथा राष्ट्रिय जनमोर्चा दुईवटामा विजयी भएको छ ।

काँग्रेस गौमुखी, नौबहिनी र ऐरावती गाँउपालिकामा, एमाले स्वर्गद्वारी नगरपालिका, माण्डवी गाँउपालिका र सरुमारानी गाँउपालिका तथा राष्ट्रिय जनमोर्चा झिमरुक र मल्लरानी गाउँपालिकामा विजयी भएको छ ।

गौमुखी गाँउपालिकाको अध्यक्षमा काँग्रेसका विष्णुकुमार गिरी तीन हजार ७४२ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार विधुर मल्लले दुई हजार ५७४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा काँग्रेसकी तुल्सी सुनार तीन हजार ९० मतसहित विजयी हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी ज्ञानुमाया केसीले दुई हजार ६२७ मत प्राप्त गर्नुभयो ।

यस्तै नौबहिनी गाउँपालिकाको अध्यक्षमा काँग्रेसका शिव रिजाल पाँच हजार ७३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार डिलाबहादुर थापाले चार हजार ७७५ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्र र काँग्रेसका संयुक्त उम्मेदवार घनबहादुर बुढाले पाँच हजार २०५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र राजमोका संयुक्त उम्मेदवार रामबहादुर केसीले तीन हजार ७२५ मत प्राप्त गर्नुभयो ।

यसैगरी ऐरावती गाउँपालिकाको अध्यक्षमा काँग्रेसका नविलविक्रम शाह दुई हजार ४९० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमाले र माओवादी केन्द्रको संयुक्त उम्मेदवार टिकाबहादुर गुरुङले दुई हजार ४७४ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रका बुद्धबहादुर वस्नेत दुई हजार १९९ मत ल्याई विजयी हुनुभयो । वस्नेतले निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी जलजला थापालाई पराजित गर्नुभयो ।

यसैगरी स्वर्गद्वारी नगरपालिकाको नगर प्रमुखमा एमालेका नेत्रबहादुर रोकाय चार हजार ५९८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र र राजमोका संयुक्त उम्मेदवार वीरबहादुर पुनले तीन हजार ६४५ मत प्राप्त गर्नुभयो । उपप्रमुखमा एमालेकी गोमा रेग्मी चार हजार ४५८ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी दुर्गा रेग्मीले तीन हजार ३७० मत प्राप्त गर्नुभयो ।

माण्डवी गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीधर रोकाय एक हजार ७५३ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नवराज अधिकारीले एक हजार ७४१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा माओवादी केन्द्रकी मुगा पुन एक हजार ८३५ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेकी सम्झना घर्तीले एक हजार ७६९ मत प्राप्त गर्नुभयो ।

सरुमारानी गाउँपालिकाको अध्यक्षमा एमालेका झगबहादुर बिश्वकर्मा तीन हजार ६७७ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दोरबहादुर दर्लामी मगरले दुई हजार २४१ मत ल्याउनुभयो । उपाध्यक्षमा एमालेकी मीना सोमै तीन हजार ६८० मत ल्याई विजयी हुनुभयो । उहाँले माओवादी केन्द्रका उम्मेदवारलाई पराजित गर्नुभयो ।

यस्तै झिमरुक गाउँपालिकाको अध्यक्षमा राजमोका तिलक जिसी तीन हजार ६६० मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी पितबहादुर एमसीले दुई हजार ७८२ मत ल्याउनुभयो । उपाध्यक्षमा राजमोकी पवित्रा जिसी तीन हजार ७७९ मत ल्याई विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी राधा जिसीले दुई हजार ५२६ मत प्राप्त गर्नुभयो ।

मल्लरानी गाउँपालिकाको अध्यक्षमा राजमोका अम्मरध्वज राना विजयी भए । उहाँले एमालेका इमानसिंह भारतीलाई पराजित गर्नुभयो । उपाध्यक्षमा राजमोकै सरीता जिसी विजयी हुनुभयो । उहाँले एमालेकी सरस्वती पोखरेललाई पराजित गर्नुभयो ।

प्यूठान नगरपालिकाको मतगणना जारी छ । हाल सम्म गणना भएको चारवटा वडामा एमाले, राजमो, काँग्रेस र माओवादी केन्द्र एक÷एक वटा वडाध्यक्षमा विजयी भएका छन् । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com