पावरफुल लभ म्यारिज


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १६, २०७४-
गत साता अनायासै अभिनेत्री निशा अधिकारीको विवाहको खबर चर्चामा आयो । जगजाहेर छ, चार वर्षदेखि निशाको मन र मुटु नेपाली क्रिकेट टिमका होनहार क्रिकेटर शरद भेषवाकरले चोरेका छन् । चलचित्र ‘झ्यानाकुटी’ निर्माण गरिरहेकी निशाले आफैँ  झ्यानाकुटी गर्दै विवाह गर्न थालेको खबर आएपछि साप्ताहिकले निशासँग टेलिफोनमार्फत सम्पर्क गर्ने प्रयास गर्‍यो । दुई दिनसम्म जति पटक कल गरे पनि निशाले फोन उठाइनन् । आइतबार बिहान करिब नौ बजेतिर बालुवाटारको एक कफी सपमा निशालाई भेट्दा उनले भनिन्– ‘म यतिबेला सम्पूर्ण मिडियासँग टाढिएकी छु । साप्ताहिकसँग पुरानो चिनाजानी भएकाले मात्र भेट्दैछु ।’

निशा मिडियासँग टाढिनुको कारण पनि एउटै रहेछ, ‘उहाँलाई मन पर्दैन ।’ उहाँ अर्थात् निशाको मनमा राज गर्ने शरद भेषवाकर । शरदलाई चिन्नेहरूलाई थाहा छ, उनी अन्तरमुखी स्वभावका छन् । शरद मिडियासँग क्रिकेटका विषयमा नजिकिए पनि व्यक्तिगत कुरामा भने त्यति खुल्दैनन् । जबकि निशा भने मिडियासँग नजिक रहन्छिन् र आफ्ना बारेमा खुलस्त कुरा गर्ने स्वाभावकी छिन् । दुई फरक स्वभावका शरद र निशा कसरी नजिक भए त ? निशाको जवाफ थियो– ‘चुम्बकका दुई ध्रुव एक–अर्कामा आकर्षित भएजसरी ।’

गत शनिबार साँझ नै भोलिपल्ट आइतबार बिहान कफी पिउँदै बालुवाटारको कफी सपमा भेट्ने तय भैसकेको थियो, धेरै पटकको मिसकलपछि उनले नै कलब्याक गरेर समय मिलाएकी थिइन् । उनलाई झन्डै आधा घण्टा कुर्ने क्रममा, पर्खन झिंजो लाग्न थालिसकेको थियो । नआउने पो हुन् कि भन्ने कुरा मनमा लागिरहेका बेला सानो रातो कारमा निशाको प्रवेश भयो, खुला छाडिएको केश तथा मेकअपरहित मुहारमा उनी थप सुन्दर देखिइरहेकी थिइन्, पर्खाइको पीडा बिर्साउने गरी उनको प्रवेश भएको भयो । ‘सरी, सरी’ भन्दै टेबल नजिक आउँदै उनले पहिले सोधिन्– ‘के खाने ?’

ब्रेक फास्टको बाइट्स र कफीको चुस्कीसँग कुराकानी अघि बढ्यो । सगरमाथा आरोहण गर्ने बेलासम्म पनि निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरको सम्बन्ध चिनाजानीमै सीमित रहेछ । मायाको कथा कहाँबाट सुरु भयो ? अध्ययनशील निशा अधिकारीले ‘डिप्लोमेटिक’ जवाफ दिइन्– ‘हाम्रो मायाको कुनै कथा छैन, न सुरुवात न वर्तमान र अन्त्य त हुँदै हुँदैन, आई एम स्योर ।’

आज शुक्रबार, असार १६ गते नितान्त पारिवारिक जमघटमा क्रिकेटर शरद भेषवाकर नेपाली चलचित्रकी चर्चित अभिनेत्री निशा अधिकारीसँग लगनगाँठो कस्दैछन् । होटल डेला अन्नपूर्णमा हुन लागेको वैवाहिक कार्यक्रममा शरदका नजिकका साथी, आफन्त र परिवारजन एवं निशाका पनि आफन्त र परिवारका सदस्यहरूमाझ वैवाहिक विधि पूरा हुनेछ । अग्निलाई साक्षी राखेर शरदको नामको सिन्दूरले सिउँदो रंगाइसकेपछि निशा पूर्ण रूपमा शरदकी हुनेछिन् भने शरद पनि निशाबाट जीवनसंगिनीका रूपमा पाउने मायामा ‘क्लिनबोल्ड’ हुनेछन् ।

