भाडामा मनपरी


प्रकाशित मिति : असार १२, २०७४ सोमबार

असार १२, २०७४

पोखरा महानगरमा ६० भन्दा बढी नगर बस सञ्चालनमा छन् । नगर क्षेत्रभित्रको छोटो दूरीमा चल्ने बसमा यात्रा गर्दा भाडादर पनि तोकिएको छ । तर, खुद्रा नहुने निहुँमा बसले यात्रुसँग बढी भाडा असुलिरहेका छन् ।
‘महेन्द्रपुलबाट बगर पुगेको भाडा नियमले १२ रुपैयाँ हो,’ यात्रु विशाल पाण्डेले भने, ‘तर, सधैं १५ नलिई छाडदैनन् ।’ कतिपय यात्रुलाई कहाँ कति भाडा दर हो भन्ने जानकारी नभएकाले नगर बसले मनोमानी असुल्ने गरेको उनले बताए । ‘नियमले भाडा यति हो भन्यो भने किन चढ्नु हुन्छ, आफ्नै गाडी किनेर चढ्नु नि भन्छन्,’ उनले भने, ‘पृथ्वी चोकबाट बगरको भाडा १६ रुपैयाँ हो तर, २० नदिएसम्म मानेन ।’
अर्की यात्रु यमुना विक विद्यार्थीलाई ७ रुपैयाँ लिनुपर्नेमा १० लिने गरेको बताउँछिन् । ‘महेन्द्र पुलबाट बगर जाने विद्यार्थीले ७ तिरे पुग्छ तर, खुद्रा दियो भने पनि झगडा गर्छन्,’ उनले भनिन्, ‘१० नलिई छाडने होइन ।’ नगर बस छोटो दूरीमा पोखरा घुमघाम, स्कुल, कलेज र कार्यालय आउजाउका लागि सजिलो सवारी हो । तर, मनोमानी भाडा असुली भइरहेको विषयमा सम्बन्धित निकायले अनुगमन नगर्दा नियमित हिँड्नेलाई मर्का परेको यात्रु मनकुमारी थापा बताउँछिन् । ‘बगरदेखि छोरेपाटनको भाडा नियमले २३ हो तर, ३० नलिई छाडैनन्,’ उनले भनिन्, ‘भाडादर नियमले यति हो भन्यो भने रुखो व्यवहार छ, झगडा गर्छन् ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सई शिवबहादुर थापा तोकिएको भाडाभन्दा बढी लिएको गुनासो आए कारबाही गर्न सकिने बताउँछन् ।
‘कहाँदेखि कहाँसम्म जान जाने बस हो १०३ मा फोन गरी टिपाए हामी कारबाही गर्छौं,’ उनले भने, ‘यात्रु ठगिएको गुनासो कुरैकुरामा सुन्न मिले पनि ट्राफिकमा जानकारी दिने चलन छैन ।’ पोखरा बस व्यवसायी समिति सचिव अमृत तिमिल्सिनाले बढी भाडा कसैले मागे यात्रु आफैं सचेत हुनुपर्ने बताउँछन् । ‘यात्रुले छोटो दूरीका लागि पनि ५ सय/हजारका नोट दिने होइन,’ उनले भने, ‘खुद्रा (चानचुन) बोक्ने, नियमअनुसारको भाडा दिए हुन्छ ।’ कसैले बढी भाडा लिए वा दिन बाध्य पारे टोल फ्री नम्बर १६६०६१५२८८८ मा फोन गरी जानकारी दिए समितिको नियमअनुसार करबाही हुने उनले बताए । समितिले तोकेको भाडाभन्दा २/३ रुपैयाँ भए पनि कम पर्ने भएकाले सरकारी भाडादर लागू गर्ने कुरा गर्दा जिल्ला प्रशासन नमानेको उनको दाबी छ ।
जिल्ला प्रशासन कार्यालयले भने बढी भाडा लिने गरिएको गुनासो आएको जनाएको छ । ‘अस्ति भर्खर यही विषयमा बैठक पनि भयो,’ प्रशासकीय अधिकृत अनिल शाहीले भने, ‘अब बढी भाडा असुली भए/नभएको र बसको व्यवहारबारे अनुगमन थाल्छौं ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com