दाेस्रो चरण : ६२ हजार उम्मेदवार चुनावी प्रतिस्पर्धामा !


प्रकाशित मिति : असार १३, २०७४ मंगलबार

स्थानीय तह दोश्रो चरणको निर्वाचन अन्र्तगत प्रदेश नं.१, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त अयोधी प्रसाद यादवले   मिडिया सेन्टरमा पत्रकार सम्मेलनमा बाेल्दै निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले मतदान प्रक्रियामा सहभागी हुन मतदाताहरुलाई आग्रह गरेका हुन् । भाेलि  बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानक हुने अायाेगकाे भनाइ छ । यसैगरी ८ हजार ३ सय ६४ मतदान केन्द्रमा आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएकाे छ ।

दोश्रो चरणको निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेका छन् ।  ४१ उम्मेदवार भने निर्विरोध निर्वाचित भइसकेका छन् ।  निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटाइएको छ ।

आयोगले जारी गरेको विज्ञप्तीकाे पूर्णपाठ :

१.   स्थानीय तहको दोस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा भोलि अर्थात् २०७४ असार १४ गते बुधबार हुने निर्वाचनको सम्पूर्ण तयारी आयोगले पूरा गरेको व्यहोरा समस्त मतदाता, आम जनता, राजनीतिक दल र सरोकारवालाहरूलाई अवगत गराउन चाहन्छु । भोलि बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि निर्धारण गरिएका ८ हजार ३६४ मतदान केन्द्रमा आवश्यक पर्ने सम्पूर्ण तयारी आयोगले पूरा गरिसकेको छ । भोलि बुधबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान केन्द्रमा प्रवेश गर्नुभएका मतदाताले मात्रै मतदान गर्न पाउनु हुने हँुदा सबै मतदाताले एक दिन राष्ट्रका लागि समय प्रदान गरी दुःख सहेर भए पनि मतदानमा सरिक भई आफूले रोजेको योग्य उम्मेदवारलाई मतदान गर्न म यहाँहरूसँग अनुरोध गर्दछु ।
२.   गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाको प्रमुख, उपप्रमुख र वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य पदका लागि हुन लागेको दोस्रो चरणको यो ऐतिहासिक निर्वाचनले स्थानीय तहको नेतृत्व गर्ने स्थानीय व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाको जिम्मेवारी निर्वाह गर्ने जनप्रतिनिधिहरूको चयन गर्ने छ । पहिलो चरणको निर्वाचनमा आदरणीय मतदाताहरूमा देखिएको व्यापक जनसहभागिताबाट आयोग ज्यादै उत्साहित भएको र पहिलो चरणमाभन्दा दोस्रो चरणमा यहाँहरु अझ बढी उत्सुक हुनुहुन्छ भन्नेमा निर्वाचन आयोग विश्वस्त छ । निर्वाचनमा सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको हुँदा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन् र आफ्नो अमूल्य मत सातजना उम्मेदवारलाई प्रदान गर्न सबै मतदाता महानुभावहरूसँग आयोग आग्रह गर्न चाहन्छ ।
३.   हामीलाई थाहा छ वर्षायाम सुरु भइसकेको छ, तपाईहरू वर्षदिनसम्म खान पुग्ने बाली लगाउने तयारीमा हुनुहुन्छ तर आयोगले तपाईहरुकै स्थानीय सरकारको नेतृत्व गर्ने जनप्रतिनिधिको निर्वाचन गराउन हाम्रा कर्मचारीहरुलाई तपाईको घर आँगनमा पठाइसकेको छ । असार १४   गतेलाई स्थानीय जनप्रतिनिधिहरू निर्वाचित गर्ने महान् पर्वको रूपमा मनाउँदै मतदानमा व्यापक सहभागिता जनाउन र असार १५ गते रोपाईं पर्व मनाउनसमेत आयोग समस्त मतदाताज्यूहरूमा हार्दिक अपील गर्दछ ।
४.   आदरणीय मतदाताहरू तपाईहरूले पक्कै पनि निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि जारी गरेको मतदाता परिचयपत्र आफ्नो मतदान केन्द्रबाट प्राप्त गरिसक्नु भएकै होला । मतदान गर्न जाँदा फोटोसहितको मतदाता परिचयपत्र लिएर मात्र मतदान केन्द्रमा जानुहुन म मतदाता महानुभावहरूसँग आग्रह गर्न चाहन्छु ।

