राजपाका नेता विजयी


प्रकाशित मिति : असार १७, २०७४ शनिबार

असार १७, २०७४- कपिलवस्तु नगरपालिका १ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नगर नेता सुदीप पौडेल वडा अध्यक्षमा विजयी भएका छन् । राजपाले चुनावमा भाग नलिएपछि पौडेल बहुजनशक्ति पार्टीबाट निर्वाचन लडेका थिए। पौडेलसँगै खुला सदस्यमा राजपाका विष्णुप्रसाद बारी र गुलाममुहम्मद दर्जी पनि विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्यमा पनि भानमती धोवी निर्वाचित भएकी छन् । महिला सदस्यमा भने कांग्रेसकी कौशिल्या गुप्ता निर्वाचित भएकी छन् ।

मायादेवी गाउँपालिका वडा ८ को वडा अध्यक्षमा पनि राजपा समर्थक कृष्णनारायण तिवारी विजयी भएका छन् । उनकै प्यानलबाट दुई खुला सदस्यमा रामशंकर लोध र वेदनिधि शुक्ल विजयी भएका छन् । त्यस्तै महिला सदस्यमा सुमित्रा यादव र दलित सदस्यमा तारादेवी चमाइन विजयी भएका छन् । तिवारीसहितको प्यानल बहुजन शक्ति पार्टीबाट उठेका थिए । जिल्लामा डेढ सयभन्दा बढी पदमा राजपाका नेता/कार्यकर्ता बहुजन शक्ति पार्टीबाट निर्वाचनमा भाग लिएका छन् ।
कपिलवस्तु नगरपालिकामा भने राजपा कार्यकर्ता खुला रूपमै चुनाव लडेका थिए । राजपा जिल्ला अध्यक्ष मण्डल सदस्य तथा मेयरका स्वतन्त्र उम्मेदवार रामदास गुप्ताले भने, ‘उम्मेदवारी दिएनौं भने यहाँको वर्चस्व गुम्ने हुँदा चुनावमा सहभागी भएका हौं ।’ गुप्तासँगै राजपाका नेता वासुदेवप्रसाद कसौधन पनि उपमेयरमा स्वतन्त्र उम्मेदवार बनेका छन् । मेयरका प्रत्यासी गुप्ता मतगणनामा अघि छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com