शरद र निशाबीच प्रेमको सुरुवात भएको निशा सगरमाथा चढेर फर्किएपछि नै हो, चार वर्षअघि । चार वर्षअघि चलचित्र ‘फिटकिरी’को विशेष शोमा पुगेका निशा र शरद त्यसपछि मिडियामा प्रेमी–प्रेमिकाका रूपमा छाइरहे । क्रिकेटर शक्ति गौचनका पिताको निधनमा शोक व्यक्त गर्न आर्यघाट पुगेका बेला होस् वा पछिल्लो पटक ओशो तपोवनमा स्वामी आनन्द अरुणको जन्मदिवसमा ध्यान एवं प्रवचनमा मग्न भएका बेला होस्, निशा र शरदको जोडीका तस्बिर अनलाइन तथा अन्य मिडियाहरूमा आइरहे ।

वास्तवमा निशा आफूलाई ‘स्पोर्टी’ भन्न रुचाउँछिन् । सगरमाथाको उचाइ नापेर आइसकेपछि उनले आफूमा ‘स्पोर्टी नेचर’ भएको कुरा प्रमाणित पनि गरिसकेकी छिन् । खेल र खेलाडी भनेपछि हुरुक्क हुने निशा सन् २०१२ को एक दिन तेक्वान्दो खेलाडी दीपक विष्टका साथ रंगशाला पुगेकी थिइन्, जहाँशरद भेषवाकरसँग उनको पहिलो भेट भयो, तर शरदका अनुसार भने २००८ मा प्रो फोट्टी भनेर काठमाडौंमै एउटा क्रिकेट प्रतियोगिता भएको थियो, निशा त्यसको प्रमोसनमा पुगेकी थिइन् । शरदको कुरालाई मान्दा उनीहरूको चिनाजान भएको नौ बर्ष भैसकेको छ । जे जसरी र जहिले भेटे पनि खेल र खेलाडीकी प्रशंसक निशा अधिकारी शरदसंगको निकटताका कराण नेपाली क्रिकेट टिमका सबैसँग राम्रोसँग घुलमिल भइन् । अनि शरद भेषवाकरसँगको उनको मित्रता थप झांगिदै गयो ।

यो मित्रता लामो समय चल्यो । उक्त मित्रतापछि निशा क्रिकेटका कार्यक्रमहरूमा पुग्न थालिन् । भेटघाटको फ्रिक्वेन्सी पनि बढ्दै गयो । ‘भेट्दा–भेट्दै यति फेमिलियर भइयो कि केही कुरा सेयर गर्नु पर्‍यो भने पनि ऊ मात्र दिमागमा आउन थाल्यो । ऊ मेरो मनका सबै कुरा सेयर गर्ने साथी भैसकेको थियो । त्यसपछि हामी नेचुरल्ली नै रिलेसनसिपमा गैसकेको महसुस भयो ।’ निशाले चार वर्षयताका दिनहरू सम्भँmदै भनिन् । शरदसँगको रिलेसनसिपमा निशा निकै रमाएकी थिइन्, त्यतिबेला उनी खुलेर प्रस्तुत भएकी थिइन् । सामाजिक सञ्जालमा समेत निशाले आफू शरदसँगको प्रेममा रहेको खुलासा गर्न भ्याइन् । त्यसपछि त निशा र शरदको जोडी जहाँ गए पनि जता पुगे पनि ‘पापाराजी’ फोटोग्राफरहरूको फेला पर्न थाले । अन्तरमुखी स्वाभावका शरदलाई यस्ता प्रसंग र किस्साहरूले मज्जा लाग्ने कुरै थिएन ।
‘हामी प्रेममा थियौं, तर अब मिडिया वा सामाजिक सञ्जालमा आफ्नो प्रेम नदेखाउने र सार्वजनिक कार्यक्रमहरूमा खुला रूपमा सँगै उपस्थित नहुने निधो गर्‍यौं ।’ त्यसपछि शरद र निशाले सार्वजनिक भेटलाई पूरै कम गरे ।

