सेनाले कालिञ्चाेक जाने पदमार्ग मर्मत गरी जनप्रतिनिधिलाई बुझायो


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

असार १२, २०७४- धार्मिक र प्राकृतिक आकर्षणको क्षेत्र कालिञ्चोक पुग्न सजिलो घ्याङडाँडा—कालिञ्चोक पदमार्ग भूकम्पले जताततै भत्काएपछि पदयात्रीले सास्ती बेहोर्दै आएका थिए । कठिन उकालो हिँडेर पुगिने मार्गभन्दा करिब एक घण्टा कमसमय लाग्ने र हिँड्न सजिलो मार्ग भत्किएपछि हिँड्न नसक्ने र बुढापाकाहरुलाई कालिञ्चोकको टुप्पोमा पुगेर भगवतीको दर्शन गर्न निकै कष्ट पर्थ्याे ।

सजिलो मार्ग भन्दै जवरजस्ती जानेहरु पनि भीरबाट लडिने त्रासले त्यसै फर्किने गरेको कुरीका होटल व्यवसायीहरुले बताए । उक्त मार्गको सास्तीपूर्ण यात्रा बेहोरिरहेको देखेपछि नेपाली सेनाको रणभीम गणले पदमार्ग निर्माण अभियान सम्पन्न गरी कालिञ्चोक गाउँपालिकालाई सोमबार हस्तान्तरण गरेको छ । जर्नेल जीतबहादुर गुरुङले गाउँपालिका अध्यक्ष बीनकुमार थामी र उपप्रमुख कालिका पाठकलाई पदमार्ग सुधार सम्पन्न भएको प्रमाण बुझाएका थिए ।

पदमार्ग बुझेपछि कालिञ्चोक पुगेका अध्यक्ष बीनकुमारले बाटो सुधारको बाँकी काम गाउँपालिकाको अगुवाइमा गर्ने बताए । बार्षिक करिब एक लाख पर्यटक पुग्ने उक्त क्षेत्रको समग्र पूर्वाधार सुधार स्रोत व्यवस्थापनको कार्ययोजना बनाएर अघि बढ्ने उनले बताए ।

सदमुकामबाट १७ किलोमिटर सडक पनि सुधारको क्रममा रहेको र मन्दिर रहेको टुप्पामा पुग्ने दुवैतर्फको बाटो सुरक्षित बनाउने विभिन्न निकायहरु कृयाशील छन् ।

रणभीम गणले जिल्ला समन्वय समितिसँग पाँच लाख ५० हजार र सहयोगीहरुबाट करिब ६० हजारको निर्माण सामाग्री लिएर बाँकी आफ्नै खर्चमा बाटो बनाएको हो । उक्त रकमबाट खुट्किला, फालमको पुल र बार तथा पहिरो रोकथामका लागि पर्खालहरु लगाइएको छ । आफैं आउँदा असुरिक्षत देखेपछि पदमार्ग सुधार अभियान सञ्चालन गरेको रणभीम गणका कर्णेल गणपति झमेन्द्र रेश्मी मगरले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com