यदि कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका परिचयपत्र हराएमा वा नष्ट भएमा तपाईहरुको मताधिकार सुनिश्चित गर्न आयोगले वैकल्पिक व्यवस्थासमेत गरेको छ । नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने निर्णय आयोगले गरेको जानकारी गराउँछु । साथै मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउनसमेत सम्बन्धित सबैलाई निर्देशन दिइएको छ ।
५.   मतदाता महानुभावहरु, फोटोसहितको मतदाता नामावलीमा तपाईको नाम समावेश छ भने मात्रै तपाईहरुलाई मतदानको अधिकार प्राप्त हुन्छ । यहाँहरुको नाम जुन मतदान केन्द्रको मतदाता नामावलीमा छ, सोही मतदान केन्द्रबाट मात्रै मतदान गर्न पाउनु हुने भएकाले तोकिएको मतदान केन्द्रमा गई आफूले रोजेका सातजना उम्मेदवारको चिह्नमा गोप्य तबरले मतपत्रमा स्वस्तिक छाप लगाई मतदान गर्नु हुन आग्रह गर्दछु । कुनै पनि मतदाताले नाम ढाँटेर अर्काको नाममा मतदान नगर्नु हुन अपील गर्दै कसैले त्यस्तो गैर कानुनी कार्य गरेमा कानूनबमोजिम सजायको भागी हुनुपर्ने व्यहोरासमेत स्मरण गराउन चाहन्छु ।
६.   अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असक्त वा विरामी मतदातालाई मतदान गर्ने कार्यमा प्राथमिकता दिई उचित व्यवस्थापन मिलाउन र सहज ढङ्गले मतदानको प्रबन्ध गर्न सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदान अधिकृतलाई आयोग निर्देश गर्दछ । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैं मत सङ्केत गर्न नसकेमा एकाघरको परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मतसङ्केत गर्न सक्नु हुने छ । यसरी मत सङ्केत गर्दा मतदाताको इच्छाविपरीत हुने छैन भन्ने आयोगले विश्वास लिएको छ ।
७.   गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा यो निर्वाचन हुँदैछ । यसका लागि कुल ६२ हजार ४०८ उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस निर्वाचनमा ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् । यस निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधिहरू निर्वाचित गर्ने छन् । यसका लागि देशभर ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।
८.   स्थानीय तह दोस्रो चरणको निर्वाचनमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन हुँदैछ । निर्वाचनमा ४८ संस्थाका ६ हजार ७३३ जना पर्यवेक्षकले निर्वाचन पर्यवेक्षण गर्ने छन् भने आयोगले ३५ वटै जिल्लामा अनुगमनकर्ता र सूक्ष्म अनुगमनकर्ता खटाएकोे छ ।
९.   दोस्रो चरणको निर्वाचनमा आयोगले नेपालस्थित कूटनीतिक नियोगका सदस्यहरुलाई तीनवटा प्रदेशका ६ वटा शहर धनकुटा, विराटनगर, भैरहवा, पाल्पा, धनगढी र डडेल्धुरामा अवलोकन भ्रमणको समेत व्यवस्था मिलाएको छ ।
आदरणीय मतदाता महानुभावहरू,
१०.  सुरक्षा निकायले शान्ति सुरक्षाको अवस्थालाई भरपर्दो बनाएको हुँदा कोही कसैबाट जनताको मताधिकारलाई कुण्ठित गराउने प्रयास भएमा सुरक्षाकर्मीले त्यस्ता प्रयासलाई विफल पार्ने कुरामा आयोग विश्वस्त छ । तपाईको अमूल्य मत कसैको लोभ, डर, त्रास र धम्कीमा नपरी स्वतन्त्ररूपमा विवेकपूर्ण निर्णय गरेर गोप्यरूपले प्रदान गर्नु हुने कुरामा आयोग विश्वस्त रहेको छ ।