‘त्यसपछि तपाईंहरूबीच ब्रेकअप भएको हल्ला चल्यो होइन ?’
निशाले भनिन्– ‘होइन, ब्रेकअपको हल्ला त्यतिबेला भयो, जब हामी रिलेसनसिपमै थियौं । म अमेरिका जाँदा हामीले आफ्नो सम्बन्धलाई खुला रूपमा नदेखाउने निधो गरिसकेका थिएनौं ।’ यद्यपि अमेरिका गएपछि त केही मिडियामा शरद र निशाबीच ‘ब्रेकअप’ भन्ने गसिप लेखिन थाले । त्यही बेला अमेरिकामा एक सामाजिक सहयोगका लागि निशाले केश मुण्डन गराइन् । ‘त्यसमा पनि मिडियाले मलाई छाडेन । शरदसँगको ब्रेकअपपछि अमेरिका धस्सिएकी निशाले प्रेम पीडामा परेर केश मुण्डन गराइन भन्नसम्म बाँकी राखेनन् । म उताबाट फर्केर आएपछि मात्र हो हामीले अब आफ्नो प्रेमलाई खुला राख्नु हुन्न भन्ने सोचेको ।’

गसिप र हल्लाहरूमा केही सत्यता भए पनि आफ्नो रिलेसनलाई घरी लुकाउँदै घरी देखाउँदै निशा र शरद बल्ल आएर एक हुने निर्णयमा पुगेका छन् । अब निशा अधिकारी मल्ल सम्भवत: आफ्नो थरमा थप एउटा थर थप्दै निशा अधिकारी मल्ल भेषवाकर हुनेछिन् अनि शरदलाई पनि मनकी सुन्दर र बहिरी सुन्दरताकी खानी निशालाई पाएर जीवन धन्य भएको महसुस हुनेछ । चार वर्षको यो प्रेम आज शुक्रबार विवाहमा परिणत हुँदैछ, होटल अन्नपूर्णबाट दुलहीको भेषमा सजिएकी निशालाई शरदले सिफल, ज्ञानेश्वरस्थित आफ्नो निवासमा भित्राउने छन् ।

यसरी हुँदैछ विवाह 
३२ वर्षीय शरद तथा ३० वर्षीया निशाका अभिभावकहरू आफ्ना सन्तानले रोजेको जीवनसाथीप्रति खुसी छन् । निशाको परिवारमा यो उनी जन्मिएपछिको सबैभन्दा ठूलो पारिवारिक कार्यक्रम हो । निशाका दाइ अमेरिकामा छन् । उनी पनि बहिनीको विवाहका लागि स्वदेश आइसकेका छन् । विवाहको टुंगो ६ महिनाअघि नै लागिसकेको थियो, अर्थात् हिन्दू संस्कारअनुसार कुरा छिन्ने कार्यक्रम सम्पन्न्न भैसकेको थियो । उक्त कार्यक्रमका बारेमा निशा र शरदका नजिकका साथी तथा आफन्तहरूलाई पनि जानकारी थिएन । दुई परिवारका अभिभावकहरूका सामु कुरा छिनियो, तर विवाह गर्ने तिथि/मिति भने टुंगो लगाइएन । निशाका अनुसार दुई वर्षभित्र जहिले पनि विवाह हुन सक्थ्यो ।

निशालाई आफ्नो कन्सेप्टमा एउटा चलचित्र बनाउने इच्छा थियो । उनले आफ्नो त्यो भित्री इच्छा चलचित्र ‘झ्यानाकुटी’ मार्फत पूरा गर्दैछिन्, जसको उनी कन्सेप्ट डिजाइनर तथा निर्मात्री हुन् । अहिले छायांकन सम्पन्न भएर ‘झ्यानाकुटी’को पोस्टप्रोडक्सनको काम भैरहेको छ अनि दुई महिनापछि क्रिकेटको सिजन आरम्भ हुँदैछ र शरद त्यसपछि पूरै व्यस्त रहनेछन् । निशा पनि भदौ ८ गते प्रदर्शनमा आउने चलचित्र ‘झ्यानाकुटी’को प्रचार–प्रसारमा व्यस्त हुनेछिन् । ‘यतिबेला हाम्रो फुर्सद छ, केही साताका लागि । त्यसैले शरद र मैले सल्लाह गर्‍यौं कि ल यही बेला हो विवाह गर्ने ।’

