मतदानमा मधेसी समुदाय अगाडि


प्रकाशित मिति : असार १५, २०७४ बिहीबार

असार १५, २०७४- प्रदेश १ का १ सय ३७ स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भएको छ । यस प्रदेशका एक महानगर, २ उपमहानगर, ४६ नगरपालिका र ८८ गाउँपालिका मा ७१.५८ प्रतिशत मत खसेको छ । निर्वाचनमा मधेसी मतदाताको सहभागिता अझ उत्साहजनक देखिएको छ । २६ लाख ८५ हजार १ सय ८७ मतदातामध्ये १९ लाख २२ हजार २ सय ४१ ले मताधिकार प्रयोग गरे ।
चुनावको बहिष्कार गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आहवान गरेको बन्द र विप्लव नेतृत्वको माओवादीले सुरक्षा बिथोल्ने प्रयास गरे पनि १४ वटै जिल्लामा शान्तिपूर्ण मतदान भयो । चर्को घाम र कतै भारी वर्षाको अवरोधबीच पनि मतदाताको सहभागिता उल्लेख्य रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयहरूले कान्तिपुरलाई जनाए ।
प्रदेश १ को पहाडी समुदायमा भन्दा तराई–मधेसका सुनसरी र मोरङका मधेसी समुदाय बहुल क्षेत्रमा बढी मतदान भयो । ती क्षेत्रमा पुरुषभन्दा महिला मतदाता बढी थिए । मधेसका अधिकांश पुरुष वैदेशिक रोजगारीमा गएकाले महिलाको सहभागिता बढी देखिएको हो ।
पार्टीले बहिष्कार गरे पनि सुनसरी र मोरङमा राजपाका कार्यकर्ता र तिनका समर्थकसमेत मतदानमा सहभागी भए । राजपाका कार्यकर्ता र समर्थकसमेत कतै स्वतन्त्र उम्मेदवारी दिएर, कतै माओवादी केन्द्रका र कतै कांग्रेसका उम्मेदवारलाई मत दिएर चुनावमा सहभागी भए ।
अशक्त र वृद्धवृद्धाले हवीलचियर र गाडीमा आएर मतदान गरेका थिए । मोरङको धनपालथान गाउँपालिकास्थित मतदान केन्द्रमा मतदानका क्रममा एक वृद्धको मृत्यु भएको छ । झापा र ओखलढुंगामा पनि मतदान गर्न आएका एक/एक जना वृद्धको पनि बेहोस भएर ढलेपछि मृत्यु भयो ।
बच्चा जन्माएको दुई घण्टापछि नै एक सुत्केरीले विराटनगर महानगरको कञ्चनबारी मतदान केन्द्रमा मत दिएकी छन् ।
प्रदेश १ मा सबभन्दा बढी सखुवासभामा ७५ प्रतिशत र सबभन्दा कम खोटाङमा ६५ प्रतशत मतदान भएको छ । निर्वाचन कार्यालयका अनुसार ताप्लेजुङमा ७१, पाँचथरमा ६७, इलाममा ७७, झापामा ७३, संखुवासभामा ७१, तेह्रथुममा ७१, भोजपुरमा ६६, धनकुटामा ७३, मोरङमा ७२, सुनसरीमा ७४, उदयपुरमा ६९, खोटाङमा ६३, ओखलढुंगामा ७० र सोलुखुम्बुमा ६७ प्रतिशत मतदान भएको छ ।
पाँचथर र उदयपुरका कतिपय स्थानीय तहमा बुधबार साँझदेखि नै मतगणना सुरु हुने जानकारी त्यहाँका प्रमुख निर्वाचन अधिकृतको कार्यालयले दिएका छन् । अन्य जिल्लाका स्थानीय तहमा सर्वदलीय बैठकको निर्णयअनुसार केहीमा बुधबार राति र धेरैजसोमा बिहीबार बिहानदेखि मतगणना सुरु हुने जानकारी मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएका छन् ।
