उपराष्ट्रपति चीन, उपप्रधानमन्त्री भारत जाँदै


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- उपराष्ट्रपति नन्दबहादुर पुन असार २२ गते चीन भ्रमणमा जाने भएका छन् । उपप्रधानमन्त्री कृष्णबहादुर महरा आइतबार (१८ गते) नै भारत जाँदैछन् । एक साताबीच दुई छिमेकी भारत र चीनको महत्त्वपूर्ण भ्रमण हुन लागेको हो ।
उपप्रधानमन्त्री महराको औपचारिक भारत भ्रमणका मुख्य तीन एजेन्डा तय भएको छ । नेपाल–भारत दुईपक्षीय संयन्त्रहरूलाई थप सक्रिय बनाउने (जसअन्तर्गत विभिन्न सहयोगको समीक्षा हुने), प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको तयारी गर्ने र सार्क शिखर सम्मेलनको वातावरण तय गर्ने भ्रमणका प्रमुख एजेन्डा तय गरिएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो । यीबाहेक पञ्चेश्वर, अरुण तेस्रो, सीमा नियमन, वर्षामा हुने डुबानलगायत विषयमा पनि छलफल हुने जनाइएको छ । दुईपक्षीय सद्भाव थप सबल बनाउन भ्रमण हुन लागेको परराष्ट्रले विज्ञप्तिमा जनाएको छ । महराले भारतीय विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंह, विपक्षी नेताहरू र नेपालका लागि पूर्वराजदूतहरूसँग भेटवार्ता गर्नेछन् । दिल्लीमा उनले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) ले अहिलेसम्म अघि बढाएको विषय र त्यसमा भइरहेका प्रगतिबारे पनि छलफल गर्नेछन् ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि महराको शिष्टाचार भेटका लागि पहल भइरहेको परराष्ट्रले जनाएको छ । असोज २ मा हुने गरी तोकिएको भारतसँग सीमा जोडिएको प्रदेश नं. २ को निर्वाचनका विषयमा समेत छलफल हुने स्रोतले बताएको छ । दिल्लीस्थित नेपाली दूतावासले गैरआवासीय नेपाली राजदूतहरूको जमघट पनि गराउनेछ । नेपालसँग सम्बन्ध राख्ने कैयौं मुलुकको दिल्लीस्थित दूतावासले नेपालसमेत हेर्दै आएका छन् । यस्ता दूतावासको संख्या ७९ छ । राष्ट्रसंघको मानव अधिकार परिषद् सदस्यमा नेपालले उम्मेदवारी दिएकाले उनीहरूसँग भोट माग्ने उद्देश्यले सम्बोधन गर्न लागिएको अधिकारीहरूले जनाए । यो विषयमा महराले भारत सरकारसँग पनि आग्रह गर्ने तयारी छ ।
भारत भ्रमणमा जानुअघि महराले चिनियाँ राजदूत यु होङ र सार्कका महासचिव अम्जद हुसेन बी सियाललगायतसँग भेटवार्ता गरेका छन् । महासचिव सियालसँग उनले सार्कको आगामी शिखर सम्मेलनको वातावरण बनाउन अध्यक्ष मुलुकका नाताले पहल गर्ने बताएका छन् । चिनियाँ राजदूतसँगको भेटमा उनले बेल्टन रोड इनिसिएटिभ्स (बीआरआई) मा नेपाल सहभागिताले अन्य मित्रहरूलाई समेत एउटा सद्भाव बनाउने आधार रहेको बताएका थिए । उनले त्यसमा नेपालको सहभागिताप्रति ढुक्क हुन चीनलाई आश्वस्त पारेका थिए । बीआरआईमा भारतले सहमति जनाएको छैन ।
उनले भारत जानुअघि कतारका राजदूत अहमद जसिम महोम्मेद अली अल हमर, जापानका राजदूत मसासी ओगवासँग पनि भेटवार्ता गरेका छन् । महराको भ्रमणको तीन साताभित्र प्रधानमन्त्री देउवाको भारत भ्रमण हुने परराष्ट्र अधिकारीले जनाए । देउवा भ्रमणको तिथि महराको भ्रमणमा तय हुने पनि उनीहरूले बताएका छन् । देउवाको भ्रमणपछि भारतीय प्रधानमन्त्री मोदी, विहारका मुख्यमन्त्री नीतिश कुमार र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नेपाल भ्रमणको समेत पहल हुने बताइएको छ । अघिल्लो दाहाल सरकारमा अर्थमन्त्री रहँदा महराले दाहालका विशेष दूतका रूपमा चीन भ्रमण गरेका थिए ।
महराको दक्षिणी यात्रा सम्पन्न भएलगत्तै उपराष्ट्रपति नन्दबहादुर पुनले असार २२ मा उत्तरी छिमेकी चीनको भ्रमण गर्नेछन् । चीनको कान्सु प्रान्तको लान चौ सहरमा आयोजना हुने लान चौ मेलामा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् । २३ औं लान चौ मेलामा यसपटक नेपाल र मलेसिया अतिथि मुलुक रहनेछन् । अघिल्लो वर्ष यही समयमा कुनमिङ मेलामा पनि पुनले नै सहभागिता जनाएका थिए ।
चीनले नेपाललाई महत्त्वपूर्ण मुलुकका रूपमा व्याख्या गर्दै परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले नियमित पत्रकार सम्मेलनमा भने, ‘लान चौ मेलाको अतिथि मुलुकमा नेपाललाई यसपटक हामीले स्वागत गर्नेछौं ।’ प्रवक्ता लुले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालले बीआरआईमा देखाएको सक्रियताको प्रशंसा गरेका थिए । बीआरआईमा नेपालको सहभागिता अर्थपूर्ण भन्दै उनले यसलाई नेपालले समेत अवसरका रूपमा लिनेमा आफूहरू विश्वस्त रहेको बताएका छन् । चीन र नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सहयोगात्मक सम्बन्ध यस्ता सहकार्यले थप प्रवद्र्धन हुने उनले स्पष्ट पारे । उक्त मेला असार २२ देखि २५ सम्म हुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com