होटल डेला अन्नपूर्णमा हुने वैवाहिक कार्यक्रममा गोडा धुने संस्कारबाहेक अरू सबै विधि पूरा गरिने निशा बताउँछिन् । निशा भन्छिन्– ‘आफूभन्दा अग्रज र सम्मान गर्नुपर्ने नातेदार एवं आफन्तहरूलाई कसरी आफ्नो खुट्टाको पानी ख्वाउने र खुट्टा ढोगाउने ? मलाई परम्परागत संस्कार भए पनि यो कुरा मन परेको थिएन । आफ्नो विवाहमा मैले त्यो संस्कार नगर्ने निधो गरेकी हुँ ।’ उनले यज्ञलाई साक्षी राखेर पढिने मन्त्रहरूमा पत्नीलाई डोमिनेट गरिने किसिमका मन्त्र नपढ्न समेत पुरोहितसमक्ष अनुरोध गरेकी छिन् । ‘हाम्रो विवाहमा पत्नीले बिहान उठेर पतिको गोडा ढोग्ने, गोडाको पानी पिउने जस्तो चलन चलाउने पुरुष प्रभुत्व समाजले तयार गरेको मन्त्र अग्निलाई साक्षी राखेर पढिने छैन ।’ –निर्भीक निशाले भनिन् ।
विवाहभन्दा अघि बुधबार मेहन्दी कार्यक्रमअन्तर्गत अभिनेत्री निशा अधिकारीले आफ्नो नजिकका सहकर्मी अभिनेत्री तथा संगीहरूसँग घरमै रमाइलो गरिन् । महिलाहरूले मात्र प्रवेश पाएको उक्त कार्यक्रममा निशाले आफ्नो हात तथा खुट्टा मेहन्दीका बुट्टाले रंग्याइन् ।

आइतबार साँझ नक्सालस्थित एक ब्याङक्वेटमा चलचित्र तथा खेल जगतका हस्ती तथा सेलिब्रेटीहरूको बाक्लो उपस्थितिमा निशा र शरदले विवाह भोजको आयोजना गरेका छन् । निशाले भनिन् –‘यो हामी दुवै जनाका तर्फबाट संयुक्त रूपमा दिइएको सामूहिक भोज हो जसमा हामी दुवै जना निम्तालुहरूसँग रमाइलो गर्न चाहन्छौं ।

विवाहपछि हनिमुन 
‘सोचेका छैनौं,’ –निशाले भनिन् । निशा र शरद दुवैलाई पानीसँग खेल्न निकै मनलाग्दो रहेछ । त्यसैले निशा भन्छिन्— ‘वाटर एड्भेन्चर’ जान सकिन्छ । ‘तर कहाँ ? हामी दुवैले प्लान गरिसकेका छैनौं,’ उनले भनिन् ।

‘अनि बच्चा ?’
‘मलाई छोरी मन पर्छ र मेरी छोरीलाई म आफूजस्तै बनाउँछु ।’

‘छोरा भयो भने ?’
‘शरद र मजस्तै समाजमा रिभोलुसन ल्याउने किसिमकै हुनेछ ।’ निशाले हँसिलो मुस्कान छर्दै भनिन् । खेलमा सशक्त शरद तथा अभिनय एवं हिम्मतमा सशक्त निशा अधिकारीलाई नयाँ पुस्ताका पावरफुल (शक्तिशाली) पुरुष एवं महिलाका रूपमा लिइन्छ । यी दुईको सम्बन्धलाई लिएर साप्ताहिकमा केही अघि प्रकाशित आवरण कथाको शीर्षक थियो ‘पावर अफ लभ’ र अहिले प्रेमको त्यही शक्तिले एउटा निश्चित आकार ग्रहण गरेको छ— ह्याप्पी म्यारिड लाइफ निशा एन्ड शरद ।

निशाका बारेमा शरद 

निशासँग तपाईंको सम्पर्क कसरी भयो?
२००८ मा प्रो फोट्टी शीर्षकमा काठमाडौंमा एउटा क्रिकेट प्रतियोगिता भएको थियो, निशा त्यसको प्रमोसनमा आएकी थिइन् । मैले उनलाई पहिलो पटक त्यही भेटेको हुँ । त्यसपछि पनि उनी क्रिकेटका कार्यक्रमहरूमा पुगिरहन्थिन्, तर मसँग जोडिएर नभै आयोजकहरूको इभेन्टका लागि नै उनी त्यहाँ उपस्थित हुन्थिन् ।

