‘मनसुन राति सक्रिय, दिउँसो सफा’


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

असार १३, २०७४- सोमबार रातिदेखि नै देशभरी मनसुन फैलिए पनि मुसलधारे र लगातार वर्षाको संभावना कम भएको मौसमविद्हरुले अनुमान गरेका छन् । बुधबार पनि बिहानदेखि अपरान्हसम्म मौसम सफा रहने बताउँदै मौसमविद्ले दिउँसो दुई/तीन बजेसम्म मुलुकभर भारी वर्षाको संभावना नरहेको अनुमान गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले ‘बिहीबारसम्म दिउँसोको समयमा भारी वर्षाको संभावना नरहेको’ बताए ।

‘सोमबार रातिदेखि देशैभर मनसुन फैलिए पनि बुधबार दिउँसो भारी वर्षाको संभावना देखिन्न,’ पौडेलले मंगलबार कान्तिपुरसित भने, ‘सूदूरपश्चिमका पहाडी जिल्लामा बुधवार अपरान्हदेखि हल्का वर्षा हुने देखिन्छ, अझै दुई/तीन दिन मुसलधारे वर्षाको संभावना न्यून छ ।’ बुधबार प्रदेश नं १, ५ र ७ मा स्थानीय तहको निर्वाचन हुँदैछ । महाशाखाकी अर्की मौसमविद् विभूती पोखरेलले केही दिनयताको मौसमी विश्लेषण गर्दा ‘मनसुन रातको समयमा सक्रिय देखिएको’ र अझै केही दिनको मनसुनको यही गति हुने संभावना देखिएको बताईन् । ‘मनसुनको विशेषता पनि राति सक्रिय हुनु हो,’ पोखरेलले भनिन्, ‘बुधबार र बिहीबार पनि रातभरी वर्षा हुने र विहानपख मौसम खुल्ने देखिन्छ ।’

सूदूरपश्चिमका तराईका जिल्ला, मध्यभागका तराई र पूर्वको जिल्लामा पनि दिउँसोको समयमा भन्दा मध्यान्हपछि वर्षा हुने महाशाखाका विश्लेषण छ । २९ जेठमा पूर्वको झापा हुँदै प्रवेश भएको मनसुन सोमवार (१२ गते) मात्र सूदूरपश्चिम पुगेको हो । यसबीचमा खासै धेरै वर्षासमेत भएको छैन । ‘मुसलधारे वर्षा हुन अझै केही समय लाग्ने देखिन्छ,’ उनले भने, ‘देशैभर केही दिन यता रातको समयमा वर्षा भइरहेको छ, अझै त्यस्तै वर्षाको संभावना छ ।’

मनसुन सुरु भएको दुई साता बितिसके पनि अहिलेसम्म मुलुकका कुनै पनि भुभागमा भारी वर्षा भएको छैन । जुन भन्दा जुलाई (असार तेस्रो साता र साउन) मा मनसुनी वर्षा बढी हुने गरेको छ । सोमवार पोखरामा ८७ मिलिमिटर वर्षा भएको थियो । यो नै यो वर्षको मनसुनको सबैभन्दा बढी वर्षा हो । सामान्यतया ५० देखि ६० मिलिमिटरसम्म मात्र वर्षा हुने संभावना रहेको पौडेलले उल्लेख गरे । महाशाखाले मंगलवार बुलेटिन प्रकाशित गर्दै मंगलवार राती पनि देशका प्राय भूभागहरुमा वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com