प्रदेश १ मा कुनै पनि मतदान केन्द्रमा मतदान स्थगित भएन । ‘सबै स्थानीय तहका सबै मतदान केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भयो । कतै चर्को घाम त, कतै भारी वर्षाका बाबजुद मतदाताको सहभागिता ऐतिहासिक र उत्साहजनक रह्यो,’ पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका डीआईजी रमेश भट्टराईले कान्तिपुरसँग भने ।
१ नं प्रदेशका तराई–मधेसमा पर्ने तीनवटा जिल्ला सुनसरी, मोरङ र झापामा चर्को घाममा असिनपसिन भएका पहाडिया र मधेसी मतदाताले घण्टौं लाइन बसेर मतदान गरेका थिए । हरेक मतदान केन्द्रमा मतदाता र रमितेको ठूलो भीड लागेको थियो । कतै पनि पार्टी, उम्मेदवार र तिनका कार्यकर्ताबीच सामान्य वादविवादसमेत भएन ।
तीनवटा संसदीय, दुइटा स्थानीय निकाय र दुइटा संविधानसभा चुनाव सफलतापूर्वक सम्पन्न भएका कारण मुलुकमा लोकतान्त्रिक अभ्यासले जरो गाडदै गएको यस पटकको स्थानीय तहको चुनावमा पार्टीहरूबीचको सौहार्दपूर्ण प्रतिस्पर्धाले पनि पुष्टि गर्‍यो । यसले मुलुकमा लोकतान्त्रिक अभ्यास साँच्चिकै परिपक्व हुँदै गएको सन्देश दिएको विश्लेषण विभिन्न दलका नेताको छ । उच्च हिमाली जिल्लाको कतिपय स्थानीय तहको मतपेटिका मतगणनास्थलमा ल्याउन नसकिएको जानकारी प्रहरीले दिएको छ । डीआईजी भट्टराईका अनुसार ताप्लेजुङ र संखुवासभाका दुर्गम स्थलबाट मतपेटिका बुधबार साँझै हेलिकप्टरबाट मतगणना केन्द्रसम्म ल्याइसकिएको छ । प्रतिकूल मौसमका कारण सोलुखुम्बु र संखुवासभाका बाँकी केही ठाउँको मतपेटिका बिहीबार मात्र हेलिकेप्टरबाट मतगणना स्थलसम्म ल्याउन सकिने जानकारी डीआईजी भट्टराईले दिए । उनका अनुसार प्रदेश १ का बाँकी सबै स्थानीय तहका मतपेटिका मतगणनास्थलसम्म राति १ बजेसम्ममा ल्याइसकिने जानकारीसमेत उनले दिए ।
उनका अनुसार प्रदेश १ मा सबभन्दा ढिलो गरी विराटनगर महानगरको शिक्षा सदन मावि मतदान केन्द्रमा राति ८ बजे मात्र मतदान सम्पन्न भयो । बिहान वर्षा भएकाले केही स्थानमा १ घण्टा ढिलो सुरु भएको थियो । प्रहरीले फर्जी मत खसाल्ने र हुलदंगा गर्न खोजेको आरोपमा प्रदेश १ बाट ७ जनालाई पक्राउ गरेको जानकारी डीआईजी भट्टराईले दिए । अधिकांश स्थलमा शान्तिपूर्ण मतदान सम्पन्न भएको जानकारी दिँदै भट्टराईले भने, ‘यो प्रदेशमा कुनै पनि मतदान केन्द्रमा लाठीचार्जसम्म गर्नुपरेन ।’
मतदानका क्रममा बुधबार प्रदेश १ का ५ ठाउँमा बम फेला परेका थिए । भोजपुरमा २, इलाममा १, मोरङमा १ र खोटाङमा १ स्थानमा बम फेला परेको र बिनाक्षति डिस्पोजल गरिएको जानकारी प्रहरीले दिएको छ । फर्जी मत हाल्न प्रयास गर्ने मोरङमा १ र धनकुटामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com