निशाबाट कसरी प्रभावित हुनुभयो ?
लाइफ पार्टनर यस्तो होस् जसले आफूलाई सधैं प्रेरित गरोस् भन्ने फिल हुन्थ्यो मलाई । म उनको व्यक्तित्वबाट प्रभावित थिएँ । उनमा सेलिब्रेटी आकर्षण पनि थियो । भाग्य नै भन्नुपर्ला, कता–कताबाट मिल्न पुग्यो ।

निशासँग जोडिनुअघि उनका बारेमा कति जानकारी थियो ?
साँच्ची भन्नुपर्दा उनीसँग भेट हुनुअघिसम्म उनी कस्ती खालकी युवती हुन्, मलाई केही थाहा थिएन । व्यक्तिगत रूपमा चिनेपछि नै थाहा हुने हो सबै । यद्यपि उनका अन्र्तवार्ताहरू हेर्दा एकदमै इम्प्रेसिभ लाग्थ्यो । सगरमाथा चढेको मान्छे, मजस्तै फरक हिसाबमा सोच्ने मान्छे भएकाले पनि उनी र ममा केही समानता छ जस्तो लाग्थ्यो ।

निशालाई चाहिँ तपाईंका बारेमा कति थाहा थियो ?
हाहा (यो प्रश्न त उनैसँग सोध्नुभएको भए हुन्थ्यो) । यद्यपि उनी नेपालको खेलकुदलाई एकदमै फलो गर्ने तथा एकदमै प्रबल राष्ट्रिय भावना भएकी युवती हुन् । उनको परिवारनै खेलकुदसँग जोडिएको छ । उनका बुवा, आमा, दाइ सबै खेलकुद प्रेमी हुनुहुन्छ । यही कारणले हुन सक्छ, निशामा पनि त्यो प्रभाव छ ।

निशाले मैदानमा तपाईंको खेल हेर्नुभएको छ ?
२००८ अघि मैदानमै आएर क्रिकेट हेरेजस्तो मलाई चाहिँ लाग्दैन । पछिल्ला दुई वर्ष तपाईंहरूले आफ्नो

प्रेमसम्बन्धलाई गोप्य र रहस्यमय हिसाबले राख्नुको कारणचाहिँ के हो ?
आफ्नो व्यक्तिगत जीवन किन धेरै सार्वजनिक गर्ने भनेर हो । प्रशंसकहरूले हाम्रा बारेमा जानकारी खोज्नुहुन्छ, म त्यो बुझ्न सक्छु । यद्यपि अलिकति व्यक्तिगत स्पेस पनि चाहिने हुनाले एक हदसम्मको प्राइभेसी कायम राखौं भन्ने फिल भएकाले हो ।

 यसले कत्तिको फाइदा भयो, यो बीचमा तपाईंको ब्याट पनि निकै चम्कियो ?
फाइदा–बेफाइदाका बारेमा मैले कहिल्यै सोचिनँ । मैले यही समयमा राम्रो खेल्नुले यो प्रसंगसँग सरोकार राख्छ जस्तो मलाई लाग्दैन । किनभने मानिसको व्यक्तिगत जीवन एउटा र व्यवसायिक जीवन अर्कै हुन्छ । मैदानमा ९० यार्ड भित्र छिरेपछि म आफ्नो परिवारका सदस्यलाई पनि सम्झिन्न् । घर परिवारको जति पनि दबाब, तनाव छ (सम्भवत: मेरो परिवारलाई यसो भन्दा नराम्रो लाग्ला) ती सब लिएर म कहिल्यै मैदानमा छिर्दिनँ । रगतमा क्रिकेट भएर होला मैदान प्रवेश गरेपछि म अरू केही सोच्दै सोच्दिनँ । मैदानभित्र बाहिरी कुरा सोच्ने भए सम्भवत: म यति लामो समय क्रिकेट खेल्न पनि सक्दिनथें ।

 निशाले तपाईंको क्रिकेट खेलका बारेमा कत्तिको कमेन्ट गर्छिन् ?
अहिलेसम्म त्यति कमेन्टचाहिँ गरेकी छैनन् । बरु म क्रिजमा हुँदा उनी बढी नर्भस हुन्छिन् कि जस्तो लाग्छ ।

निशाद्वारा अभिनीत चलचित्र कत्तिको हेर्नुभएको छ ?
चिनजान भएयता केही चलचित्रको प्रिमियरमा गएको छु । उनले अभिनय गरेका थुप्रै चलचित्र हेरेको छु । १–२ वटा बाहेक लगभग सबै हेरेको छु उनका फिल्म ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com