एकसय चार वर्षीय वृद्धद्वारा मतदान


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

दमक, १४ असार । झापाको कमल गाउँपालिका–५ स्थित मतदान केन्द्रमा १०४ वर्षीय वृद्धले स्थानीय तह निर्वाचनमा मतदान गर्नुभएको छ ।

कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविको मतदान केन्द्रबाट स्थानीयवासी १०४ वर्षीय वद्ध रणबहादुर कार्कीले मतदान गर्नुभएको हो । उहाँ कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुनुहुन्छ ।

त्यसैगरी, सोही वडाकी ५२ वर्षीया पूर्ण अशक्त दुर्गा गुरागार्इंले पनि ह्विलचियरबाट नै मतदान गर्नुभएको छ । उहाँले सोही मतदान केन्द्रबाट मतदान गर्नुभएको थियो ।

कमल गाउँपालिकाको सबैभन्दा ठूलो मतदान केन्द्र मानिने त्यस वडामा पाँच हजार २८ मतदाता छन् । जारी मतदानमा अहिले बिहान १० बजेसम्म त्यस मतदान केन्द्रबाट एक हजार मतदाताले मत खसालेको त्यहाँका मतदान अधिकृतले जनाएका छन् ।

छयान्नब्बे वर्षीय वृद्धद्वारा मतदान

यसैबीच, पाल्पा जिल्लाको रामपुर नगरपालिकाको दरैठाँटी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९६ वर्षीय वृद्धद्वारा मतदान प्रक्रिया सुरु भयो । रामपुर नगरपालिका–६ निवासी सुब्बा लोकनाथ उपाध्याय रेग्मीले सो मतदान केन्द्रबाट पहिलो मतदान गर्नुभएको छ ।

यस क्षेत्रका समाज विकासका अभियन्तासमेत रहनुभएका रेग्मीले यस निर्वाचनपछि गाउँका सानादेखि ठूला ठूला विकास निर्माणका योजनाले गति लिने आशा गर्नुभएको छ । रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com