११. मौन अवधिको महत्व र निर्वाचनको संवेदनशीलतालाई मनन गर्दै मौन अवधिमा निर्वाचन प्रसार–प्रसारका सबै कार्य निषेध गरिएको जानकारी सबै दल र उम्मेदवारले पाइसक्नु भएकै छ । त्यसैले आचारसंहिताको पूर्ण पालना गरी मतदातालाई मताधिकारको सुनिश्चित हुने सहज वातावरण निर्माणका लागि आयोग सबैसँग हार्दिक अनुरोध गर्दछ । मौन अवधि शुरु भएपछि मतदानको काम सम्पन्न नभएसम्म कुनै पनि उम्मेदवारहरुको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै किसिमको प्रचार गर्न पाइने छैन । साथै मौन अवधिमा आफ्ना वेभसाइट तथा फेसबुक एवं ट्वीटरलगायतका सामाजिक सञ्जाल वा अन्य माध्यमहरुबाट समेत निर्वाचनको प्रचार–प्रसार नगर्न र मौन अवधिको पूर्ण पालना गर्न सरोकारवाला सबै पक्षसँग आयोग आग्रह गर्दछ ।
१२.  निर्वाचन कार्यक्षेत्रमा खटिनुभएका मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, मतदान अधिकृत, अन्य कर्मचारी र सुरक्षा निकायले विगतमा झैं आ–आफ्नो जिम्मेवारी पूरा गर्न कठिन परिश्रमका साथ अहोरात्र खटिरहनुुभएको छ । तपाईहरूको मेहनतले आयोगको मर्यादालाई उच्च बनाउन र शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सहयोग पुग्ने छ । साथै लोकतन्त्रको जगलाई गाउँ, सहर र बस्तीबाटै सुदृढ बनाउने कार्यमा तपाईहरूले आफ्नो बुद्धि, विवेक र संयमताको भरपूर प्रयोग गर्नु हुने छ भन्ने कुरामा आयोग विश्वस्त रहेको छ ।
१३.  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गराउन सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, कर्मचारी, सुरक्षाकर्मी, नागरिक समाज र आमसञ्चार माध्यमलगायत सबै क्षेत्रबाट रचनात्मक सहयोग हुने छ भन्ने कुरामा आयोग ढुक्क रहेको छ । दोस्रो चरणको निर्वाचनमा दलहरूबीचको समन्वय र सौहाद्र्र्धता प्रसंशनीय देखिएको छ, यो सौहाद्र्धता मतदान, मतगणना र विजय -यालीसम्म पनि कायमै रहने छ भन्ने आयोगले आशा एवं विश्वास लिएको छ ।
१४.  नेपाल सरकार, मित्रराष्ट्रहरू, दातृ निकाय तथा विकास साझेदार संस्था तथा अन्तर्राष्ट्रिय समुदायको निन्तर सहयोग र सद्भावप्रति आयोग हृदयदेखि नै धन्यवाद ज्ञापन गर्न चाहन्छ ।
अन्त्यमा, निर्वाचनको वातावरण निर्माण गर्न आमसञ्चार जगत्ले खेलेको महत्वपूर्ण भूमिकाको आयोग मुक्तकण्ठले प्रशंसा गर्न चाहन्छ । हामीलाई थाहा छ, सञ्चारकर्मी मित्रहरू छिटोभन्दा छिटो र सनसनीपूर्ण समाचार दिन चाहनुहुन्छ तर निर्वाचनको संवेदनशीलतालाई मनन गरेर निर्वाचन आयोग, सुरक्षा निकाय, मतदान कार्यमा खटिएका कर्मचारीबाट पुष्टि भएका सूचना मात्रै सम्पे्रषण गर्न सञ्चारकर्मी मित्रहरुसँग आयोग अनुरोध गर्दछ । साथै मतदाताहरू सुसूचित तथा  प्रोत्साहित हुने, सूचना र सन्देशहरु प्रकाशन एवं प्रशारण गरेर विगतमा झैं निरन्तर सहयोग गर्न पनि सबै पत्रकार मित्रहरूसँग आयोग आग्रह गर्दछ ।

धन्यवाद

 

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com