ताजकिस्तानलाई होम ग्राउण्डमा हराउने नै छ


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

असार १४, २०७४-
एसिया कपमा नेपालको छनोटलाई लिएर राष्ट्रिय टिमका कप्तान विराज महर्जन अझै उत्तिकै आशावादी छन् । उनको नेतृत्वमा हालै नेपालले यमनविरुद्ध गोलरहित बराबरी खेल्यो र त्यसमा टिमको प्रदर्शन पनि प्रशंसनीय रह्यो । अब नेपालले छनौटको अर्को खेलमा ताजकिस्तानको सामना गर्नेछ । उसबीच विराट नेपालका लागि सर्वाधिक खेल खेल्ने खेलाडी हुने बाटोमा पनि छन् । राजु शाक्यले नेपालका लागि सर्वाधिक ६८ खेल खेलेका छन् । विराजको क्याप यमनसँगको खेलपछि ६४ पुगेको छ ।

यमनविरुद्ध क्लिन सिट राख्न सक्नु उपलब्धि हो ?
भारतविरुद्धको फ्रेन्डली म्याचमा हाम्रो डिफेन्समा राम्रो तालमेल हुन सकेन् । यमनविरुद्ध हामीले सच्चिएर खेल्यौं र गोल खानबाट जोगियौं । यस अर्थमा यसलाई उपलब्धि नै मान्नुपर्छ ।

ताजकिस्तानविरुद्ध कस्तो नतिजाको अपेक्षा गर्ने ?
ताजकिस्तानविरुद्धको अर्को खेल हामी घरमै खेल्दैछौं र त्यसमा जित नै हाम्रो उद्देश्य रहनेछ । उक्त खेलमा हामी तीन अंकका लागि खेल्नेछौं । यमनविरुद्धको बराबरीपछि हामी यो नतिजाका लागि आशावादी छौं । ताजकिस्तानलाई हराउन सक्यौं भने छनौटमा हाम्रो स्थिति बलियो हुनेछ ।

त्यसो भए नेपालको सम्भावना अझै जीवितै छ ?
निश्चित रूपमा । ताजकिस्तानलाई हराउन सक्यौ भने अंक तालिकामा हाम्रो स्थिति बलियो हुनेछ । एसियाकपमा छनौट हुने हाम्रो सपना अझै कायमै छ ।

नेपालका लागि सबैभन्दा बढी खेल खेल्ने उपलब्धि नजिक रहँदा कस्तो अनुभव हुन्छ ?
नेपालका लागि सबैभन्दा बढी खेल खेलेको कीर्तिमान राजु शाक्य सरको नाममा छ । शाक्य हामी सबैका लागि आदर्श हुन् । उनको छेउ पुग्न सक्नु पनि ठूलो कुरा हो । मेरो सबैभन्दा ठूलो उद्देश्य आफूले टिमका लागि सकेसम्म योगदान गर्नु मात्र हो ।

त्यो कीर्तिमानको प्रतीक्षामा हुनुहुन्छ ?
जुन दिन यो कीर्तिमान बन्नेछ, अथवा बराबरी मात्र गर्न सकिनेछ, त्यो मेरा लागि ठूलो उपलब्धि हुने त निश्चित नै छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com